अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

नेपाल जाँदाको कथा (ब्यङ्ग कथा)

ज्ञानेन्द्र काफ्ले २०७६ चैत १४ गते २३:०२ मा प्रकाशित

धेरै पछि यसपालि म ‘बुटे चोलो लाउन साइँली हिडन हेर्न सहर’ भन्ने मेरो पालाको “नेपालको धरहरा” वाला गीतको “नेपाल” अर्थात् काठमाडौँ गएको थिएँ । मैले सुनेको गीतको धरहरा त बाँच्न सकेनछ, यसैले धरहरा हेर्दैमा “हरर टोपी खस्ने” कुरा पनि आएन तर बेकसुरमा गर्ल्याम् गुर्लुम्म परेर धरहरा ढलेको ठाममा पुग्दा शिरको टोपी फुकालेर हातमा राखी केही बेर भावुक भने अवश्य भएको थियें । धेरै वर्ष पछि आएको हुनाले मेरा कलेजका दिनहरू बितेका बेलाको निख्खुर काठमाडौँ देख्न त मलाई हम्मे हम्मे परे पनि मेरो बेलाको समग्र काठमाडौँ धरहरा झैँ लडी सकेको रहेन छ, केही बाँचेको रहेछ ।

म यसपालि छोटो समयलाई नेपाल गएकोले पुरै नेपाल कस्तो भएछ भन्ने सानो छनक पनि पाउन सकिन। बरु एक दिन एक्लै काठमान्डु भने केही घुमियो । न्युरोड गेटबाट पैदल छिरेर पैदल नै ठमेलसम्म निक्लने मेरो योजना मुताबिक नयाँ सडकमा हिड्दै गर्दा एउटा लौकिक चीर परिचित सुगन्धले मेरो नाकको तीक्ष्ण घ्राँण शक्तिलाई ठाडो चुनौती दिएर तत्काल अलप भयो । यसले फैलाएको सुगन्ध हाल प्रचलनमा रहेको कोरोना भन्दा निकै शक्तिशाली थियो किन भने कोरोनाको असर देखिन त अलि दिन समय लाग्दथ्यो तर यो सुगन्धको झड्काले त क्षणभरमा नै मेरा पुराना दिनका यादहरू लुइँठो पारेर गुजुल्ट्याउदै मन भरि चित्र उतारेर ल्याइ दिएको थियो । प्रस्ट भन्नु पर्दा यो बास्नाले अरू केही होइन, म ल क्याम्पस पढ्दा ताकाका दिनहरूमा साँझ ३-४ बजे तिर आँत बाउँडिएर भोक लाग्दा दौडँदै गएर रञ्जना हल अगाडिको पसलमा भुइँसिको मासुको म:म: अढाइ रुपियाँ प्लेटमा दन्काएको सम्झना ल्याएको थियो । आज भने मेरो आँत त्यति बाउँडिएको थिएन तर भोक भने अवश्य लागेको थियो । हुन त मम पाइने निकै राम्रा रेष्टुरा काठमान्डुमा नभएका होइनन् तर ती “बुर्जुवा म:म:” सँग मेरो त्यति मिठास पूर्ण सम्बन्ध थिएन ।

म त्यो वासनाले सम्मोहित हुँदै स्वचालित रूपमा हिड्दै कति खेर त्यो चीर परिचित पसलमा पसे छु मलाई धरो धर्म थाह छैन । पसल भित्र पुगे पछि पो म झल्याँस्स भएँ । पहिले देखेको भन्दा रेष्टुरा अलि अप ग्रेड भएछ । त्यहाँ नेपकिन पेपर पनि राख्न थालेछ । पानीको करुवा हटाएछ, बोतलको पानी दिन थालेछ । तर स्वादको दिव्यता भने उस्तै रहेछ । आँखा चिम्लिएर बडो प्रेम पूर्वक ध्यानमग्न हुँदै स्वादले माथिल्लो च्यापुको छाला खुइलिने तात्तातो २ प्लेट भइसिको मम खाए पछि मलाई योगी सन्यासिहरुले निर्वाण प्राप्त हुँदा भन्दा गजबको आनन्द आयो । त्यति खेर मलाई यो आत्म ज्ञान पनि भयो कि किन याचकहरू “त्वमेव सर्व म:म: देव देव (हे म:म: देव ! तपाई नै मेरा सबै (तृप्ति कारक) देवता हुनुहुन्छ)” भन्ने मन्त्र जप्दा रहेछन् भन्ने गुह्य चेतना पनि भयो ।

