अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

लक्ष्मी

अर्जुन थापा २०७५ माघ १३ गते ९:३७ मा प्रकाशित

आँखा वरिपरि आज लक्ष्मीलाई नै देखिराखेको छु । पुरै ६ वर्षपछि आज मन्दिरमा झट्ट देख्दा अचम्म लाग्यो । म बोल्न खोज्नुभन्दा अगाडि नै ऊ ओझेल भइसकेकी थिई । शरीर मन्दिरमा भए तापनि ध्यान उही लक्ष्मीमा नै घुमिरह्यो ।

कस्तो संयोग आज म जापान छोडेर आएको पनि पुरै ६ वर्ष पूरा भएछ । कुनै सूचनाबिना जापान छोडेर आएको थिएँ म । एउटा छुट्टै सुन्दर संसार बनाउँछु भनेर । हो, आज म जे छु सायद उसको चित्त दुखाइको पनि केही भूमिका रहेको हुनुपर्छ ।

हाम्रो पहिलो भेट सिन वोकुबोको होस्टेलमा भएको थियो । उनी एक जना साथीसँग पहिलो तलामा बस्थिन् भने म दोस्रोमा । हाम्रो कोठा फरक भए तापनि किचेनचाहिँ संयुक्त थियो । जसले गर्दा खाना अथवा केही पकाउँदा चाहिँ भेट त्यही ठुलो किचेनमा हुने गथ्र्यो ।

अझै याद छ मलाई, घुम्रिएका कपाल, मिलेका जीउ डाल चम्किलो अनुहार तर दूधले धोएको जस्तो पनि होइन । उनी खाना पकाइरहँदा र म पालो कुरिरहँदा सर्सर्ती तलदेखि माथिसम्म हेर्न भ्याइसकेको हुन्थेँ । हाम्रो संवाद नभए तापनि त्यही किचेनमा दिनै जसो हाम्रो देखादेख भइरहन्थ्यो । धेरै पटक बोल्ने बहाना खोजे पनि आँट आइसकेको थिएन । त्यसमा हाम्रै होस्टेलमा बस्ने अरू भियतनामी केटाहरूसँग झगडा गरेको देखेपछि भएको आँट पनि हराएको थियो मेरो ।

प्रायः एक्लै बस्न रुचाउने भएर पनि होला म अरूले जस्तो साथीहरूसँग त्यति चाँडो घुलमिल हुन नसक्ने । जसले गर्दा होस्टेल र पढाइ मेरो दिनचर्या थियो ।

उमेर सँगसँगै एक्लोपनाले पनि मलाई पिरोल्न थालिसकेको थियो । एक त विदेश, आफ्ना भन्ने कोही नहुने । कोही मिल्ने साथी भए थोरै समय भए पनि मनलाई साथी हुन्छ । सायद यही कारण पनि होला मेरो किचेनमा उनी आउने समयमा उपस्थिति बाक्लिँदै थियो ।

मैले जति नजिक हुने प्रयास गरे तापनि उनले म हुनु र नहुनुमा केही प्रतिक्रिया नै नदेखाएको देख्दा सारै चढेकी रहेछ जस्तो पनि लाग्न थालेको थियो ।

अब यो किचेनमा मात्र सीमित भइयो भने केही हुनेवाला छैन भनेर अर्को उपाय सोच्न थालेँ ।

मेरो र उनको कलेज जाने टे«न स्टेसन एउटै र समय पनि एउटै थियो । अब किचेनबाट स्टेसनमा सर्ने विचार गरेर सानो कागजमा मोबाइल नं. लेखेर ठिक टे«न चढ्ने बेला हतार हतार उनको हातमा राखिदिएँ, जे सुकै पर्ला पर्ला भनेर ।

एक दिन दुई दिन गर्दै गर्दा हप्ता भए तर न फोन आयो न मेसेज नै । नम्बर दिएको दिनबाट त किचेनमा पनि देखिन छाडिन् लक्ष्मी । अब प¥यो फसाद । मनमा एक प्रकारको डरले सताउन थालिसकेको थियो ।

