अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५ | Colorodo: 07:00

नपाएको उत्तर

अर्जुन थापा २०७५ फागुन १३ गते २३:१० मा प्रकाशित

बैँककबाट साँझको सात पैँतालिसको डिपाचर टाइम थियो । बर्माको योङ्गुन सिटी जानलाई । सानै उमेरदेखि बर्माको नाम सुन्दै आएको थिएँ । बर्मामा सेकेन्ड वल्र्ड वारको बेला लडाइँमा गएका नेपालीहरू । वार सकिएपछि त्यही बसोबास गर्दै, त्यहीँकै रैथाने भएका थुप्रै छन् भन्ने ।

नेपालीहरूले बर्मा भने पनि बर्माबाट म्यानमारको नामले बढी परिचित थियो । लगभग एक घण्टा दश मिनेटमा योङ्गुनको एयरपोर्टमा प्लेन ल्यान्ड हुन्छ । एउटा फेरि नयाँ देशको यात्राको लागि पूर्ण तयार भएर सबै इमिग्रेसन प्रक्रिया पुरा गरेर एयरपोर्ट बाहिर निस्कन्छु ।

‘वेलकम टु योङ्गुन, रमेश कार्की’ लेखिएको कागज बोकेर उभिएको व्यक्तितिर अगाडि बढ्छु । उनले मलाई एयरपोर्टको पार्किङमा रोकिराखेको गाडीमा लेर जान्छ ।

‘ह्वाट अ प्लिजेन्ट सरप्राइज, यत्रो वर्षपछि त्यो पनि विदेशमा र यसरी हाम्रो भेट होला भनेर कल्पना समेत गरेको थिइनँ मैल ।’ गाडीभित्र बसिराखेको मेरो कलेजको साथी किरणले खुसी हुँदै बाहिर निस्कन्छ ।

‘कस्तो कन्सिडेन्स त । एनिवे, आइएम सो ह्याप्पी किरण कि हाम्रो यति लामो समयपछि यस्तरी भेट भयो ।’ हग गर्दै भन्छु ।

मेरो कलेजको बेस्ट फ्रेन्ड थियो किरण । साथी भन्दा पनि दाजुभाइ थियौँ हामी । हामीहरूको अनुहार र जिउ डाल पनि मिल्थ्यो । हाम्रो पढाइ सकिएपछि म फरदर स्टडीको लागि विदेश गएँ । एक वर्षसम्म हाम्रो इमेल तथा फोनमा कुरा हुँदै गथ्र्यो । तर पछि किन हो मेरो इमेल तथा फोनको रेस्पोन्स कम गर्दै गयो । र, पछि हाम्रो कन्ट्याक नै बन्द भयो । मैले धेरै बुझ्न खोजेँ उसको बारेमा तर काठमाडौँबाट एक्कासि कहाँ गयो भन्ने कसैबाट केही थाहा पाउन सकिनँ ।
‘तिमीलाई कति इमेल गरेँ । तर त्यसको कुनै रिप्लाई गरेनौ । यत्रो वर्ष कहाँ थियौ ? फेरि यहाँ योङ्गुनमा किन त ?’ उसलाई प्रश्न गर्छु म ।

गाडीको स्पिडसँगै ऊ बाहिर हेर्दै मेरो प्रश्नको जबाफ मन्द मुस्कानले दिन्छ । बाहिर पानी परिराखेको छ । सफा तथा चौडा बाटाहरू । सडकका किनारामा चट्ट मिलाएर रोपिएका बोटबिरुवाहरूले झन् सुन्दरता छरिरहेको थियो ।
‘तिमीलाई कहिल्यै मेरो सम्झना आएन किरण ?’ उसको एकाग्रतालाई तोड्दै फेरि प्रश्न गर्छु ।

‘इट्स रियल्ली लङ स्टोरी रमेश । लाइफमा धेरै उतारचढावहरू भए । हामीहरू सब खेलौना रहेछौँ समयको ।’ विगतका कुराहरूलाई पन्छाउन खोज्दै थियो समयलाई दोष दिएर ऊ ।

‘विवाह ग¥यौ रे भन्ने सुनेको थिएँ । के साँचो हो ? तिमीलाई विवाहदेखि सधैँ घृणा लाग्ने ।’ प्रश्नमा प्रश्न थप्दै जान्छु म ।

