अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

कर्णालीको लोक संस्कृति दलित समुदायले बचाई दिएका छन्: लेखक रिजाल

बिआरटीनेपाल २०८१ वैशाख ११ गते १७:४७ मा प्रकाशित

सुर्खेत । लेखक ओम रिजालले कर्णालीको लोक गीत र लोक साहित्य यहाँका दलित समुदायले बचाएको बताएका छन्। कर्णाली लिट्रेचर फेस्टिभलको ‘किन लेख्ने, किन पढ्ने’ बहस सत्रमा वक्ताका रूपमा बोल्दै उनले कर्णालीको लोक गीत र साहित्य यहाँका दलित तथा दलित समुदायभित्रका दमाई जातीले बचाई दिएको बताए। यदि यहाँका दलित समुदायले आफ्नो संस्कृति छोडेको खण्डमा कर्णालीको संस्कृति पनि हराउने उनले बताए ।

‘कुनै बेला गाउँमा साँझपख सबै परिवार जोडिएर बस्ने अनि बुबाआमाहरुले कथाहरू सुनाउने चलन थियो, यसले पछिल्लो पुस्तालाई ज्ञान बाँड्ने काम गर्थ्यो,’ उनले भने, ‘तर अहिले सामाजिक सञ्जालमा मानिसको ध्यान छ, सांस्कृतिक रूपमा हामीले धेरै राम्रा कुराहरू छोड्दै गएका छौँ।’
रिजालले ‘रुँदै बग्दो छ मुगु कर्णाली’, ‘हटारु’ जस्ता कर्णालीका विषय समेटिएका पुस्तक लेखेका छन्।

‘म विगतदेखि नै कर्णाली पढिरहेको छु, लेखिरहेको पनि छु,’ रिजालले भने, ‘कर्णालीका लोकगाथाहरू अध्ययन गरिरहेको छु, अब दैलेखको देउलीगढ राज्य र मोरङको एक राज्यबिच भएको लडाइँको बारेमा लेखिरहेको छु।’

उनले पछिल्लो समय पठन संस्कृति नै कमजोर भएको बताए। त्यसमा पनि संस्कृति सम्बन्धी आलेखहरू पढ्ने पाठकको संख्या कम रहेको उनको अनुभव छ । सत्रका वक्ता अर्का लेखक बुद्धीसागरले लेखनलाई गहिरो ढङ्गबाट हेरिनुपर्ने बताए । उक्त सत्रमा लेखक रमेश क्षितिज र बसन्ती शाही पनि वक्ताका रप्मा थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू