अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३२ | Colorodo: 12:47

प्रतिशोध

अर्जुन थापा २०७५ माघ २० गते १०:४४ मा प्रकाशित

डाँडाभित्र लुकेको सूर्य बिस्तारै देखा पर्न थालेको छ । कैयौं रातहरू उसले नाङ्गो आकाशमुनि काटेको छ, गाह्रो–पर्खाल, घरको ठोस रूपभन्दा बाहिर । रातको नीरवता र अन्धकार भयानक बनेर प्रकट भइरहने बितेका रातहरूको तुलनामा यस पटक फरक थियो । उसमा अतिरिक्त साहसको सञ्चार भएजस्तो अनुभव गरिराखेको थियो । के गएको रात उसका लागि माइलस्टोन हुनसक्छ उसको जीवन ?

‘ए निस्सार जीवन ! के मैले तिमीलाई दाउरामा जलाई दिए भयो त ? म यो सम्झूँ कि अब आउने हरेक बिहानीलाई एउटा नयाँ बिहानीको रूपमा ?’ ऊ मनमनै भन्छ ।

अनकन्टार जङ्गलको बिचमा ऊ समेत तीस–पैँतिस जनाको एउटा बटालियन छ । त्यस बटालियनको कमान्डर हो कमल । गएको महिना अर्को एघार जना नयाँ मान्छेको भर्ती भएको छ । जसमध्ये राधा एक हो । हुन त त्यस बटालियनमा अरू महिला नभएका पनि होइनन् तर राधामा जुन विशेषता थियो त्यो अरूमा थिएन ।

गम्भीर स्वभाव, हरेक काममा अगाडि, नयाँ कुरा सिक्न सधैँ आतुर हुने । अनि आएको छोटो समयभित्र आवश्यक सबै तालिम पूरा गरिसकेकी थिइन् राधाले । सबै प्रभावित भएका थिए राधादेखि जसमध्ये कमान्डर कमल पनि एक थियो । आफ्नो कमाण्डरलाई गर्नुपर्ने सेवामा उनी विशेष ध्यान पु¥याउँथिन् । गएको हप्ता युद्धमा कमल सँगसँगै लडाइँमा गएकी थिइन् र उनले आफ्नो साहसी प्रदर्शन गर्न सफल भएकी थिइन् ।

‘कमान्डर कमल, म आफ्नो केही कुरा राख्न भनी यति राती तपाईंकोमा आएको छु । अनुमति दिनुहुन्छ भने ?’ राधा सिधै कमान्डर कमलको पालभित्र छिरेकी थिइन् ।

‘कमरेड राधा के छ भन्नु न ? यति राति त्यस्तो के प¥यो र ?’ ऊ अलिक चनाखो भएर भन्छ ।

‘यो हाम्रो बन्दुक र खुकुरीको भरमा चलेको जिन्दगीको केही भर छैन तर पनि म तपाईँलाई प्रेम गर्छु । तपाईँको नजरमा मेरो के शून्य छ मलाई थाहा छैन तर मेरो लागि तपाईँ अब सबै धोका भइसक्नु भएको छ । अझ हाम्रो पार्टीले प्रेम गर्नुलाई गल्ती ठानेको छैन र दुईतर्फी प्रेम भएमा प्रेम विवाहलाई अनुमति पनि दिएको छ पार्टीले ।’ उनी प्रस्ट आफ्नो धारणा राख्छिन् ।

कमान्डर राधाको आँखामा एक नाशले हेरिरहन्छ । मानौँ ऊसँग केही शब्दहरू नै छैनन् बोल्नलाई ।

‘म तपाईँको जवाफको प्रतीक्षामा छु ।’ भनेर आफ्नो ठाउँतिर जान्छिन् ।

हुन त कमान्डर कमलले उनी त्यस बटालियनमा प्रवेश गरेदेखि नै सुटुक्क मनको कुनामा राखिसकेको हो । त्इसमा चौबिसै घण्टा एउटै बटालियनदेखि लडाइँको मोर्चामा समेत सँगसँगै हुँदा ऊ एकतर्फी माया गर्न थालिसकेको थियो ।

