अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 18:51

पेरुन्ङ्गे जिन्दगी

बिमला निरौला २०७६ फागुन २ गते १५:१० मा प्रकाशित

खोला सरी अविरल बग्दैछ जिन्दगी,
उद्देश्यको समुन्द्र भेट्ने विश्वासमा ।
अँधेरा विवश बाध्यताहरूलाई पछार्दै
एक मुठी मिर्मिरे र घामको लाली पोल्टामा थापेर,
मुसुक्क हाँस्न खोज्छ न्यानो अनुभूति सँगै ।

आकाश भरीको भावनाले
कपाल मुनीको कुनाबाट
सिङ्गो ब्रह्माण्ड समेटेर ,
क्षितिजको इन्द्रेणी टिप्दै
मनको मण्डप चिटिक्क सजाउँछ ।

आँसु र हाँसोलाई दुई किनारा बनाएर
खहरे झैँ दौडिएको उमेरले लतारेका
खुसी र चोटका छालहरूमा चोक्टीए पनि
सितालु भानले पखालिएको बेला
मनको जुनकिरीको प्रकाश बटुलेर
वर्षाको बलेँसीको बाछिटा झैँ खुसी टलकाऊँदा
अझै निखारिएको विश्वासका साथ
समयको वक्र रेखाकै बसमा रुमल्ली रहेछ जिन्दगी ।

चाहनाको बायुपंखीमा सवार चेतना
र तिर्सनामा हुंकीएका परिस्थितिले
कर्मका ठेलीबाट जोड घटाऊ गरी गरी
मथेको उपलब्धिहरू मगमगाउने भरोसामा
उक्लिँदै छ कर्तव्यका पहाडहरू ।

नयनमा छछल्कने सपनाको
चाङका भारीहरू बोकेर
बिना विश्राम गन्तव्यको निरन्तरतामा
अनगिन्ती भोगाइका थुँगा थुँगाको
सुन्दर हारमा सजिएर
प्रसन्नताको अबिरमा रङ्गिँदै
एक मुठी सासको बलबाट
सृजित सुन्दर कथाहरूको
सानो र सुकोमलो पोको बनी
झुन्डिइरहेछ जिन्दगी
पान पाते मुटुको पेरुङ्गोमा ।।

प्रतिक्रिया