‘तिम्रो यो प्रश्नको पहाड लगाउने बानी अझै कम भएको रहेनछ ।’ भन्दै हाँस्छ किरण ।

हामी दुवै होटेलको रिसेप्सनमा जान्छउ । एउटाचाहिँ अचम्म लाग्यो मलाई बर्माको । त्यहाँको नेसनल डे«स भनेकै लुंगी रहेछ । प्रायः सबैले महिला होस् वा पुरुष लुंगी नै लगाउने रहेछन् ।

‘ल म चाँडो चाँडो फ्रेस भएर तिम्रो रुममा आउँछु । अनि मस्तले घुम्नुपर्छ योङ्गुन । यहाँको स्तुपाहरू ज्यादै फेमस छ । आई विल बि इन योङ्गुन जस्ट फर थ्रि डेज सो, यो तीन दिनमा हामीले सकेको घुम्नुपर्छ ।’ भन्दै म रुमतिर लम्कन्छु ।

‘आई फरगट टु टेल यु कि भोलि स्नेग्धा र शुभम् पनि आउँदै छन् । अनि हामी सबै भएर घुम्नुपर्छ ।’ भनेर उसले भनिरहँदा मनमा एक प्रकारको कौतूहल पैदा गर्छ ती दुई नामले मलाई ।
‘आई एम सो एक्साइटेड टु मिट योर वाइफ एन्ड सन, तिमी जस्तो असल व्यक्तिलाई हसवेन्डको रूपमा पाउनु तिनीलाई भाग्यमानी सम्झन्छु । ठुलो लेकको बिचमा अवस्थित हाँसको आकारमा बनेको ठुलो रेस्टुरेन्टमा बसेर चिसो बियरको चुस्की लगाउँदै भन्छु म ।

‘आई एम अल्सो भेरी मच लक्की टु ह्याभ हर रमेश । सी इज पर्फेक्ट फर एभ्रिथिङ । उनको आगमनले मेरो जीवनको मुहार फेरिएको छ । त्यसमा छोरा सुभमको त कुरै छोडौँ । यति सानो हुँदाहुँदै पनि हि इज भेरी अन्डरस्ट्यान्डेबल बोय । म आफूलाई संसारको भाग्यमानी श्रीमान् र बाबु सम्झन्छु ।’ भनेर ग्लासमा बियर थप्दै भन्छ । उसको खुसी उसको अनुहारमा प्रस्ट झल्किरहेको पाउँछु म ।

‘ओके, त्यसो भए भोलि एयरपोर्टमा तिम्रो सट्टामा म लिन जान्छु भाउजू र छोरालाई एउटा सरप्राइज हुनेछ उहाँहरूको लागि भोलि । प्लिज, डन्ट टेल एनिथिङ एबाउट दिस थिङ्स ।’ किरणलाई फकाउँदै भन्छु ।

सदाभन्दा रमेश आज चाँडो उड्छ । थाहा छैन किन ऊ आतुर छ एयरपोर्ट जानलाई । होटेलको पर्दा उघार्छ । योङ्गुन सहरको बिहानीले उसलाई स्वागत गर्छ । रुमबाट देखिएको चहकिलो बुद्ध स्तुपाले झन् उसको मनलाई शान्त प्रदान गर्छ । रुमबाटै प्रस्ट देखिने स्तुपाहरूले भरिएको योङ्गुन सहर । यहाँ आउनु अघि ऊ दोधारमा थियो योङ्गुन जाऊँ कि नजाऊँ भन्नेलाई लिएर । तर, अहिले ऊ खुसी छ सही निर्णय लिएकोमा ।

स्नेग्धाले किरणलाई लास्ट टाइम गिफ्ट दिएको टि सर्ट लगाएर रमेश जाने । र, एयरपोर्टभित्रबाट एक्जिट डोरमा स्नेग्धाहरूले फेस नदेख्ने गरी रमेश पछाडि फर्केर बसेर दुई आमा र छोराहरूलाई ब्रेन्क गर्न खोजेका थिए दुई साथी भएर ।
रमेश समयमै एयरपोर्ट पुग्छ । सेड्युल अनुसार प्लेन अन टाइममै ल्यान्डिङ हुने थियो । रमेश पहिलादेखि नै प्रेन्क गर्नमा एक्पोर्ट थियो । ऊ ठिक एक्जिट डोरको अगाडिपट्टि फेसलाई अपोजिट दिशातर्फ फर्काएर उभिएको थियो । जुन हिजो रमेश र किरण भएर बनाएको योजना थियो ।