मलाई जिन्दगीमा कुनै ठाउँमा गएर केही खान त्यति लगाव कहिल्यै भएन । स्नातक तहमा पढ्दा समर सेट मअम् (Somerset Maugham) को “दि लञ्चन” भन्ने लघु कथा पढ्दै जाँदा जानेको फ्रान्सको फोयो (Foyot) रेष्टराँ मा गएर खाने केही धोको भने मनमा निकै गढेको थियो । तर सन् २००४ मा प्यारिस पुग्दा पो थाह लाग्यो त्यो फोयो (Foyot) रेष्टराँ त भत्काइ पो सकेछन् । नजिकैको रेष्टुरामा खाएर चित्त बुझाउनु परेको थियो। मैले नेपालका, भारतका, युरोपका, अमेरिकाका धेरै तारे, सितारे, गितारे वा जुनतारे होटेलहरूमा खाएको छु, पिएको छु। तर मलाई आजको दिनको जस्तो तृप्ति कहिल्यै मिलेको थिएन ।

म:म:को बारेमा एउटा साँचो तथ्य यहाँ राख्नु म सान्दर्भिक ठान्दछु । यदि कसैले भइसिको म:म: कहिल्यै खाएको छैन र अरू कुनै प्रकारको म:म:मात्र खाएको छ भने त्यसले असलमा म:म: खाएकै छैन भने हुन्छ । भइसिको मासु बाहेक अरूको मासु हालेको वा मासुको धङ्धङि मेट्न साग पात ठुसेर बनाएको म:म: खानेले पनि यदि म:म: खाएको छु भन्छ भने त्यसले दूधमा फत्काएको कोदो लाई खीर खाएको छु भनेर फुइँ लाए जस्तै हो ।

जे होस् त्यस पछि प्रफुल्ल हुँदै लुखुर लुखुर ईन्द्चोक तिर लागेँ । म काठमान्डुमा पढ्दा ताका मेरा पालाका साथी भाइहरू तथा किशोर किशोरीहरू नयाँ सडकमा बग्रेल्ती भेटिन्थे । किशोरीहरुसंग आँखा जुध्यो भने केही लजाएर निहुरेर नदेखे जसरी हिँड्दथे । तर अहिले त कुनै किशोरीहरूको म प्रति आकर्षण थिएन र होला वा भए पनि तिनका बा जस्तै उमेरको देखेर होला कसैले पनि मसँग लजाउँदै आँखा जुधाएको पाइन । नढाँटी भन्ने हो भने म बुढो भएको जानकारी सडकले नै मलाई एहशास गराइ दिएको हुनाले मन केही खिन्न भएको थियो । पहिलाका दिनमा यो सडकमा चिनेका साथीहरू हर दस कदममा भेटिन्थे । आोहो, के छ ? भन्दै हात मिलाइन्थ्यो, एक छिन रोकिएर कुरा गरिन्थ्यो, माहौल जम्ला जम्ला जस्तो भए पछि सुरुमा चिया पसल तिर छिरिन्थ्यो र अझै मत मिलेमा “झुम बराबर झुम शराबी” हुइन्थ्यो । तर आजकल मेरा दौतरीहरु यसरी सडकमा हिँड्न उनीहरूको उमेर र ओहदा दुवैले दिँदैन थियो होला र यसैले यो बाटामा उनीहरूलाई देख्छु कि भनेर निकै आँखा घुमाएर खोजे पनि कसैलाई पनि बाटामा भेटिन तर म यहाँ छंदाको मेरो उमेरका किशोर किशोरीहरू त्यसरी नै बाटामा एक अर्कालाई भेट्दै रमाएर गफ गरेको, एक अर्कालाई छेड छाड गरेर हिँडेको देख्दा परम्पराको निरन्तरता दिन नयाँ पुस्ता तयारी भइसकेको देखेर म मक्ख पर्दै अघि बढी रहेँ । भैरव अर्यालको “अलकापुरि कान्तिपुरी नगरी”मा स्वर्गबाट भानुभक्त झरेर आई काठमान्डुमा रमाउँदै एक्लै हिँडे झैँ म पनि बिस्तार हिडि रहेँ । त्यहाँ वाट इन्द्रचोक, भोटाहिटी हुँदै ठमेल सम्म पैदल हिँड्नु मजादायक नभए पनि चाखलाग्दो भने अवश्य थियो । व्यस्त बजार र मोल तोल गर्न तल्लीन क्रेता -बिक्रेता १२ वर्ष अघि पनि त्यस्तै थिए र अहिले पनि त्यस्तै रहेछन् तर मान्छे भने धेरै बाक्लिएछन् ।

