अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

फेब्रूवरी फिभर ( February fever day ) डे के हो ?

डा. दुर्गा दाहाल, “अनुभव”

डा. दुर्गा दाहाल, “अनुभव” २०७५ माघ २२ गते ७:५२ मा प्रकाशित

( A very fantabulous happy Valentine’s day to all of you )

* हरेक वर्षको फ़रवरी १४ तारिखका दिन यो दिनलाई “ प्रेम दिवस “ अर्थात् “प्रणय दिवस” का रूपमा मनाइने गरिन्छ । अमेरिका, युरोप र अस्ट्रेलियामा विशेष रूपमा मनाइने यो दिवस हिजोआज विश्व भरिनै मनाइन्छ भने नेपाल पनि प्रेमको मामलामा किन पो पछि पर्थ्यो र ?

पृष्ठभूमि:
तेस्रो शताब्दीको कुरा हो । रोम साम्राज्यमा राजा क्लडियस द्वितीयले राज्य गर्थे । उनी युद्धपिपासु र दंभी प्रवृत्तिका राजा थिए । आफ्नो शासनकालमा उन्ले एउटा कठोर किसिमको सैन्य क़ानून पारित गरे जस अनुसार सेनामा भएका नागरिकहरूले विवाह गर्न नपाउने र विवाहित नागरिकले सेनामा भर्ती हुन नपाउने निषेधाज्ञा जारी भयो । फलस्वरूप सेनाहरूमा नैराश्यको भावना पैदा भयो ।

राजाको मान्यता के थियो भने विवाहितहरू सेनामा भएको बखत पनि घर परिवारकै यादमा हुन्छन्, उनीहरूलाई छुट्टी पनि धेरै चाहिन्छ र विवाह गरे पश्चात् वीर्य नाश भई लड्ने क्षमतामा पनि कमी आउँछ । अतः: सेनामा भर्ती भएपछि विवाह गर्न नपाउने र विवाह गरेका हरूले सेनामा भर्ती हुन नपाउने कडा क़ानून बन्यो ।

यसै बिच उन्को सेनामा भ्यालेन्टाइन(Valentine) नाम गरेका एक जना क्रिश्चियन पादरी (पुरोहित) रहेछन् ।उन्ले गोप्यरूपमा सेनाहरूको विवाह गरी दिँदा रहेछन्। सेनाभित्र र बाहिर पनि यसरी विवाह गरी दिएर उन्ले प्रेमीहरूको उद्धार गरी दिँदा रहेछन् । यो रहस्य थाहा पाए पछि राजा क्रुद्ध भएर भेलेन्टाईनलाई कारागारमा जाकि दिएछन् र फाँसी दिने भएछन्।

मृत्युदण्डको मिति तोकिनु पूर्व नै भ्यालेन्टाइन आफै पनि कारागारमै रहेका बेला जेलरकी छोरीको प्रेममा फँसेछन । यद्यपि जेलरकी छोरी अन्धी थिइन तर पनि उनीहरूका बिचमा गहिरो प्रेम पलाएछ । जेलमा उनीसँग प्रेमिकालाई दिने कुनै उपहार थिएन न त प्रेमपत्र लेख्ने क़लमनै थियो । आफ्नी प्रेमिकालाई गुमाउनु परेको पीडामा मृत्युदण्ड पाउने अघिल्लो दिन उन्ले एउटा कविता लेख्ने सुर कसेछन् तर साथमा कलम अथवा अन्य कुनै औजार रहेनछ । अन्ततोगत्वा, सेतो फुल फुल्ने एउटा बैजनी बिरुवा (violet flower ) टिपेर त्यसको रसले औँलाको प्रयोग गरेर प्रेमपत्र लेखेछन् कवितामा र त्यो प्रेमपत्र पढ्ने प्रयास गर्दा गर्दै ती अन्धी प्रेमिकाका आँखा खुलेछन् र त्यो पवित्र प्रेम महान् भएछ भन्ने रोचक प्रसङ्ग पनि पाइन्छ ।कविता कोरेर पत्रको अन्त्यमा उन्ले लेखेका रहेछन्:

From your Valentine
मृत्युदण्ड त दिइयो तर उन्को प्रेमप्रसंग प्रख्यात भयो त्यसै बेला देखि इतिहासमा र अहिले त झन् यसलाई फेब्रूवरी फिभर डे February Fever Day अर्थात् भ्यालेन्टाइन डे (Valentine’s Day ) का रूपमा यत्र, तत्र सर्वत्र मनाइन्छ ।

भेलेन्टाईनको मृत्यु पश्चात् क्याथोलिक धर्मावलम्बी हरूले पछि गएर यो विशेष दिनलाई चाडका रूपमा मनाउन थालेछन् । यही दिन अर्थात् फ़रवरी १४ मा उन्लाई मृत्यु दिएको हुनाले उन्को पवित्र प्रेमको सम्मानमा विशेष गरी युवा- युवती हरूले र प्रेमका पारखी हरूले यो दिन विशेष उत्साहका साथ मनाउने गर्छन्। स्मरण रहोस्: यही महिनाको १४ तारिख देखि प्रेम चराहरू पनि एकापसमा भेट्ने र प्रेमालाप गर्ने गर्छन् भन्ने विश्वास गरिन्छ ।

* प्रेम के हो त ? किन एकापसमा प्रेम हुन्छ ?

