अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

स्वाभिमान

बिमला निरौला २०७६ चैत २१ गते २१:०७ मा प्रकाशित

असङ्ख्य कदम चापहरूले हरपल झुम्ने,
मध्य रातमा पनि
काला अँधेरो वा कुनै सन्नाटाले
चिहाउन नसक्ने,
क्षणभर पनि न थाकी
आफ्नै सौन्दर्यमा झकिझकाउ भएर
मलाई मन पराउने र भेट्न आउने
सारा प्रियहरूलाई सक्दो खुसी राख्न मै तल्लीन म
विश्वभरका आगन्तुकहरुलाई प्रसन्न पार्दै इतिहास रचेको
युगौँ युग बितिसक्यो ।

मसँगै दिन र रात बिताउन
मेरो काखमा पल पल रमाउन
सबै थोक बिर्सिएर एकै छिन मसँग हराउन
मसँग बिताएका क्षणको तस्बिरहरू पल्टाउँदै
जिन्दगीका हरेक मोडहरूमा खुसी हुन
लालईत परदेशी आगन्तुकका लागी होस्
वा आफ्नै परिवार, वरिपरिका आफन्त
हेर्ने, घुम्ने, किन्ने वा खुसीमा रम्ने इच्छाले ,
विश्व कै आर्थिक राजधानी, व्यापार
अन्तर्राष्ट्रिय सम्न्बन्धको केन्द्र संयुक्त राष्ट्र सङ्घ
संसारले हरेक गतिविधिको अगुवा सम्झने
म न्यु योर्क र न्युयोर्कको मेनह्याटन
मेरो महत्त्व, आकाङ्क्षा र स्वाभिमान !

आकाश नै छेडुँला झैँ चुलिएका भवन,
माकुराको जालो झैँ बेरिएका सडक र
तेसैमाथी बगेको नदी झैँ सवारीका साधनहरू।
गर्भ भित्र नै व्यस्त भई कुदेका असङ्ख्य रेलका डिब्बाहरू,
मनमोहक समुन्द्र र तिनै समुन्द्रमा
कुदिरहने हजारौँ स्थूल जहाजहरू ।
समुन्द्र मुनिको पाताले बाटो अनि
समुन्द्र माथिको कलात्मक र प्रख्यात
ठुला ठुला पुलहरू ।

संसारलाई नै एक थलोमा समेटेको व्यापार,
विश्वकै राजनैतिक अड्डा, सङ्घ सङ्गठन
संसार भरीका भिन्न भिन्न मानिस र तिनका
भाषा, भेष, कला र शैलीहरू ।
विभिन्न पुर्खाको नामका धरोहर रूपी स्मारक र पार्कहरू
भिन्न भिन्न टापुमा अवस्थित मेरा मौलिक सहरहरू ।
पल भर शान्त नभएको इतिहासको विपरीत
ठप्प, सुनसान, विरक्त,आक्रान्त, निस्तब्ध र
हप्तौँ देखी शोकाकुल बनेका छौँ।

समय सँग र समय भन्दा अगाडी
चमत्कार देखाउने
विकास, ज्ञान र विज्ञानलाई चुनौती दिँदै आए पनि
सूक्ष्म, अदृश्य नवजीवको आक्रमणले ,
घाइते, निर्बल र असहायको अवस्थामा
पल पल तड्पिनु परेको छ ।

खुसी मै व्यस्त हुँदै अत्यधिक चहलपहलका साथ
भ्याई नभ्याई गर्दै हर क्षण दगुर्ने सहर बासीहरू
यति बेला अनियन्त्रित कोरोना भाइरसको
महामारीमा पिल्सिएका छन् ।
भय,चोट, आँसु र शोकमा डुबेका छन् ।
सुमधुर सङ्गीतमा झुम्ने गल्ली,चोक, बजार र पार्कहरू
शून्यता छिचोल्दै भयमा चिच्याउँदै कुद्ने
एम्बुलेन्स र मृतक ओसारेका सवबाहानको
एकोहोरो शंखनादबाट त्रसित छन्।

अस्पतालहरुमा खचाखच यत्रतत्र
आफन्तको साथ र निकटको स्पर्सताको अभावमा
निक्षिप्त झैँ लडेका बिरामीहरू र
सेवामा समर्पित स्वास्थकर्मीहरुको
सन्त्रासको पहाड छ,चिन्ताको आकाश छ, आँसु भेल छ,
अनि मानव चीत्कारको एकोहोरो आवाज मात्र छ ।
संसारभरबाट सुख बटुल्न आएका जीवनी अछुतो पाराले
पराजयको अनुभूतिमा मृतुसंग लड्दै र मृत्यु अङ्गाल्दै छन्।
निरीह म आफ्ना प्याराहरूका लागी समादीस्थल खनेको
र लास गनेको दश टुलुटुलु हेर्न विवश छु ।
आक्रोशित हुँदै आकाश र धरतीसँग बिलौना गर्दै
दैवलाई ललकार्न मन छ ।
अरू कसैबाट निर्देशित म र मेरो स्वाभिमान !

फेरफ्याक्स भर्जिनिया

प्रतिक्रिया