अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

एलियन

अर्जुन थापा २०७६ जेठ ३१ गते ४:०३ मा प्रकाशित

लघु कथा

“तेरो लोग्नेको कुरा सुन्दा डाह लागेर आउँछ । कस्तो जेन्टल, गुड लुकिङ र तेरो हरेक कुरामा ध्यान दिन्छ । हिजो पार्टीमा सबैको नजर तेरो लोग्नेमा नै थियो ।” स्नेग्धाले ईर्ष्यालु नजरमा कवितालाई भन्छे ।

“तेरो लोग्ने पनि कम र नि ।” हाँस्दै उनको साथी भन्छिन् ।

“देखिनस् हिजो पार्टीमा ? खानै नपाको जस्तो मासु आएको । अझ रक्सी कति पिएको ?

हो । सबै आफन्तको अगाडी लाजै मर्दो भयो । तँलाई के थाहा, माइतीमा बिहान देखि पूजा पाठ चल्छ । सबै भक्तिमा लागेका छन् । तर मासु नभई तेरो माइती जाँदिन भन्छ लोग्ने भनाउँदो । अरू त छाड्दे, श्रावण महिनामा माइतीमा पुरै चोखो पाक्ने घरमा ज्वाई मासुमा लुब्दो छ भनेर मनै नलागी भएता पनि मासु पकाउनु परेको थियो । हदै भएर अचेल माइतीमा लानै छाडे मैले लोग्नेलाई । आज बिहान त साह्रै झोक चल्यो, चिया खान बसेको बेला भनी दिएँ मैले । पनि “खुब मेरो छोरा असल भन्छौ । हिजो मेरो एक से एक आफन्तका अगाडी खानै नपाको जस्तो गरेर तिम्रो छोरोले मासु खाएर मेरो इज्जत गयो भनेर । कोही बोल्न सकेनन् । नसुनेको जस्तो गरेर भित्र पसिन रातो मुख पारेर सासू । क्या आनन्द आयो भने कुरा छाड्दे ।” हाँस्दै भन्छे स्नेग्धा ।

“कसैलाई माछा मासु मन पर्छ । तर यसको अर्थ यो होइन की मासु नै नभई भुजा खान नसक्ने । मासु नपाकी तेरो घर जान्न भन्ने र धेरै खाने खालको त कतैबाट लाग्दैन मलाई तेरो बुढा । हिजो पार्टीमा मलाई कतै पनि त्यस्तो लागेन कि तेरो इज्जत नै जाने गरी धेरै मासु खाको र रक्सी पिएको । तेरो लोग्नेको साथी मेरो पनि साथी हो । खोइ कसैले त्यस्तो केही भनेको सुनेको छैन त ! लोभी, अरूको पाए सम्म धुँतु, मासुको लागि इज्जत नै फाल्छ भनेर कहिल्यै सुनेको छैन । ल मानौँ, त्यस्तै खत्तमै तेरो लोग्ने भएता पनि त्यसलाई सुधार गर्न तिर जाने कि उल्टै सानो कुरालाई ठुलो बनाएर आफ्नै लोग्नेको बेइज्जत गर्दै हिँड्ने । त्यो सासूलाई कस्तो लाग्यो होला तैँले त्यसरी भन्दा ? अचम्म लाग्यो मलाई तेरो कुरा सुन्दा आज ।” सिरियस भएर भन्छिन् साथी ।

“तँलाई के थाहा मेरो लोग्ने भनाउँदो । सोझै भनी दिन्छु म उसलाई तिमीहरू अर्कै ग्रहबाट आएका एलियनहरु हौ भनेर । मान्छेमा हुनुपर्ने एउटै गुण नै छैन भनेर । त मेरो ठाउँमा भएको भए चौबिस घण्टामा नै हिँडी सक्ने थिइस ।” झोक्किदै भन्छे स्नेग्धा ।

“तैँले बुझ्ने कोसिस नगरेको मात्र हो । हरेक कुरा मेरो अनुरूप चल्नु पर्छ र मैले भनेकै जस्तो हुनुपर्छ भन्यो भने त कहिल्यै खुसी हुन सक्दिनस् । सबै मान्छेमा केही न केही अवगुण हुन्छ । जसलाई मिलेर कम गर्दै जाने हो न कि त्यही कुरालाई पहाड बनाएर हिँड्ने । आफूलाई सुधार गर्न सकिनस् भने कहिल्यै खुसी हुन सक्दिनस् ।” सम्झाउँदै भन्छे साथी ।

“त मेरी साथी भएर र एउटा नारी भएर पनि …” भन्दै उठेर हिँड्दिन्छे स्नेग्धा ।

समाप्त !