त्यस रातपछि उनीहरू घनिष्ठताको एउटा पर्दा छिचोलेर धेरै नजिक आइसकेका थिए । अब प्रायः उनीहरू सँगसँगै हुन्थे । राती गस्तीदेखि लडाइँमा समेत सँगै हुन्थे ।

अबचाहिँ दुस्मनसँग भिडन्तको बेला उसले राधालाई आफ्नो पछिल्तिर राख्ने गरेको थियो । जुन कुरा अरूहरूले त्यति रुचाइराखेका थिएनन् ।

‘राधा युद्धमा गोली लागि हाले पनि दुस्मनको पहिलो गोली मलाई लागोस् म हुनु जेल तिमीलाई केही नहोस् राधा ।’ उसले राधाको हात समातेर भनेको थियो ।

कैयौँ युद्धहरू लडेर, रगत बगेर मृत्युलाई परिणत मान्छेहरूलाई हेर्न अभ्यस्त भइसकेको कमान्डर, आफूलाई कठोर साहसी ठानेको, देशलाई एउटा नयाँ युगमा परिणत गर्छु भनेर वर्षौँ पहिले सुरु गरेको यात्रामा हिँडेको मान्छे ऊ आज राधाको अगाडि कमजोर भएको छ ।

‘राधा म पार्टीमा हाम्रो प्रेमको कुरा राख्छु र हामी दुवैको प्रेमविवाहको चाहनाको कुरा थाहा भएमा पार्टीबाट जनवादी विवाहको स्वीकृति मिल्छ होला ।’ उसले रमाउँदै भनेको थियो राधालाई ।
राधाले पनि मौन स्वीकृति दिएकी थिइन् ।


कमल सानैदेखि टुहुरो थियो । उसको कोही थिए त मात्र काजीसाब जसको घरमा बसेर ऊ हुर्केको थियो । उनै काजीले मोठमा बस्न र बिहान बेलुका खान दिए बापत उसले आँखा खोलेदेखि रातिको एघार–बाह्र नबजेसम्म हली सरह काममा दलाई राख्थे । उसले कहिल्यै विरोध गरेन काजीको उल्टै एउटा भगवान् सरह पूजा गथ्र्यो । काजीको हरेक गलत काममा ऊ साथ दिन्थ्यो ।

एक रात सबै गाउँलेहरूले उसलाई पिट्दै त्यस गाउँको बिचमा रहेको ठुलो चउरको पिपलको बोटमा बाँधेर आए ।

‘भोलि बिहानै सबै एक एक गरेर जम्मा हुँदै गए । जुन घरले तँ जस्तो टुहुरोलाई सहारा दियो । काजी जस्तो देउताको घरमा तैँलो यस्तो घृणित काम गर्ने । सधैँ आफ्नै छोरा जस्तो गरेर तँ जस्तो तल्लो जातलाई घरमा ल्याएर यत्रो लाठे बनाए आज उनैको बुहारीलेलाई बलात्कार गर्ने आँट गरिस् ।’ त्यस भिडमध्येबाट कोही कराउँछ ।

‘भन् कहिलेदेखि यस्तो घृणित कार्य गर्दै आइस् ?’ कसैले भिडको बिचबाट चिच्यायो ।

‘अब, त्यो पेटमा भएको बच्चाको जिम्मा कसले लिने ?’ अर्कोले चिच्यायो । भिडले हो हो भनेर समर्थन जनायो ।

कमल केही सोच्न सकिराखेको थिएन । कामी र उनको बुहारीको अनुहार उसको आँखामा अगाडि टक्क अडियो । कैयौँपल्ट काजीले उनकै बुहारी नुहाउँदै गर्दा लुकेर चियाएको, राती लुकेर उनको बुहारीको कोठामा छिरेको कहाँ नदेखेको हो र कमलेले तर पनि ऊ मजबुर थियो । केही विरोध गर्थे । कामीको बुहारीले गोठ पछाडि गएर मुखमा कपडा कोचेर रोएकी पनि धेरै पटक देखेको थियो कमलले तर जब काजीको कुरा