“प्रेम” केवल एउटा शब्द मात्रै हैन अपितु संजीवनी हो । यो यस्तो एउटा पवित्र शब्द हो जसको सम्पूर्ण अर्थ बुझ्न सके जीवन निर्मल हुन्छ । प्रेम स्वतः:स्फूर्त हुन्छ । यो मनमा पलाउने कृया र प्रतिक्रिया हो जुन व्यक्तिको मनोविज्ञानसँग सम्बन्धित हुन्छ ।

प्रेम एउटा अद्भुत अनुभव हो । यो आत्मीयता, पवित्रता, प्रतिबद्धता, लगनशीलता र निरन्तरतामा पलाउने र हुर्किने तत्त्व हो । प्रेमभावले मानव मस्तिष्कमा Endorphin नामक एउटा हॉर्मोनतत्व पैदा गराउँछ ।
फलस्वरूप उ खुसी हुन्छ र अरूलाई पनि प्रेमभावले खुसी तुल्याउने प्रयत्न गर्छ । यसको नियमित प्रयोगले जीवनमा ऊर्जा, सकारात्मकता र गतिशीलता ल्याउँछ । एउटा व्यक्तिको जीवनमा प्रेमरसले विस्मयकारी परिवर्तन ल्याउन सक्छ ।

आश्चर्य मान्नु पर्दैन तर कटु सत्य के हो भने प्रेमको अभावमा एउटा व्यक्तिले आत्महत्या गर्ने प्रबल सम्भावना हुन्छ भने जीवन समाप्त गर्ने निर्णयमा पुगेको अर्को व्यक्ति प्रेमको पुकारमा अर्थात् कसैले प्रेम गर्छु भन्यो भने त्यो निर्णय परिवर्तन पनि गर्न सक्छ । प्रेमको ठुलो महत्त्व र भूमिका हुन्छ ।

प्रेम “आशीर्वाद “ हो । तर यो अनुभूतिलाई उपयुक्त समयमा, उपयुक्त पात्रका निम्ति , उपयुक्त ढङ्गले निश्चित प्रयोजनका निम्ति सदुपयोग गर्नु पर्छ; दुरुपयोग गरियो भने अभिशाप बन्छ । टयसमा सौदा बाजी, सर्त, सीमा र परिधि हुँदैन ! जात, धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय, उमेर, धन/ दौलत र भूगोल आदि विविध सङ्कीर्ण सीमाहरू नाघेर एउटा सुन्दर संसारको परिकल्पनामा यो “ प्रेम” भन्ने पवित्र शब्दले आफ्नो साम्राज्य विस्तार गर्छ र नवसंचार गर्छ सम्बन्धित व्यक्तिहरूमा । यो निराकार हुन्छ र निःशब्द पनि हुन सक्छ तर कालान्तर सम्म जीवित हुन्छ । उदाहरणको निम्ति “कृष्ण लीला” नै पर्याप्त छ । आज पनि कृष्णलीलाको महिमा जन- जन, मन-मन र पवनमा समेत मिसिएको छ र एक जना पवित्र प्रेमका उपासकले स्वार्थरहित प्रेमकृडा मार्फत सोह्र सय गोपिनीको मठमन्दिरमा बास गर्न सफल भएका थिए र गोपिनी हरू पनि एकापसमा खुसी थिए ।

कसैले पनि कसैलाई प्रेम गर्न सक्छ तर त्यसमा वासना, चाहना,र काया मिसिएको हुनु हुँदैन ।
हुन्छ त केवल तृष्णा ! पवित्र प्रेम प्रतिको तृष्णा । अधिकांश मानिसहरूले प्रेमलाई यौनसँग जोडेर हेर्छन् जुन सर्वथा गलत छ ! प्रेम र यौन दुईवटा छुट्टै विषय हुन । प्रेममा यौन मिसिनै पर्छ भन्ने छैन र मिसिए पछि सम्बन्ध बिग्रिने प्रबल सम्भावना पनि रहन्छ यदि त्यो प्रेम प्राकृतिक नभएर कृत्रिम र अस्थायी प्रकृतिको रहेछ भने ।