‘आई लभ यु किरण । आई रियल्ली मिस यु भन्दै स्नेग्धाले पछाडिबाट हग गर्छिन् । रमेश मुसुमुसु हाँस्दै उनी भएतर्फ फर्कन्छ । उनीहरू दुवै एकअर्कालाई हेरिरहन्छन् ।
ड्ड
होटेलको लबीमा किरण उनीहरूलाई कुरिराखेको हुन्छ । गाडीबाट ओर्ली छोरा सुभम दौडेर किरण भएतर्फ दौडन्छ । स्नेग्धा किरणलाई हग गर्दै रुन थाल्छिन् ।
‘जम्मा पन्ध्र दिन भएको छैन के भएको तिमी ?’ जिस्काउँदै महेश उनको गालामा माया गर्छ ।

‘आई रियल्ली डन्ट लाइक द्याट काइन्ड अफ प्रेन्क किरण ।’ उनी आँखाको आँसु पुछ्दै भन्छिन् ।

‘आई एम सरी डियर, यो सब रमेशको योजना थियो । हामी दुई साथी कति वर्षपछि हिजो मात्र हाम्रो भेट भयो … ’ भन्दै सबैकुरा सुनाउँदै तीनै जना रुमतिर लाग्छन् ।

‘साँच्ची खोइ त रमेश ? कस्तो लाग्यो मेरो साथी तिमीलाई ? अबको दुई दिन हामी रमेशसँगै घुम्नेछौँ । उसको अलिक मजाक गर्ने बानी छ ।’ रुममा छोरासँग खेल्दै भन्छ किरण स्नेग्धालाई ।

तर स्नेग्धाको ध्यान किरणकोमा नभएर अघि एयरपोर्टमा भएका घटनाहरूप्रति नै थियो । एक प्रकारको डर, त्रास उनको अनुहारमा झल्किरहेको थियो ।
‘होइन तिमीहरू एयरपोर्टबाट सँगै आएका होइनौ र ? कत्ति फोन गरिसकेँ रिसिभ पनि गर्दैन रमेश । होइन एक्कासि भयो के ?’ किरण प्रश्न गर्छ ।
‘तिम्रो साथी मलाई कसरी थाहा हुन्छ ।’ भन्दै छोटो उत्तर दिन्छिन् ।
किरण सिधै रमेश बसेको रुमतिर जान्छ । डोर बेल बजाउँछ । ढोका नखुलेपछि तल होटेलको रिसेप्सनमा गएर सोध्छ ।

‘सरी सर रमेश सरले जस्ट चेक आउट गरिसक्नुभयो रुम र तपाईँको नाममा यो लेटर छोड्नुभएको छ ।’ भन्दै लेटर दिन्छ ।
‘आई एम एक्सट्रम्ली सरी द्याट विथआउट इनफर्म यु मैले जानु प¥यो । आशा गर्छु कि हाम्रो भेट चाँडै होस् । भाउजू तथा छोरालाई मेरोतर्फबाट सरी भन्दिनु बिना सूचना जानु परेकोले । तिमीहरू सधैँ खुसी भइरहनु … ।’ किरण जिल्ल परेर पढिरहन्छ लेटर ।

जसको कारण रमेशको सपनाहरू भताभुङ्ग हुन पुगे । कस्तो मान्छे के हुन पुगेको थियो रमेश । जसको मायाको लागि घर, परिवार र समाज त्यागी अबबाट तिमी मात्र छौ मेरो भनेर विवाह गरेको थियो उसले राधालाई सात वर्ष अगाडि । धेरैले नसम्झाएको होइनन् रमेशलाई कि हतारमा यस्तो ठुलो निर्णय लिन हुन्न भनेर तर रमेशलाई यति विश्वास थियो कि राधा नै हो उसको भविष्यको जीवनसाथी जसलाई पाउनु नै उसको मुख्य लक्ष्य थियो । उसलाई त्यो बेला यो लागेको थियो कि आफ्नै परिवारले समेत उसको डाहा गरिराखेका छन् भन्ने ।