आउने बित्तिकै ऊ चुप हुन्थ्यौ । मानौँ उसले आँखामा पट्टि बाँधेर बसेको होस् ।

ऊ अझै चुप छ । उसलाई विरोध गर्न मन पनि छैन जुन कुराको दोष लगाइएको छ । उसले यो उमेरसम्म आइपुग्दा कसैको माया भन्ने पाएको थिएन । सबैले विभिन्न नामले उसलाई जिस्काउँदा गाली गर्दा पनि ऊ सही रहन्थ्यो, उसकै काजीसाबको घरमा पनि उसलाई पालेको कुकुर सरी व्यवहार गर्दा समेत उसले कहिल्यै केही भनेनन् तर आज जुन आक्षेप उसमा लगाइएको छ त्यो पनि उसकै भगवान् सरह काजीसाबबाट त्यसले ऊ मर्माहत भएको छ ।

अनायास ऊभित्र एक प्रकारको वितृष्णा जागेर आउँछ । जीवनदेखि तिक्तता भरिएर आउँछ अनि रोइरहेको ती काजीको बुहारीको अनुहार र उनले जीवनको भिख मागिरहेको आकृति कमलको आँखामा उत्रिरहन्छ । उसलाई जीवनको मोहभंग भएको आभास भयो र आत्महत्या गर्ने विचार प्रबल भएर आउँछ । खोइ के भयो उसलाई एकैछिनमा, ऊ भएभरको बल लगाएर चिच्याउँछ र डोरीलाई चुँड्याएर पहराको खोँचमा हाम फाल्छ । त्यहाँ उपस्थित भएका गाउँलेहरू अचम्मित भएर उसलाई नै हेरिरहन्छन् ।


राधाको आगमनले उसलाई जीवनप्रतिको मोह जागेर आएको छ । राधाको साथमा ऊ एउटा संसार बनाउन चाहेको छ । उनको छायामा उनीसँगै एक मन शरीर भएर बिलाउन, हराउन चाहेको थियो । ऊ समावेश हुन चाहन्छ उनको शरीरमा र आत्मामा । प्रेम भन्ने शब्दको अर्थ थाहा नभएको उसलाई अब प्रेममा डुबुल्की मार्न चाहन्थ्यो । सधैँ अरूको घृणा, तिरस्कार र कटु वचन बाहेक केही नपाएको उसले एक्कासि राधाको ममता र स्नेहका धाराहरू प्रवाहित भएको पाउँदा अब ऊ पहिलाको शत्रु र शोषक भन्नेहरूलाई घाँटी रेटी रेटी मार्दा मार्दा कसाईको जस्तो कठोर बनेको उसको मन आजै प्रेमिल बनेको प्रतीत हुन्छ ऊ आफैँलाई ।

‘हाम्रो जनवादी विवाहको स्वीकृति भयो पार्टीबाट ।’ ऊ रमाउँदै राधालाई सुनाउँछ ।

‘कमान्डर कमल भोलि राती नै दुस्मनको ब्यारेक ध्वस्त पारेर पार्टीको झन्डा फर्फराउन हाई कमाण्डरबाट आदेश आएको छ । हामीलाई साथ दिन थप तीन बटालियन पनि आजै राती आउँदै छन् थप हातहतियारका साथमा ।’ दुब्लो छापामारले आफ्नो कुरा राखेर गयो ।

एक्कासि माहौल फरक भयो । ऊ कति खुसी भएर राधाको प्रतिक्रिया सुन्न चाहेको थियो तर अहिले सबै आआफ्नो हातहतियारलाई भोलिका लागि तयार गर्न लागेका छन् ।

