अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

खुसीको खात

बिमला निरौला २०७७ वैशाख १९ गते १९:४० मा प्रकाशित

आफ्नै घरको नजरबन्दमा
आँगनीको खेरी भित्र सीमित म
पराजित नयन लिएर
घरको कौसी र बार्दलीबाट
माथि हेर्दै,
स्वतन्त्रता गन्न खोज्छु,
र देख्छु,
हर्षका पङ्ख फैलाउँदै
निस्फिक्री भई आकाशमा उडेका पन्छीहरू,
रूप र आकार परिवर्तन गर्दै
मनको बेगमा कुदेको बादल
आफ्नै इच्छामा दिशा बदल्दै बहने पवन
अनि संसारको ताप र प्रकाशको दाता
रापिलो र सुनौलो भास्कर ।

घर र करेसाको परिधि भित्र
थुनिएको म
आँगनीको डिलबाट
ओइलिएको मन बोकी
बगैँचालाई चिहाउँदै
छुन खोज्छु खुसी थुङ्गाहरु
र भेट्छु
सौन्दर्य निखारतामा
मुस्कान फैलाउँदै फक्रिएका बैंशालु फूलहरू
फूलसँगै नतमस्तक भई भुलिरहेका
सुन्दर पुतली र गुनगुनाउँदै नाचेका भामराहरु
खेतका गरा र फाँटहरू
बोट बिरुवाहरू
लटरम्म भई फलेका रसिला फलहरू
स्वाभिमानले नुहेका पुष्ट अन्नका बालाहरू
हरिया वृक्षहरू
डालीमा बसेर प्रेम साटिरहेका जोडी चरा
वृक्षको फेदीमा कर्ममा तल्लीन कमिलाका ताँती
वृक्षको टुप्पोमा कुहुकुहु चरीको भाका
अनि मनोहारी प्रकृति ।

समाचारका सिर्का देखी बिरत्ती नयनहरु
बारीको कान्लोबाट
पर पर सम्म तन्किन्छन्,
र स्पर्श गर्छ मनोहर धर्ती
खिसिक्क हाँसेको कन्चन हिमाल
स्वछन्दसँग फिंजारीएको आकाश
छंगछंग ध्वनिको तालमा दौडिरहेका खोली
खोलीसँग जिस्किरहेको
सप्तरङ्गीन इन्द्रेणी
पानीको गर्भमा सलबलाएका माछाका भुराहरू
पानी माथि क्रिडा मग्न हाँसका बथान

प्रकृतिको छटा अनि सृष्टि झुलेको दृश्य ।

मझेरीमा जमेको पानीमा आफ्नै छाया भेट्छु
म छाम्छु आफूलाई
नाप्छु मेरो खुसीको आयतन
र लम्बाउँछु सोचका धर्साहरू
घचघचाउंछु आफ्नै देहमा निदाएको हर्ष
हुर्काउँदै मनीषी लहरा
परास्त पार्दै धमिलोपन
समय र परिस्थितिको बाहाना च्यातेर
पखाल्दै मनको धब्बाहरू
गरेर हृदयको अधिकर्म
बर्साएर मनोबाञ्छा
बटुल्दै छु उमङ्गको चाङ
थुपार्दै छु खुसीको खातहरू

हमेसा फिंजार्ने छु मनको मझेरी भरी
कतैबाट बग्न नदिने
अटल विश्वासमा !!