अब म ठमेल पुगी सकेको थिएँ । म लहडी मान्छे एक्कासि मनमा केले छोप्यो मलाई मादल किन्न मन पो लाग्यो । लौ त भनेर ठमेलको एउटा पसलमा मादल किन्न भनेर पसेँ । पसलेले सिधै सोध्यो, “विदेश लैजाने कि कसैलाई गिफ्ट दिने हो, आफैँ त बजाउनु हुन्न होला?” मैले भने, ” के विदेश लैजाने, गिफ्ट दिने र आफै बनाउनेको भाउ फरक फरक हुन्छ र?” ‘त्यसो त होइन, तैपनि यसो जान्न खोजेको” उसले अलि सतर्क भएर म तिर हेर्दै भन्यो ।“ ए त्यसो भए के जान्नु होस् भने, मेरो पहाडको गाउँमा पर्सि कुल पूजा छ र राती भजन गर्ने कार्यक्रम भएकोले एउटा मादल किनेर ल्याइ दिनु भनेर सबै इष्टमित्रले जो सकेको पैसा उठाएर पठाएका रहेछन् र त्यसका लागि मादल किन्न भनेर आएको ।” मैले म त्यो मादल अमेरिका लग्दैछु भनेर उसलाई कुनै छनकसम्म दिइन ।

मेरो कुरा सुने पछि उसले बिस्तारै भित्तामा रहेका गणेशजीको सानो मूर्तिमा दीन भावले हेर्‍यो। मलाई पक्का छ म जस्तो कुलपुजामा भजन गर्न दश जनासँग पैसा उठाएर आउने “पाखे” ग्राहक बोलाई दिएकोमा गणेशजीसँग उसले मनमनै दुख मनाउ गरेको थियो। तैपनि उसले अल्छी मानी मानी सानो ठुलो गरी ४_५ थरिका मादल मेरा अगाडि राखी दिएर म तिर कण्डा फर्काएर भर्खर पसलमा छिरेको अर्को खैरे ग्राहक तर्फ मोडियो । त्यो खैरे म भन्दा निकै घाँमण जस्तो देखिन्थ्यो। कुनै छिपाले साँचोमा राखेर गणेश वा महादेवको बुट्टा कढेको कमसल जातको जस्तो देखिने एउटा कमिज ओल्टाइ पल्टाइ गर्दै कहिले Cool!! त कहिले Awesome!! भन्दै थियो तर ऊ किन्ने छाँट नै देखाइ रहेको थिएन। र जति गरे पनि उसले आखिरमा Alright buddy, see you next time! भनेर नकिनी कनै हिँड्यो। यता मलाइ भनेर देखाइएका मादलहरू मध्ये गहकिलो र दह्रो छानेर मैले मोल सोधेँ । “लाने नै हो भने ८ हजारमा दिन्छु ।” उसले निरस पारामा जवाफ दियो । “अलि मिलाउनुस् न” भनेको थिएँ, “साँच्चै लाने भए ७,हजार ५ सय सम्ममा दिन सक्छु” भन्यो ।

पसलमा सामान मन परे पनि, भाउ मिले पनि, क्रेता-विक्रेता बिच एक आपसमा सौहार्दता वातावरण जम्न सकेन भने काम फत्ते हुँदैन । यस्ता पूर्वाग्रही पसलेसँग म कुनै हालतमा सामान किन्ने वाला थिइन । यस्तै गरी हामी बिच निरस वातावरण मौलाई रहेको अवस्थामा पसल अगाडि एउटा सेतो कार रोकियो। ड्राइभरले खोलिदिएको ढोकाबाट बडो मुस्किलले अढाइ प्याक बडीको थसुल्लो जीउलाई सकी नसकी दामी साडीले लपेटेकी थरी थरिका स्वर्ण लहराहरूको खै के-के जाति गहना लगाएकी एक महिला उत्रिइन । उनीसँगै २ वटी उनका धुपौरे बहिनीहरू पनि आएका थिए । ती महिलाको बोली चाली, लवाइ र हाउभाउ वाट तिनी नेपालका नामुद भ्रष्टाचारी राष्ट्र सेवक(राष्ट्र घातक?) की पत्नी हुन भनेर लख काट्न मलाई कुनै समय लागेन। यिनीहरू, उनीहरूकै भाषामा भन्दा “Shopping” गर्न आएका रहेछन् । तर यिनीहरू, म र त्यो अघिको खैरे जस्ता घामण Shopper नभएर अति गम्भीर (Ultra-Serious Shopper) रहेछन्।

