अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२० | Colorodo: 09:35

पश्चात्ताप- अर्जुन थापा

अर्जुन थापा २०७५ पुष २९ गते ९:५० मा प्रकाशित

सधैँ नभए तापनि कहिलेकाहीँ पुराना कुराहरू केलाउँदा रमाइलो हुन्छ जस्तो लाग्छ । पुराना खिचिएका फोटोहरू देख्दा झट्ट पुराना यादहरू आउँछन् । कुरा भर्खर जापान जाँदाको हो । पहिलो पटक जापानको सेन्दाई भन्ने ठाउँमा मेरो जापान बसाइ सुरु भएको थियो । लगभग एघार–बाह्र वर्षअगाडि होला । म पढ्ने ल्याङ्ग्वेज स्कुलमा सायद मेरो उमेरकै लेडिज टिचर थिइन् । हामीलाई खान्जी (जापनिज अक्षर) पढाउँथिन् । त्यस स्कुलमा हामी नेपालीबाहेक पनि धेरै देशबाट आएका स्टुडेन्टहरू थियौँ तर पनि उनले नेपालीलाई बढी प्राथमिकता दिन्थिन् ।

सँगै भएका साथीहरूभन्दा म अलिक पछाडि हुँदै गएको थिएँ पढाइमा । सायद घरको यादले गर्दा पनि मलाई बढी नै गाह्रो भइराखेको थियो । यो क्रम टोकियो नआउँदासम्म भई नै रह्यो । अहिले जस्तो फेसबुक, भाइबर तथा मेसेन्जर थिएन नेपालमा कुरा गर्न । फोनको मात्र सहारा थियो जो महँगो थियो । भर्खर भर्खर गएको, काम पनि थिएन । त्यसैले विचार गरेर मात्र फोन गर्नुपर्ने बाध्यता । एक्लै भयो कि रुन मात्र मन लाग्ने ।

त्यस्तै एक दिन म लाइब्रेरीमा घरका मान्छेहरूको फोटो हेरेर बसिराखेको थिएँ । उक्त टिचर टुप्लुक्क मेरो अगाडि आइपुगिन् । थाहा छैन के भयो, उनलाई देख्न पाएको छैन रुन मन लागिहाल्यो र आँसु बग्न सुरु गरी पनि हाल्यो । म भर्खरभर्खरको भाषा सिक्दै थिएँ । उनले केके भनेर मलाई सम्झाइन्, केही बुझिनँ । मलाई उनको त्यो न्यानो स्पर्शले मात्र आफूलाई कसैको साथ पाएको अनुभव भइराखेको थियो ।

त्यस दिनदेखि आफूलाई जे परे पनि बोल्न नजानी नजानी पनि इसाराको भरले पनि म अर्थ्याउँथेँ । उनी पनि समय लिएर मलाई बुझ्ने कोसिस गर्थिन् । उनलाई इङ्लिस नआउने मलाई जापनिज ।

सँगैका साथीहरू लगभग बोल्ने भइसकेका थिए भने म जहाँको त्यही थिएँ । साथीहरू आफैँ पढेर काम गर्न थालिसकेका थिए । मैले न पढाइ न काम नै पाएको थिएँ । काम थिएन, त्यसैले कोठा जानु हतार पनि थिएन । त्यसैले बढीभन्दा बढी समय लाइब्रेरीमा नै बित्न थाल्यो मेरो र उनी पनि प्रायः त्यहीँ हुन्थिन् ।

बिस्तारै हामीहरू नजानिँदो पाराले नजिक हुँदै गइराखेका थियौँ । हामी प्रस्ट मनका कुरा शब्दहरूले व्यक्त गर्न नसके तापनि आँखाहरूबाटै हामी बुझ्ने गथ्र्यौं । मलाई लाग्छ, त्यही आँखैआँखाबाट गरिएको कुराकानीले नै हामीलाई पछिसम्म बाँधिराखेको थियो ।

सेन्दाइमा म दस महिना जति बसेँ । यसबिचमा लगभग जापनिज बोल्न सक्ने भइसकेको थिएँ र म शब्दहरूबाटै कुराहरू गर्न सक्ने भइसकेको थिएँ । तर कहिल्यै पनि हाम्रो कुराकानीमा पैसा र सेक्सका कुराहरू भएनन् । हामी सधैँ आफूभित्रको खाली मनको कुरा गथ्र्यौं ।

उनका कुराहरूबाट मलाई यस्तो लाग्थ्यो कि उनले प्रत्येक मानिसलाई रित्तो र नाङ्गो देख्छिन् । उनले अझै धेरै छन् आफूलाई खोलेर म सामु प्रकट हुन । तर सायद भाषाको कमीले हुन सक्छ, उनी मसँग पूरा नखुलेकी पनि ।