सपनाको पखेटा बनाएर उडिराखेको उसलाई जमिनमा पछारिन धेरै समय लागेन । राधासँग विवाह गरेको डेढ वर्षमा नै उसलाई छर्लङ्ग थाहा भइसकेको थियो कि उसको छनौट गलत रहेछ भनेर । जुन स्वार्थ प्राप्तिका लागि रमेशसँग प्रेमको नाटक र विवाह गरेकी थिइन् । जुन कुरा नपाएपछि अब बिस्तारै उनी आफ्नो असली चरित्रमा फर्किन थालिराखेकी थिइन् । र अन्तमा रमेशले अनेकौँ प्रयास गर्दा पनि उनीहरूबिच डिभोर्स भयो । जसको लागि ठुलो मूल्य चुकाउनु परेको थियो । डिभोर्स भएको केही समयपछि मात्र उसलाई थाहा भयो कि राधाको पेटमा उसको निशानी हुर्किराखेको छ भनेर । जब उसलाई ज्ञात भयो कि पेटमा उसको बच्चा छ भनेर तब उसले धेरै खोजी ग¥यो राधालाई तर कहीँ कतै पाउन सकेन ।

अन्तमा उसले नेपाल छोडेर सदाको लागि विदेश बस्ने निर्णय लियो । परिवारले फेरि पनि विवाहको लागि धेरै कर गरे तापनि उसले नगर्ने निर्णय लियो ।

जसलाई लिन रमेश इन्टाइड भएर एयरपोर्ट आएको थियो । हिजो मात्र किरणले छाती फुलाएर श्रीमतीको तारिफ गरेको थियो । अहिले उनै किरणको श्रीमती राधाबाट स्नेग्धा भएर रमेशको अगाडि उभिएकी थिइन् छोराको साथमा । दुवै जना एकआपसमा हेरिरहन्छन् ।

‘तिमी मेरो फलो गर्दै यहाँसम्म आइपुग्यौ ? याद राख अब म तिम्रो कोही होइन आज म मात्र किरणको श्रीमती छु । जसलाई पाएर म सारै खुसी छु । हाम्रो सानो फे मिली छ । सो प्लिज, हाम्रो फेमिलीमा ग्रहण लगाउने काम नगर । तिमी जस्तो केटालाई मन पराउनु र झन् विवाह गर्नु मेरो सबैभन्दा ठुलो भुल थियो । जुन सात वर्ष अगाडि नै मैले भुललाई सुधारिसकेको छु । मलाई अलिकति माया गर्छौ भने प्लिज जतिसक्दो चाँडो गइहाल ।’ उनी हात जोडेर भनिरहन्छिन् ।

रमेशले सबैकुरा अब बुझिसकेको हुन्छ । मात्र उसको मनमा एउटा प्रश्न उब्जिएर आउँछ ।

‘राधा म सधैँ तिम्रो राम्रो भएको हेर्न चाहन्छु । हो, हाम्रो एक हुन भाग्यले लेखेको रहेनछ । तिमीलाई खुसी भएको देख्न पाउँदा मलाई खुसी लागेको छ । किरण जस्तो लोग्ने तिमीले पाएको छौ । किरण सारै असल व्यक्ति छ । जस्तो व्यवहार तिमीले मलाई ग¥यौ । त्यो किरणलाई कहिल्यै नगर्नू । हि लभ्स यु अलट । अन्तमा एउटा प्रश्न गर्न चाहन्छु कि तिमीले मलाई छोडेर जाँदा तिमी प्रेगनेन्ट थियौ रे । के म जान्न सक्छु कि तिमीले त्यस …’ भनेर रमेशको कुरा पुरा हुन नपाउँदै ।

‘प्लिज स्टक रमेश । मलाई तिम्रो कुनै पनि प्रश्नको उत्तर दिनु छैन । हामी तीन जना पूर्ण रूपमा खुसी छौँ । शुभम मात्र मेरो र किरणको छोरा हो । जन्म दिँदैमा त्यस बच्चालाई मेरो सन्तान भन्ने हक कसैलाई हुँदैन । म तिम्रो हात जोड्छु रमेश तिमी जाऊ । तिम्रो अनुहार समेत हामीले कहिल्यै देख्न नपरोस् । प्लिज गो एनिवे ।’ उनी भनिरहन्छिन् ।

‘मम्मी मम्मी, के भयो ? अङ्कललाई किन गाली गर्नुभएको ?’ भन्दै राधालाई कोट्याइरहन्छ ।