अढाई प्याक बडिले सुरुमै उनका ज्वाइँ अमेरिकामा भएको र उसलाई भेट गर्न जान लागेकोले गिफ्ट किन्न आएको भनी गमक्क परेर परिचय दिइन् । यो सुनेर पसले यसरी मुस्कुरायो कि उसको अगाडि साक्षात् लक्ष्मी पैसाको भुँड्को ह्वारह्वारती खन्याउन तयार भएर प्रकट भएकी छिन् । उसको आोठमा, उसको आँखामा, उसका अनुहारका समस्त भाव भङ्गिमा खुसी तरङ्गित भएको प्रस्ट देखिन्थ्यो । उसले बिस्तारै भित्तामा रहेका गणेशजीको सानो मूर्तिमा दीन भावले हेर्‍यो। मलाई पक्का छ, यी अढाई प्याककी ग्राहक बोलाई दिएकोमा गणेशजीलाई पनि उसले मनमनै धन्यवाद दियो । “हजुर किन आफै सवारी भएको? फोन गरी दिनु भएको भए सामानहरू म घरै पठाइ दिई हाल्थेँ नि ।” पसलेले नम्र भएर निवेदन गर्‍यो । “यहाँ आफू आएर हेरेर किने जस्तो कहाँ हुन्छ र? हाकिम साबलाई अफिसको कामले फुर्सद नै हुँदैन । सबै काम आफैले गर्नु पर्छ । ” उनले मेरो पूर्व अनुमान सत्य साबित गर्दै आफ्नो लोग्ने हाकिम भएको समेत परिचय दिइन् । यिनले भकाभक सामान किन्न थालिन् ।एउटा शिवजीको नटराज मूर्ति ९० हजारमा किनिन्, त्यस्तै बुद्ध जस्तै देखिने एउटा ढलौटे मूर्ति पनि ८७ हजारमा किनिन् । उनले पसलेले जति भन्यो त्यति तिर्दै गइन्। यिनले यसरी किन नतिरुन् ? यो पैसा यिनको दुलाहाले तलबमा कमाएको पक्कै होइन, केको माया ? दे दनादन भने झैँ सक्दो दामी सामानहरू किनिन् । म दङ्ग परेर तिनलाई एकोहोरो हेरी रहे । तिनका धुपौरे बहिनीहरूले मलाइ बेला बेलामा छड्के आँखाले घुरेर हेर्दथे । यस्ता धुपौरेहरू नै सही, कसैले हेर्ने उमेर चाहिँ अझै बाँकी रहेछ भनेर अघि न्यूरोडमा आफ्नो साख गुमेर खिन्न भएको मनलाई यहाँ केही सान्त्वना मिलेको थियो ।