म उनलाई सेनसेई (शिक्षक) बाट झरेर उनकै नामबाट बोलाउने भइसकेको थिएँ र उनले पनि नामको पछाडि सान (आदरार्थी शब्द) लगाउन छोडिसकेकी थिइन् ।

हामी लुकी लुकी स्कुलबाहिर पनि भेट्न थालिसकेका थियौँ । अलिअलि मेरा मिल्ने साथीहरूले थाहा नपाएका त होइनन् तर पनि भन्नलाई प्रमाण भेटेका थिएनन् अझै पनि ।

मेरो टोकियोमा कलेजको डेट पक्का भएर सेन्दाई छोड्ने पक्का भइसकेको थियो । उनले मलाई सधैँ फ्युचरको राम्रोका लागि भनिरहन्थिन् । हामी एउटा असल साथी बनिसकेका थियौँ ।

काम सकेर टे«नबाट कोठा फर्कँदै गर्दा उनलाई झ्वास्स भेट भयो । म टोकियो आएको पनि चार वर्ष भइसकेको थियो । दुवैको आआफ्नै व्यस्तताले गर्दा फाट्टफुट्ट इमेलमा बाहेक हाम्रो सम्पर्क हुँदैनथ्यो । उनी सेन्दाई म टोकियो । सायद टाढा भएर पनि हुन सक्छ ।
उनले आश्चर्यजनक रूपमा मलाई हेर्दै भनिन्, “हिसासीबुरी अर्थात् धेरैपछि ।”

मैले पनि त्यही भनेँ । सोच्दै नसोचेको उनलाई देख्दा खुसी लाग्नु स्वभावकै थियो । उनको सामीप्यमा धेरै कुरा सिकेको थिएँ ।
केहीबेरको कुराकानीपछि उनले मलाई भनिन्, “यहाँबाट नजिकै छ म बसेको होटेल । भोलि बेलुका फर्कँदै छु । कफी पिउने भए जाऊँ ?”
दुई डिग्रीको चिसो त्यसमा चार वर्षपछि हाम्रो भेट भएको थियो । घडी हेरेँ, साँझ पनि परिसकेको छ ।
“अर्को पटक तिमी आउँदा भेटौँला ।” मैले भनेँ ।

“एक छिन त हो । फेरि धेरैपछि भेट भएको छ ।” उनको स्वरमा औपचारिकताभन्दा अलि बढी आग्रह मिसिएको लाग्यो ।
हामी टे«नबाट झरेर चुपचाप लाग्यौँ उनको स्थानतिर ।

उनले ढोका खोलिन् । होटेलको रुम, एक जोडी सोफा एसी तापेर सायद हामीलाई पर्खिरहेका थिए । हामी दुवै सोफामा बस्यौँ । एकदमै नजिक । उनले दुइटा कफी मगाइन् फोनबाट ।

त्यस न्यानो र शान्त कोठामा हामी चुपचाप कफीको चुस्की लिँदै रह्यौँ । लिँदै रह्यौँ । तर केहीबेरमै मलाई लाग्यो, हाम्रो चिनजान र परिचय जाडोझैँ क्रमशः त्यहाँबाट भाग्न थाल्यो, हराउन थाल्यो । अनि हामी पुनः एक पटक अपरिचित जस्तै हुन थाल्यौँ । औपचारिकता हाम्रो अगाडि ठिङ्ग उभिन आइपुग्यो । मैले त्यसलाई त्यहाँबाट हटाउने धपाउने प्रयास गरेँ तर सायद ऊ बढी शक्तिशाली थियो, म निर्धो अनि निःशस्त्र ।
“केही त सुनाऊ तिम्रो नयाँ ।” सन्नाटालाई चिर्दै उनी बोल्छिन् ।

म फिस्स हाँसेँ मात्र । मलाई लाग्यो सोध्ने र भन्ने सामान्य कुराहरू अघि नै सकिसके । तर अब … के ?
साँच्ची भन्ने हो भने मभित्र अचानक एउटा सैतान प्रवेश गर्न थाल्यो । मलाई किन हो उनी झन्झट सुन्दर र आकर्षक लाग्न थाल्यो । मलाई आफैँसित डर, लाज र घिन लाग्न थाल्यो । म किन यसरी कमजोर बन्दै जाँदै छु ? यो मभित्र के भइरहेको छ ? एक क्षण त मलाई लाग्यो, हठात् कसैले प्रवेश गरोस् र त्यो क्षणको तनावबाट मलाई मुक्त गरिइदेओस् तर त्यस्तो केही भएन, कोही आएन ।
हामी कफीको चुस्की यति बिस्तारै लिइरहेका थियौँ कि मलाई लाग्यो कफी पिइरहेको छैन, कप चाटिरहेका छौँ । त्यस बेला मलाई आफैँदेखि आश्चर्य पनि लाग्यो ।

