अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

व्रतको फल

अर्जुन थापा २०७५ चैत २८ गते ९:५४ मा प्रकाशित

लघुकथा

हरितालिका तिज, महिलाहरूको लागि पवित्र दिन । गौशालाबाट पुरै गाडीहरूलाई प्रवेश निषेध थियो । हजारौँको सङ्ख्यामा रातै पहिरनमा महिलाहरू बाटो भरी देखिन्थे । त्यत्तिकैमा ठुलो साइरन बजाउँदै एम्बुलेन्स हुइकिदै ओम अस्पताल भित्र छिर्छ ।
“धन्न मैले थाहा पाएर मात्र यहाँ सम्म ल्याउन पायौ । नत्र बिचरी जलेर त्यही कोठामै खरानी हुने रहेछिन् ।” छिमेकी एक महिलाले अर्कोलाई सुनाउँछिन् ।

“त्यही त ! भगवानले नै तपाइलाई पठाएको जस्तो भयो । कस्ता पापी रहेछन् घरका मान्छेहरू । त्यत्रो अत्याचार गरेर नपुग भएर अन्तमा मार्नलाई ग्याँस खोलेर छोडिदिएका त । यस्तालाई छोड्नु हुँदैन । पुलिसलाई खबर गर्नुपर्छ ।” समर्थनमा अर्की महिला बोल्छिन् ।

“बिहान भर्खर शिव मन्दिरमा भेटेको थिए । मुख अँध्यारो थियो । वर्तले गर्दा होला भन्ने सम्झे मैले पनि । माइती जान मन लागेको छ दिदी भन्थिन् । हतार भएकोले त्यति कुरा गर्न पनि भ्याइन मैले ।” पहिलो महिला मोबाइलमा नम्बर थिच्दै भन्छिन् ।

तिन चार घण्टा पछि पीडित महिलाको आमा हतारिँदै अस्पतालमा प्रवेश गर्छिन् ।

“पिर लिनु पर्दैन आमा । भर्खर डाक्टरसँग कुरा भएको थियो मेरो । खतरा मुक्त छिन् । भगवानले बचाए । यत्रो हुँदा सम्म शरीरमा त्यत्रो ठुलो क्षति पुगेन ।” दोस्री महिला आमालाई सान्त्वना दिँदै भन्छिन् ।

बिस्तारै आई.सी.यु. को ढोकाबाटै भित्र छोरीलाई हेर्छिन् । त्यतिकैमा भित्र रहेकी छोरीले आमालाई देख्छिन् ।

“आमा, सानै देखि राम्रो र माया गर्ने श्रीमान् पाउँछ भनेर तिजको व्रत बस्न लगाउँथ्यौ । शिवलाई खुसी पारेमा राम्रो वर पाउँछ भनेर शिवरात्रीमा व्रत बस्नुपर्छ भन्थ्यौ । श्रीमान् भनेको भगवान् हो भनेर हरेक अत्याचारमा पनि सहनु पर्छ भन्यौ । बुझ्ने भए देखि तिमीसँगै निरहार व्रत बसे र आजको दिनसम्म त्यसलाई निरन्तरता दिए । त्यसको फल राम्ररी पाए आज मैले आमा । त्यो पनि शिव भगवानको दोस्रो रूप ठानेकी आफ्नै श्रीमानबाट । यही रहेछ होइन त तिमीले सिकाएको व्रतको प्रतिफल ?” मनमनै आई.सी.यु. को कोठैबाट आमालाई प्रश्न गरी रहन्छिन् ।

समाप्त !