ऊ आकाशतिर हेर्छ । आकाशभरि छरिएर बसेका ताराहरूलाई हेर्छ । उसका अनुहारका प्रतिबिम्बहरूले यो प्रस्ट हुन्छ कि ऊभित्रका पीडा र अनिश्चित भविष्यको भयले ऊ जलिरहेको छ । ऊ अब उसका बन्दुकलाई सदाका लागि थन्काउन चाहन्छु र एउटा छुट्टै दुनियाँमा राधासँग रमाउन चाहन्छ ।

‘कमल भोलिको लडाइँ हाम्रो लागि विशेष हुनेछ । भोलि म तिम्रो पछाडि नबसी तिमी सँगसँगै बसेर हाम्रा दुस्मनहरूलाई पराजित गर्न चाहन्छु । जस अनुसार मैले एउटा योजना पनि बनाएको छु जुन तिमीलाई भोलि नै भन्ने छु ।’ राधाले भनिरहँदा ऊ राधामा खुसीको तरङ्गहरू देख्यो किन हो उसलाई आज लडाइँको लागि कुनै इच्छा नै छैन । भर्खर राधाले आज राती लडाइँको योजनाको विवरणको कागज उसको हातमा थमाउँछे । जस अनुसार ठिक रातको बाह्र बजे सबैले एकै पटक फायरिङ गर्दै अगाडि बढ्ने । जब बिस्तारै दुस्मनहरू कमजोर हुँदै जान्छन् ऊ र राधा पछाडिबाट ब्यारेकभित्र पसेर दुस्मनका हातहतियारलाई कब्जा गर्ने । सबै राधाको योजना अनुसार नै हुँदै जान्छ । गोली बारुदको आवाजले वातावरण त्रासपूर्ण बनेको छ ।

‘लौ लौ त्यो ढल्यो । त्यसलाई नछोड, त्यसको घाँटी छिना’ भनेको आवाज आइरहेको छ ।

ऊ र राधा बिस्तारै अगाडि बढ्दै छन् । सुकेको पत्करहरूमा उनीहरूले पदचापबाट निक्लिएको आवाज प्रस्ट सुनिरहेको छ ।

ड्वांग बन्दुक पड्केको आवाज आउँछ । कमल बेस्सरी भुइँमा ढल्छ । उसको तिघ्रामा गोली लागेको छ ।

‘राधा यो के गरेकी तिमीले ? किन राधा किन ?’ ऊ चिच्याउँछ ।

राधा कमललाई बन्दुक तेस्र्याएर बसेकी हुन्छे । उनको अनुहार एक प्रकारको प्रतिशोधको भावना प्रस्ट देखा परिराखेको हुन्छ ।

‘मेरो निर्दोष पतिले तिमीहरूले के बिगारेका थिए र त्यस्तो बीभत्स मृत्यु दियौ । याद गर कति भिख मागेका थिए मेरो लोग्नेले तिम्रो । यसरी नै राती आएका थियौ तिमीहरू र एउटा खम्बामा लगेर बाँधेर कुटी कुटी हत्या गरेको थियो ।’ उनी भन्दै अर्को गोली कमलको अर्को तिघ्रामा हान्छे ।

‘हो राधा म पापी हो । एउटा नेपाली अर्को नेपालीलाई मार्ने युद्धमा म होमिएको थिएँ । जसको सजाएँ मैले पाउनु नै पर्छ । मलाई आज मर्नलाई पटक्कै डर छैन किनकि म तिम्रो हातबाट मर्दैछु । मलाई आज कुनै गुनासो छैन तिमीसँग राधा । मलाई तिमीले थोरै समयको लागि सही । म जस्तोलाई माया, प्रेमको परिभाषा सिकायौ । मैले कैयौँ आफ्नै नेपाली दाजुभाइहरूको हत्या गरेको छु जसको सजाएँ मैले पाउनु नै पर्छ राधा । म तिम्रो हातबाट मर्न चाहन्छु राधा ।’ ऊ गोली लागेको दुवै खुट्टा घिसार्दै झन् राधाको नजिक जान्छ र मृत्युको भिख माग्न थाल्छ ।

राधा अब बन्दुक पछाडि भिरेर, कम्मरबाट खुकुरी निकाली र कमलको …. ।