अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

कान्छी दिदी पनि बित्नु भयो

राम लामा अविनाशी २०७४ फागुन १५ गते ११:३९ मा प्रकाशित

यो भनाई मेरो होइन । यो भनाई त लस एन्जलस नेपाली समाजका आदरणीय अविभावक मध्यका एक महत्त्वपूर्ण व्यक्तिको हो । यो हरफ सुन्दा सहज लाग्न सक्छ । तर, उहाँको यस भनाइमा गहिरो वियोग भित्र जीवनको बाटोको लम्बाइ घटेको चिन्ता मिस्सिएको महसुस हुन्छ । कान्छी दिदी बित्नु भएको वियोगमा लस एन्जलस बासीहरूको एउटा अतिनै महत्त्वपूर्ण कार्यक्रममा उहाँको सहभागिता भएको देख्न पाइएन ।

यस नेपाली समाजमा केही यस्ता ब्यक्तित्वहरु हुनुहुन्छ जसको उपस्थितिले मात्र पनि समारोहको गहनता बढ्दछ । यस समाजका अगुवाहरुका आड र भरोसाका केन्द्र हुनुहुन्छ उहाँहरू । कहिले काहीँ अगुवाहरुमा अमेरिकी सरकारी तह या अन्य कुनै त्यस्ता माथिल्लो तहमा आफ्नो पहुँच र स्तरको कमी भएको महसुस हुन्छ ।

त्यस्तो असहज बौद्धिक स्तरको मुद्धाहरुको सामना गर्नु पर्दा उहाँहरू अग्रसर भई डटेर सामना गरिदिनु हुन्छ । जसले गर्दा नेपाली समाजको इतिहास लसएन्जलसमा धेरै लामो नभए पनि हामी नेपाली अमेरिकनले आफ्नो दरिलो पहिचान बनाउन सफल भएका छौ । जसको ज्वलन्त उदाहरण हो लसएन्जलसको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरको स्थापना ।

सो मन्दिर स्थापनाको क्रममा सरकारी तथा अन्य झमेलाहरूको निराकरण गर्ने कार्यमा श्री पशुपतिनाथ फाउण्डेसनको सल्लाकारमा रहनु भएका बिद्वान ब्यक्तित्वहरु डटेर खट्नु भएको थियो । समय र सन्दर्भ मिलाएर उहाँहरू सबैलाई समेटेर छुट्टै लेख प्रस्तुत गर्ने कोसिस हुने नै छ । पशुपतिनाथ तथा बुद्ध मन्दिरका मुर्तिहरुमा प्राण प्रतिष्ठा गर्ने शुभ अवसरमा तिनै महत्त्वपूर्ण व्यक्तिहरू मध्य एकको उपस्थिति भएन । करिब एक हजारको संख्यामा नेपाली भक्तजनहरूको उपस्थिति रहेको त्यो उल्लासमय आस्तिक माहोलमा समाजका अविभावक मध्यका एक विद्वानको उपस्थिति नरहनु अवश्य पनि सबैको चासोको विषय हो ।

भोलि पल्ट उहाँलाई मैले फोन सम्पर्क गरेँ । हुन त, यो कार्यक्रमको अघिल्लो दिनमा पनि मैले फोन गरेको थिए । उहाँ आजकल साँझ परे पछि गाडी चलाउन अप्ठ्यारो मान्नु हुन्छ । त्यसैले उहाँलाई पिकअप गर्ने समय निर्क्यौल गर्नको लागि फोन गरेको थिए । तर, फोन उठेन । हुन त, बौद्धिक स्तरका मेरा जिज्ञासा मेटाउँन तथा मलाई केही सर सल्लाह र अर्ती उपदेश जरुरत पर्दा उहाँलाई बेला-बेलामा फोन गरिरहन्थे । उहाँ मेरा लागि सिङ्गो पुस्तकालय हुनुहुन्छ । उहाँको घरमा भएको एक बृहत् पुस्तकालयको समरी चिप्स हो उहाँको दिमाग जस्तो लाग्छ मलाई ।

उहाँका पुस्तकालयका पुस्तक सङ्कलनमा सायदै कुनै विषय र क्षेत्र छुटेका होलान् । मलाई जरुरत पर्ने कुनै ज्ञान तथा सूचना त्यहाँ पुगेर किताब खोजेर पढ्नु भन्दा उहाँलाई नै बताई दिनका लागि अनुरोध गर्ने गरेको छु । उहाँले कहिल्यै पनि मेरो जिज्ञासा निवारण गरिदिन झर्को मान्नु भएन । जसले गर्दा उहाँ प्रतिको आदर सम्मान मेरो भित्री मनको कुनामा सुरक्षित हुनगएको छ । उहाँ हिन्दु र बुद्ध धर्म सम्बन्धी बिग्य भएको हुनाले तत्सम्बन्धी उहाँका राय सल्लाह र सुझावहरू आधिकारिक हुन्छन् भन्ने कुरामा म ढुक्क छु ।