तर अझै पनि ती अढाई प्याककी मेम सापले म पट्टि पटक्कै हेरेकी थिइनन् , बल्ल एक छिन पछि पुलुक्क हेरिन्। यही मौका पारेर मैले ” राम्रा उपहार किन्नु भयो, एउटा मादल पनि लगी दिनोस् न छोरालाई । यी, यो सारै राम्रो छ” भनेर आफूले लिई राखेको मादल उचालेर देखाएँ । यो सुनेर ती दुवै धुपौरे केटीहरू मुख थुनेर मज्जाले हाँसे । मैले गम्भीर हुँदै “किन हाँस्नु भएको मादल त राम्रै छ, हाँस उठ्दो त छैन नि” भनेँ । “मादल हैन तपाईँको कुरा सुनेर हाँसेको । अमेरिका तपाईँको गाउँघर जस्तो हो र ? त्यहाँ मान्छे मादल बजाएर बस्छन्? बजाउनु परे गितार, पियानो बजाउलान् किन मादल बजाउनु पर्‍यो?” जुनियर धुपौरिनीले आफ्नो मगजको गच्छे अनुसारको तर्क थपिन। यसमा मेम सापले केही बोलिनन् । यिनले मेरो मादल किनिदिने सुझावको पनि त्यति वास्ता गरिनन् । बरु २ मिनेट जति लगाएर बडो नसयारिएको आफ्नो भद्दा जीउ ठँस् ठँस कन्दै उठाइन् । पसलेले उनका किम्मतिला मालतालहरू र्‍याप गरेर आफै गएर डिकीमा राखी दियो। किनमेलको दौरानमा पसलेले कफी पनि मगायो र ती तीन जनाको लागि कफी मगाउनु त ठिकै थियो तर के सोचेर हो मलाई पनि उसले एक कप मगाएको रहेछ । खै किन हो मलाई भने त्यो कफी खान मन लागेन । मलाई मादल किन्न पनि मन लागेन। मलाई जुरुक्क उठेर हिडु जस्तो त लाग्यो तर फेरि तत्क्षण पसलेसँग केही थप घाँमणिन मन लाग्यो । यसैले “भाइ यहाँ अलि विश्वासिलो मनि चेञ्जर नजिकै कतै छ ? भनेर सोधेँ । पसले अक्मकियो । “के साट्नु छ र ? कुल पूजाको लागि गाउँबाट डलरै पठाएको छ कि के हो?”,उसले झर्किएर ब्यङ्ग गर्दै सोध्यो । मैले जानी जानी उसलाई देखाउन भनेर अमेरिकन पासपोर्ट पकेट वाट झिकेर हातमा लिएँ । “ ४-५ सय जति डलर थियो”, मैले मनि ब्याग निकालेर यसो हेर्न थालेँ । “हैत्तरिका ! हेर्नुहोस् मलाई तपाई विदेशबाट आउनु भएको भन्ने पैल्है शङ्का त लागेको थियो तर तपाईँले कस्तो ढाँट्न सकेको ? मान्छे त मान्नु पर्छ वा ! “ खै ल्याउनुस् म साटी हाल्छु नि, अघि नै भन्नु पर्छ नि, कति छ तपाइसँग? ” ऊ मुस्कुराउँदै म तिर हेरेर सोध्न थाल्यो । फेरी एक बाजी गणेशजी तिर दीन भावले हेर्‍यो । तर यसपालि गणेशजीले उसलाई “सुँडे लोप्पा” ख्वाइ दिएका थिए ।

“लौ कता राखेछु? घर मै छुटेछ कि क्या हो ? म लिएर आउँछु है, Alright buddy, see you next time! ” भन्दै त्यस्तै अर्को रमिता हेर्न पाइन्छ कि भनेर अलि पर अर्को पसल तिर पसे।

यो छोटो बसाइमा अलि नजिक बाट नियाल्दा, काठमान्डुमा समग्रमा मान्छेहरू सस्तिएछन्, वस्तु भने असाध्ये महँगिएछन्। लक्ष्मी पूजकहरू पनि त्यसरी नै धेरै बढेछन् जसरी पैसाको अपमान गर्नेहरू पनि उत्पातै बढेका रहेछन् । जड्याहाहरु त यति बढेछन् कि जाँड नखाए त समाजमा यस्तो जोडले बेइज्जत हुन थालेछ जसरी एउटा कर्मचारीले भ्रष्टाचार नगरी तलब मात्र खाएर आउँदा घरमा बेइज्जत हुने गर्दछ । अझ भर्खर भर्खर सिकेको जात भएर होला ब्राह्मणको खलकमा त दिनभरि तिर्खाएकोले गोरुले पानी तन्काए जसरी सासै नफेरी बोतलका बोतल घोक्र्याउने चलन आएछ । अरू कुरामा विमति रहे पनि नेपाली समाजमा मदिरा सेवनको विषयमा विमति भित्रको सहमति (Overlapping Consensus) कायम भएकोमा मलाई कुनै यस्तो ठाउँ त रहेछ जहाँ नेपालीहरू सहमत हुन सक्दा रहेछन् भन्ने आभास भयो । जे होस मदिरा सेवनको दृष्टिबाट नेपाली समाज सयौँ थुँगा फूल रहेको जस्तो लागेन यो जाँड भन्ने चीजले उन्नत समावेशी समाज बनाउन विशिष्ट सहज कर्ताको भूमिका खेलेको देखियो ।