वास्तविक प्रेम देह/ शरीरसँग नभएर आत्मा, विचार, भावना र उसको मनोवृत्तिसँग हुन्छ । प्रेमले व्यक्तिको जीवनमा ठुलो सकारात्मक परिवर्तन ल्याउन सक्छ । देहसँगको मात्रै प्रेम क्षणिक, उत्ताउलो र अस्थायी प्रकृतिको मात्रै हुन्छ भने आत्मा, भावना, विचार र जीवनदर्शन सँग सम्बन्धित र उत्सर्गित प्रेम सजीव, अमर र दीर्घकालीन हुन्छ ! स्वार्थसँग जोडिएको प्रेम खहरे खोलो जस्तो हुन्छ भने प्राकृतिक प्रेम निर्मल गङ्गा र विशाल झर्ना जस्तो हुन्छ ।

वास्तविक प्रेम नि:स्वार्थ, चिरस्थायी र निश्चल हुन्छ । प्रेम एउटा अन्तर्निहित भावना र उद्वेलित अनुभव हो। यो आफै अकस्मात पलाउँछ र हुर्किँदै जान्छ तर यसलाई हुर्काउन मल-जल र गोडमेल गर्नु पर्छ । अर्थात् सद्गुण हरूले मलजल र बद्गुणहरूलाई आफ्नो जीवनबाट फाल्दै जानु पर्छ !

सच्चाप्रेम निरपेक्ष हुन्छ । सच्चा प्रेमीले कुनै एक व्यक्ति विशेषलाई माया गर्दैमा अरूलाई घृणा कहिल्यै कदापि गर्दैन ।शारीरिक, मानसिक, आवेगिक र आध्यात्मिक तवरले स्वस्थ एउटा व्यक्तिले संसारमा भएका सबै प्राणी हरूलाई (मानिसको त कुरै भएन )माया गर्छ र गर्नु पर्छ । सबैप्रति माया हुनु एउटा उच्च मानवीय गुण हो । प्रेमपूर्ण व्यक्तिले कसैबाट कुनै कुराको अपेक्षा गर्दैन परन्तु सबै प्रति सम भाव, स्नेह र आदर भाव राख्छ ! उक्त व्यक्तिले सदैव कल्याणकारी भाव र स्वभावमा ममता र समताको बीज छर्दै आफू पनि सदैव आनन्दित र प्रफुल्लित हुने प्रयत्न गर्छ र अरूको जीवनमा पनि आशाको दियो बालिदिन्छ ।

* प्राकृतिक प्रेम कोसँग कसरी पलाउँछ त ?
सबैभन्दा पहिले मन मिल्नु पर्छ ! मन अमूर्त हुन्छ । एउटाको मनमा तरंगित भएका विचार, भावना र अनुभूतिहरू अर्काको मनमा भएका सुप्त विचार र कनिका हरूसँग मेल खाएर भित्रभित्रै उद्वेलित र प्रखर भएर आए र निरन्तर अङ्कुरित हुँदै गए भने प्रेम पलाएछ भन्न सकिन्छ। कसैले भेट गराई दिएर अथवा देखाई दिएर प्रेम हुँदैन । त्यसैले समय चाहिन्छ र संवाद गर्नु पर्छ । संवाद बिनाको प्रेम र प्रेम बिनाको संवाद निरस र निरर्थक हुन्छ ।

यो “प्रेम “ भन्ने विषय विशाल र अनन्त छ । विश्वका प्रख्यात साहित्यकार हरूले यस विषयमा अनेक गीत, कविता, निबन्ध, उपन्यास, ग़ज़ल, मुक्तक, काव्य, महाकाव्य लेखी सकेका छन्, लेख्तैछन र परन्तुमा पनि लेख्ने छन् । यसको महिमा अपरम्पार छ ।

सङ्कुचित र स्वार्थयुक्त प्रेमको कुरा गर्नु समयको बर्बादी र निरर्थक भएकाले यहाँ लेखिन । भुक्तभोगी पाठक हरूसँग आ-आफ्नै अनुभव हरू नै पर्याप्त होलान् भन्ने हेतुले केवल हिन्दी साहित्यका धुरन्धर कवि कबीरदासको एउटा दोहा मार्फत यो लेखलाई बिट मारेँ ।

“ पोथी पढी पढी जग मुवा, पण्डित भया न कोय
ढाई अक्षर प्रेम का पढे सो पण्डित होय ।।”

शब्दार्थ : पोथी (पुस्तक) जग ( संसार ) मुवा (मरे) ढाई (अढाई) पण्डित (विद्वान)

(अर्थात्, यो संसारमा भारी-भारी किताप पढेर धेरैले डिग्री त लिए र मरेर पनि गए तर विद्वान हुन सकेनन् । भन्नुको तात्पर्य जसले “ प्रेम “ भन्ने
अढाई शब्दको महिमा र गुढ अर्थ बुझ्न सक्छ, त्यसले मात्रै संसार चिन्छ, आफू आनन्दित हुन्छ र अरूलाई पनि प्रेम भाव र स्नेहले सिंचित गर्न सक्छ ।

( प्रा. डा. अङ्ग्रेजी साहित्यका प्राध्यापक र अनुसन्धाता हुनुहुन्छ )