नवौँ दिनमा मोबाइलमा मेसेजको घण्टी बज्यो । हेरेँ लक्ष्मीको रहेछ । घण्टीसँगै मन पनि भुक्क फुलेर आयो, के लेखेर पठाएको छ भनेर । कलेजमा थिएँ जसले गर्दा लुकेर हेरौँ भन्दा पनि डरै थियो । त्यो पैँतालिस मिनेटको क्लास पनि घन्टौँ घन्टौँ भइराखेको थियो । क्लास सकिएपछि हतार हतार मेसेज पढेँ ।

“तपाईँसँग कुरा गर्नु छ ।” मात्र लेखेको थियो ।

कस्तो अधकल्चो मेसेज, कहिले र कति बजे केही छैन । झन् मनमा १२० को रफ्तारमा धड्कन दौडिन थाल्यो ।

झट्ट सम्झेँ लक्ष्मीले ती भियतनामी केटाहरूसँग झगडा गरेको । लौ अब फसिने भइयो भन्ने लगभग पक्का भएँ म । म कोठा जाऊँ तयार भएर बसेको पो छ कि, नजाऊँ त ढिलै भए पनि जानु त प¥यो नै । डराई–डराई रुम पुगेँ । हतार हतार लुगा फेरेर लागेँ कामतिर ।

हिजोसम्म घरीघरी विभिन्न बहानामा किचेन पुग्ने म आज हेर्न पनि डराइराखेको थिएँ । फटाफट होस्टेलबाट निस्केर टे«न चढेँ ।

फेरि अर्को मेसेजको घण्टी बज्यो । हेरेँ लक्ष्मीको नै थियो ।

“किन आज मुड अफ देखिनुहुन्छ नि ।” ल बल्ल पाँच–छ घण्टादेखिको बेचैनी एकैछिनमा हटेर गयो ।

जे होस्, मोबाइल नं. ले ठिकै काम गरेछ भन्ने लाग्यो र दङ्ग पर्दै, लक्ष्मीको मेसेजको रिप्लाई दिँदै काममा पुगेँ ।

उनैले बेलुका कामबाट फर्किँदा भेट्ने कुरा मेसेजमा लेखिन् । काममा पनि त्यति मन लागेन र समयअगाडि नै निक्लेँ र सोझै भेट्ने स्थानमा पुगेँ ।

“कुरा के गर्ने होला, के थाहा आएर सोझै बाझ्न थाल्ने पो हो कि ।” अनेकौँ कुरा खेलिरहँदा टाढाबाटै उनको छाया देखिन थाल्यो ।

मन ढक्क भयो, हुन त मेरो केटी साथी हुँदै नभएको भनेचाहिँ होइन । तर पनि कुनै अपरिचितसँग पहिले भेट्न र आफूलाई प्रस्तुत गर्न मलाई
सारै गाह्रो ।

“के काम थियो र मलाई त्यसरी नम्बर दिनुभयो ?” लक्ष्मीले सोझै प्रश्न गरी ।

उनी आउनु अगाडिसम्म जे सोचिराखेको थिएँ, ठिक उल्टो भयो– वातावरण अहिले ।

मलाई पनि झनक्क रिस उठेको थियो, लक्ष्मीको त्यो व्यवहार देखेर तर पनि आफूलाई समालिनु नै बेस सम्झेँ ।

“तिमीलाई साथी बनाउन मन भएर ।” मैले जबाफ दिएँ ।

“किन त ? … अरू कोही पाउनुभएन साथी बनाउनुलाई ?”

“तिमीमा विशेष देखेर नि !”

“ढिला भइसक्यो, भोलि मलाई कलेज पनि जानु छ ।” उनी सरक्क फर्केर जान लागिन् ।

“कस्ती घमन्डी रहिछे !” यस्तो रूखो व्यवहार देखाउनु नै थियो त किन भेट्न बोलाई आफैँले मनमनै सोचेँ ।

“पख म पनि जान्छु । आखिर जाने त हामी एउटै गन्तव्य हो क्यारे ।” भनेर हाँसिदिएँ ।

बल्ल उनी पनि खिसिक्क हाँसी । तर मनबाट आएको हाँसो थिएन भन्ने सजिलै अनुमान लगाउन सकिन्थ्यो ।

