अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

प्रतीक्षा

बिमला निरौला २०७७ कार्तिक १७ गते १०:५२ मा प्रकाशित

(लघु बाल कथा)

“दिदी हाम्रो ममी भाइ जन्माउन अस्पताल जानु भएको रे हो? अनि तल्ला घरमा काकी र फुपूले भन्दै गर्दा मैले सुनेको “त्यति राम्रा तिन छोरी हुँदा हुँदै वंश धान्न छोरा चाहिएको रे हाम्रो घरमा, हो त दिदी?” बैनी इच्छाको कुरा सुनेर दीक्षा अकमक्क पर्छिन्। फेरी इच्छा थप्दै जान्छिन् “अनि नि दिदी! हामीले चाहिँ वंश चलाउनु सक्दैनौ रे हो? के त्यो वंश भनेको ठुलो हुन्छ हो? त्यो हनुमान ढोकामा राखेको घण्ट जस्तो गरुङ्गो र छोरा मान्छेले मात्र बोक्न सक्छ हो?” इच्छाको कुरा सुनेर अलि ठुली दीक्षा नाजवाव हुन्छिन् र बैनीका कुरा टार्न खोज्दै भन्छिन् “खै थाहा छैन मलाई पनि। वंश भनेको के हो, कत्रो हुन्छ, बरु उ भित्र सदिक्षा रुँदै छे त्यही हो बंश,लिएर आउँछु” भन्दै सानी बैनी लिन भित्र पसिन्। अलि उता पट्टि तरकारी केलाउँदै गरेको हजुरआमा इच्छाको कुरा सुनी रहनु भएको थियो र नजिकै आएर अलि ठुलो स्वर पारेर भन्नु भयो। “हो नि त हाम्रो बंश चलाउन तेरी ममीले छोरा जन्माउनै पर्छ, नत्र त तिमीहरू तिनै जना विवाह गरेर अरुकै घर जाने जात, अनि यो घर रित्तो हुन्दैन त? फेरी पछि हाम्रो श्राद्ध कसले गर्छ नि?”

अलि कडा स्वभावकी हजुरआमाको सामु दुवै डरले थररर र चुप छाप भए । दुवै अँधेरो अनुहार पारेर सानी बैनीलाई खेलाउन थाले। दीक्षाको मनमा धेरै कुरा खेल्न थाल्यो। “यो पटक पनि भाइ नआएमा हजुरआमा औधी रिसाउन हुने छ अनि ममी पहेलेको जस्तै फेरी धेरै रुनु हुनेछ, के पो गर्ने होला, हे भगवान्! प्लिज भाइ पठाइदिनुस् ल भगवान्!” दीक्षा भगवान् पुकार्दै हुन्छिन् घर अगाडी घचक्क ट्याक्सी रोकियो। बाबाले ट्याक्सीको पैसा दिन थाल्नु भयो। आमा बच्चा च्यापेर बाहिर निस्कनु भयो। इच्छा “भाइ आयो भाइ” भन्दै दगुर्दै भाइ हेर्न ममीसँग टाँसिन पुगिन्। दीक्षा पनि बैनी समीक्षालाई बोकेर हतारिँदै ममीले बोकेको भाइ हेर्न खोजिन् । तर उता बाबाले अस्पतालका लुगाका झोला उचाल्दै भन्नु भयो “भाइ हैन…..हैन तिमीहरूकै कम्पनी बैनी हो । भाइको प्रतीक्षा गर्दा गर्दै आएकी हुनाले यिनी प्रतीक्षा हुन् प्रतीक्षा !

आमा चिन्तित देखिनु भए पनि आफ्नी मुटुको टुक्रालाई छातीमा च्यापेर धराको रूपमा मातृत्वको सहस्र धारा बगाइरहनु भएको थियो। तर बाबाका भने जवर्जस्ती ओठ मुस्काए पनि मुहारमा बादल मडारिएको प्रस्टै देखिन्थ्यो । हजुरआमा जुरुक्क उठेर घर पछाडिको करेसा बारी तिर लग्नु भयो ।

* *
घट्टेकुलो, काठमाडौँ ।