उनीसित नौ, दस महिना भेटेको र नजिक थियौँ हामी । तर यस्तो कहिल्यै भएको थिएन । तर आज … बिस्तारै उनीसित चिनजान भएका, भेटेका, घुमेका, एकसाथ बिताएका क्षणहरू सम्झिन थालेँ । म उनको कैयौँ पटक घर गएको थिएँ । उनले मलाई मोटरबाट कोठा पनि पु¥याइदिन्थिन् । तर कहिल्यै त्यस किसिमको कुविचार (?) पनि आएन तर अहिले ।

म पुनः वर्तमानतिर फर्किएँ । मैले धेरै बेर पर्खिए उसका हातहरू मतिर बढ्न वा बिस्तारै मेरा औँलाहरू उनले हत्केलामा लिउन् र खेलाउन् तर त्यस्तो केही भएन । सायद उनीभित्र त्यस्तो विचार नआएको पनि हुन सक्छ वा यसो पनि हुन सक्छ उनले पनि मैले जस्तो सोचिरहेको हुनुपर्छ ।
उनले यो बिचमा विवाह गरिन् वा छैन, त्यो पनि मलाई थाहा छैन । मलाई मात्र यो थाहा थियो कि अट्ठाइस–उनन्तिस वर्षकी राम्री र आकर्षक छिन् उनी । पेसागत हिसाबले हेर्दा उनी इमानदार, लगनशील र अध्ययनशील लाग्दथिन् । त्यसो त मेरो पनि त्यस क्षण उनीसित प्रेम वा विवाहको केही सपना पनि थिएन र कल्पना पनि । अर्थात् त्यति लामो सम्बन्धबारे मैले केही सोचिन र सोच्न चाहिनँ पनि ।

केवल त्यस शान्त र न्यानो वातावरणमा म उनलाई किस गर्न चाहन्थेँ । नशालु बन्न र मात्तिन चाहन्थेँ । तर त्यसका लागि मैले आफूलाई तयार गर्दागर्दै हरेक क्षण फुत्त फुत्त उम्किन थाल्यो, भाग्न थाल्यो । मेरो कोसिस हरेक क्षण द्वन्द्वमा अलमलिन र अल्झिन थाल्यो ।

“के गरेको” भनेर पुलिसलाई बोलाइन् भने … । म यो सम्झेर लज्जित हुन थालेँ तर अझै घटना घट्न बाँकी नै थियो । मलाई लाग्यो, मेरो त्यो व्यवहारलाई यदि उनले चुपचाप स्विकारिदिइन् भने म आफूलाई विजयी नै ठान्छु । तर यदि नस्विकारेर अपमान गरिन् भने म कहिल्यै पनि उनको सामुन्ने उभिन सक्ने हुन्न । यही द्वन्द्वले म अल्झिरहेँ ।

अब अति भयो । कपमा कफी पनि थिएन चाट्नलाई र अर्को कुनै बहाना पनि थिएन बस्नलाई ।
“निहोङ्गो ज्योजुनि नात्ताने अर्थात् जापनिज भाषा राम्रो भएछ ।” उनले भनिन् ।

“दोमो (धन्यवाद) ।” भनेँ मैले ।
अनि मैले भनेँ, “अब जाऊँ म ?”
उनले बिस्तारै भनिन्, “यत्ति चाँडो ?”
“आएको दुई घण्टा हुन लागिसक्यो ।” मनमनै भुत्भुताउँछु म ।

म उठेको देखेर गाह्रो मानिमानी ढोका उघारिन् । म केही क्षण टक्क रोकिएँ । आफूमा भएको सम्पूर्ण आँट र साहस एकैपल्ट बटुलेर उनलाई पहिलो र अन्तिम पटक भए पनि माया गर्न तम्तमाएँ, तम्सिएँ । तर अचानक आफूभित्रै लुकेको एउटा सिङ्गो नेपाली छोरा मेरो अघिल्तिर आयो । उसलाई देखेर मेरो आँट र साहस सुइँकुच्चा ठोक्यो ।

“ज्या मादा आइमास्यो । (ल पछि फेरि भेटौँला ।)” भन्दै फटाफट निस्किएँ होटेलबाट ।
उनी मलाई बाहिरसम्म आएर हात हल्लाइराखिन् ।
मलाई यो कुराले पश्चात्ताप लागिरह्यो र अहिले पनि लागिरहेको छ, किन मैले त्यतिखेर आफूले चाहेजस्तो गर्न नसके तापनि माया गर्नलाई सोध्न त सक्थेँ नि उनीलाई भनेर ।