हल्का जूनहरू देखिएका सफा आकाश, सफा बाटो, सडकको बत्तीहरूले झन् वातावरण रमाइलो बनाइराखेको । त्यसमा लक्ष्मी र म मात्र ।
हामीबिच केही संवाद भइन राखेको बेला पनि, मनमा एक प्रकारको अर्कै अनुभव भइराखेको थियो । जसको लागि म वर्षौँदेखि कुरिराखेको छु ।

“ल म जान्छु है ।” भनेर ऊ आफ्नो रुममा गई ।

म त्यही हलमा बसिराखेँ– आजको हाम्रो भेटलाई सम्झँदै ।

लक्ष्मीको सबैभन्दा मलाई आकर्षण लागेको उनको मीठो र अर्थपूर्ण बोली र व्यवहार नै हो । लक्ष्मी मनमा पाप नभएकी नारी हुन् । पापैपापले भरिएको यो सहरमा उनी एक जना यस्ती नारी मैले भेटेँ, जोसँग आफ्ना लागि भन्दा आफ्ना नजिकका मानिसका खुसीका लागि बलिदान हुन सक्ने सामर्थ्य छ ।

यस दुई वर्षमा हामीबिच भिन्न र स्वाभाविक आकर्षण विकर्षणका खेलहरू भए । अझ भन्नुपर्दा यस अवधिमा आकर्षण विकर्षणको रोलर कोस्टरमा तलमाथि गरिराख्यौँ ।

कति ख्याल राख्ने भइसकेकी थिइन् मेरो । मेरो खानपिनदेखि लवाइखुवाइ हरेक कुराको लक्ष्मीले विचार गर्थिन् ।

हुन त मेरो सानै देखिको बानीले पनि होला म आफ्नो काम आफैँ गर्नमा बढी रुचाउने थिएँ । तर उनी मलाई कुनै काम गर्न नै दिन्थिनन् । धेरै पटक आफैँलाई प्रश्न पनि गर्ने गर्थेँ कि, “यो ज्यादा त भइराखेको छैन” भनेर तर पनि उनलाई भन्न डराइराखेँ ।

लक्ष्मीका यावत् कुरा असल भएर पनि मलाई उनका केही कुराहरू राम्रो लाग्दैनथ्यो । मेरा केही कुराहरूबाट आकर्षित उनलाई मेरा धेरै कुराहरू मन परेन र पनि हामी टाढिन सकेनौँ । किनभने हामी नभेटी बस्न सक्दैनथ्यौँ । भेट्ने बहाना अनेक हुन्थे । हाम्रा सब बहानाका पछाडि हाम्रा भेट्ने चाहनाले नै काम गरिरहेको छ भन्ने हामी दुईलाई राम्ररी थाहा हुँदाहुँदै पनि हामी एकअर्कालाई यो जानकारी दिँदैनथ्यौँ ।

हो, हामी एकअर्कालाई प्रेम गर्छौँ । एक प्रकारको आत्मीय प्रेम छ भन्न अब के डर ?

यस्तो प्रेम जहाँ स्वार्थ कम छ । हामीबिच उमेरको आकर्षणले पनि काम गरेको हुनुपर्छ । शारीरिक आकर्षण नै मानिसको जीवनमा सब थोक कहाँ हुँदा रहेछ र ?

लक्ष्मी सर्वाधिक माया गर्ने प्रेमी भएकी नारी । हामी एकअर्काको उपस्थितिमा रमाउँथ्यौँ । भलै, त्यो रमाइलो अनुभूति हामी एकअर्काका अगाडि व्यक्त गर्न गर्दैनथ्यौँ ।

हामी समय पाउने बित्तिकै घुम्न निस्कन्थ्यौँ । क्योतो, वोकिनावा, ताकायामा, कामकुरा आदि ठाउँमा जाँदाका याद अझै झलझली आउँछन् ।

लक्ष्मी मलाई प्रायः भन्ने गर्थिन् कि मैले उनलाई उनले भन्दा बढी माया गर्नुपर्छ भनेर । मरिहत्ते भएर कसैले कसैलाई बिना स्वार्थ माया गर्छ भनेर मलाई विश्वास नै लाग्दैन ।

