अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 06:46

समय

अर्जुन थापा २०७६ जेठ १४ गते ८:३६ मा प्रकाशित

लघुकथा

गाउँबाट छोरा बुहारीलाई भेट्न काठमाडौँ आउँछिन् आमा । उनको धेरै जसो समय पूजा पाठमै बित्ने गथ्र्यो । उनको पूजा पाठको गाउँभरि चर्चा हुने गथ्र्यो । काठमाडौँ बसाइको क्रममा उनले यो थाहा पाउछिन कि बुहारीले महिनावारी भएको बेला पनि खाना आफै पकाउछिन भनेर ।

“पूजा पाठ त गर्न छाड्यौ नै । अब महिनावारी भएको बेला पनि भान्छामा गएर सब गर्ने । त्यही भएर पो रहेछ भगवान् खुसी नभएका । सपना पनि उउटै राम्रो नदेखेकी रहेछु मैले । हाम्रा पालामा गोठमा गएर सात दिन कति कष्ट गरेर बार्नु पथ्र्यो भने तिमीहरूलाई यति आराम पाउँदा सम्म भएन । के थाहा छोरा सँग पनि सँगै सुत्ने होला नछुने भएको बेला । कति दुःखले कायम राखेकी थिए आफ्नो धर्मकर्मीलाई तर तिम्रो कारण सब नष्ट भयो ।” भूत भूत गर्दै बुहारीलाई सुनाउँछिन् ।

सासूको सबै कुरा सुनी सकेपछि ।

“आमा, घरमा काम गर्ने अरू मान्छे छैन । हजुरको छोरालाई घरको काम गर्नु भनेको आइमाईको काम हो भन्नु हुन्छ । छोरी सानी छे । त्यसलाई के भनु । बिहान गएकी छोरी एकै पटक बेलुका फर्किन्छे । मैले भान्छामा जानु हुँदैन स्कुल भोकै जाऊ भनेर पठाउनु भएन । एक दिनको कुरा होइन । मलाई पनि अफिस जानुपर्छ । भोक भोकै सातै दिन अफिसमा गएर खादा जिउलाई सन्चो गर्दैन । सुरुसुरुमा छोरीलाई पनि बिस्कुटको भरमा पठाएको थिए । आफू पनि घरबाट भोक भोकै अफिस गएर खाएको थिए । त्यसो गर्दा एक छोरीलाई सन्चो भएन । अर्को म आफै बिमारी परे । हजुरलाई पनि थाहा छ । मलाई यस्तो बेला अलिक बढी गाह्रो हुन्छ । केही खान मन लाग्दैन । अरू केही नभए पनि बिहान उठेर एक ग्लास तातो पानी समेत पिउन पाइन । अब हजुर आफै भन्नु कि, भगवान् रिसाउँछन् भनेर हजुरकी नातिनीलाई भोक भोकै स्कुल पठाएको ठिक कि पेट भरी टन्न खाना खुवाएर पठाएको ठिक ? मैले के गर्दा चाहिँ भगवान् खुसी हुन्छन् होला त आमा ?” हाँसेर प्रश्न गर्छिन् सासूलाई बुहारी ।

“लौ, लौ जे मन लाग्छ त्यही गरेस् ।” भन्दै बत्ती कात्न थाल्छिन् सासू ।
समाप्त !