म तिमीलाई माया गर्छु, त्यही भएर मैले भन्दा बढी तिमीले मलाई गर्नुपर्छ भन्ने शैलीलाई म बाध्यतावश भन्छु । माया त रहर हो । इच्छा हो, पूर्ण स्वतन्त्र इच्छा । सर्तहरूमा मायाको बलि चढ्न सक्छ होला । तर मायाहरू सर्तमा टिक्न सक्दैनन् ।
मन पराउनु र आफ्नो बनाउन नसक्नुको पीडाले म पटक पटक घात भएको छु । हो, लक्ष्मीको आगमनपछि मेरो बाँझो जीवनमा हरियाली छाएको थियो । उनीसँगको सङ्गतपछि नि मैले आफूभित्र भएका धेरै कमजोरीहरूलाई चिन्न र सुधार्न पाएको । उनी एक प्रकारले मेरो जीवनकी शिक्षिका नै हुन् ।

उनको र मेरो धेरै बानीहरू मिल्ने गर्थे । मैले भन्नुभन्दा पहिला नै उनले मेरो धेरैजसो कुरा बुझिसकेकी हुन्थिन् । कहिलेकाहीँ म डराउँथेँ पनि कि कुनै दिन हामी अलग हुनुपरेमा लक्ष्मीले के गर्छिन् होली भनेर ।

दुई वर्षको बिचमा नै यस्तो लाग्न थालिसकेको थियो हामी कैयौँ जुनीदेखि यसरी नै साथ छौँ ।

हो, म पनि उनलाई मन पराउँछु तर पनि अझै मैले पूर्ण रूपमा प्रेमको अर्थ नै बुझ्न सकिराखेको थिइनँ ।

बिस्तारै लक्ष्मीको पढाइ सकिने दिन आउँदै थियो । अर्को महिनामा उनको भिसा पनि सकिने र यो देशलाई छोड्नुपर्ने बाध्यता ।

हाम्रो होस्टेलको तल ठुलो हल थियो जहाँ कोही नहुने र शान्त भएकाले खाना खाएर प्रायः हामी त्यहीँ बस्ने गथ्र्यौं । एक साँझ उनी मेरो नजिक आएर मेरो कुममा टाउको राखी एक्कासि रुन थालिन् । मैले उनलाई अँगालोको सहारा दिएँ ।

“दीपक, मलाई अब तिमीबाट टाढा बस्नु छैन । अब म हाम्रो सम्बन्धलाई एउटा मीठो सम्बन्ध श्रीमान् श्रीमतीको नाम दिएर चिनाउन चाहन्छु ।” उनी रोइदिन्छिन् ।

म उनका कुरा सुनिरहन्छु । भियतनामी केटाहरूको झुण्डलाई तितरबितर पार्न सक्ने लक्ष्मीको रुवाइलाई महसुस गरिदिन्छु । लाग्न थाल्छ, बिछोडको डरले उनलाई पनि काँतर तुल्याइदिएछ । उनका आँखाबाट आँसु झरिरहेकै छ । एक हुल चाइनिज केटाहरूको आवाजले हलको शान्तिलाई बिथोलिदिएको छ ।

“म पर्सि आफ्नो देश फर्किँदै छु ।” भन्ने वाक्यले एक किसिमको खिन्नता पैदा गर्छ । थाहा छैन, उनी जाने खबरले आक्रान्त म, उनी गएपछि के हुन्छु ?

“भिसा एक्स्टेन्ड गरेर, यतै बसे हुँदैन ?” मैले भावुकतावश बोलिदिएँ ।

“यो देश मेरो होइन र म को छ भनेर बस्नु यो देशमा ?” उनी जङ्गिइन् ।

“म छु नि, सिङ्गो तिम्रो अगाडि ।” पोखिएँ म ।

तर केही बोलिनन् र उनको मौनताबाट नै प्रस्ट बुझ्न सकिन्थ्यो कि उनले के भन्न खोजिराखेकी थिइन् भनेर । उनको गहिरो भावपूर्ण कालो आँखाले मलाई हेरिरहन्छ ।

कति विवश थिएँ म एउटा लुते कुकुर जस्तै । लक्ष्मीलाई चाहेर पनि रोक्न सकिराखेको थिइनँ ।