सधैँ उहाँसँगको वार्तालाप पछि एक किसिमको सन्तुष्टी प्राप्त हुन्छ। यो बोधो दिमाग भित्र पनि केही गतिला कुराहरूले बास गरेको अनुभति हुन्छ मलाई । तर, यस पटकको उहाँ सँगको फोन बार्तलापले मेरो सिर देखी पाउ सम्म छुट्टै किसिमको तरङ्ग पैदा गरायो । जुन तरङ्ग भित्र जिन्दगीका अनेक पाटाहरू रुमलाई रहे । अनेकौँ सुनाईं, देखाई र भोगाइले आर्जेका अनुभवहरू पनि सबै-सबै अस्तु बनेको भौतिक शरीर सँगै सेलाइदो रहेछ । जसरी उहाँकी प्यारी दिदी सुष्मा सिम्खडाको अस्तु सेलाईयो । यस्तो दुखद घडीमा अरू कुनै जति सुकै महत्त्वपूर्ण समारोह भए पनि उपस्थित हुन नसक्नु स्वाभाविकै हो ।

सधैँ किताबका आदर्श, प्रकृति र विज्ञानका कुराहरूमा मलाई शिक्षित गराउनु हुन्थ्यो । तर, यस पटक अलि छुट्टै प्रकृतिको कुरा गर्नु भयो । जसमा उहाँको जीवनको वास्तविक अध्याय समावेश थियो । उहाँ हुनुहुन्थ्यो अमेरिकाको क्लेरमण्ट युनिभर्सिटीका प्राध्यापक डा. दीपक सिम्खडा ।

चार जना दाइहरू र दुई जना दिदीहरूले कान्छी दिदी र उहाँलाई पालै-पालो छोडेर परमधाम बास गरेको केही वर्ष बिती सक्यो । उहाँकी कान्छी दिदी र उहाँ कान्छो भाइ मात्र बाँकी रहनु भएको थियो आफ्ना जन्मदाता र आफू भन्दा जेठाहरूको सम्झना साटा-साट् गर्नको लागि ।

“एम एस् युनिभर्सिटी अफ बरोडाबाट आधुनिक मुर्तिकलामा डिप्लोमा गर्नुभएको थियो उहांकी दिदीले । तत्पाश्चात नेपालकी एकमात्र महिला मुर्तिकार रहेर जिन्दगीलाई ८० वर्ष सम्म धान्नुभयो । अबिबाहितै रहेर । अनेकौँ विभिन्न पुरस्कार र सम्मानहरूले सम्मानित उहाँको कलामा अब पूर्ण बिराम लागेको छ । बाँकी बचेका एक जना मात्र प्रिय भाइबाट पनि बिलाउनु भयो सदा-सदाका लागि ।

नेपाल जस्तो अविकसित समाजको एक सामान्य परिवारको व्यक्ति अमेरिका जस्तो विकसित र सर्व सक्तिमान देशको प्राध्यापक भई काम गर्दाको खुसी बाट्ने एउटै आमाको कोखको एक अंश एक मात्र दिदी बाँकी हुनुहुन्थ्यो । अब उहाँ पनि भगवानकी प्यारी हुनुभयो । “ एउटी आमाको कोखबाट जन्मेका हामी ८ जना मध्य अब मात्र म बाँकी रहे भन्नु हुन्छ “ डा. सिम्खडा । यो भनाई मेरो कानले सजिलै सुन्न सके पनि उहाँको मन देखि निस्किन चाहिँ पक्कै पनि त्यति सजिलो भएन होला । हेर्दा हेर्दै यो संसारबाट बिलाउनु भएका उहाँका दाजुहरू तथा दिदीहरूको मायालु सम्झनाले उहाँको मन कति बिरक्तिएको होला भन्ने सहज अन्दाज लगाउन सकिन्छ ।

प्रोफेसरलाई यो किताबको कथा मात्र भए पढाउन सहजै हुने थियो । तर, यो कुनै किताबका हरफहरू नभएर आफ्नै वास्तविक जीवनका पछिल्ला पानाहरू श्वासफुर्त रूपमा प्रस्फुटन भई रहेका थिए । सो अवस्थामा अवश्य पनि उहाँलाई सहज नभएको महसुस मैले गरेको छु । हुन त, जीवन र जगत् राम्रो सँग बुझ्नु भएको छ उहाँले । तर आदर्श भन्दा अलि फरक हुँदो रहेछ वास्तविक जिन्दगी ।

आफ्नी कान्छी दिदी लगायत अरू ६ जना दाइ र दिदीहरूको अन्त्यष्टिले उहाँको जीवनमा त्यो सुन्यताले स्पर्श गरेको छ । यध्यपि आफ्नो वैवाहिक जीवनले बनाएको सुन्दर गुंढ भित्र धर्म पत्नी छोरा छोरी, नाति नातिना रमाई रहेका छन् । त्यो बिचमा आफू सुखी देखिएर बाच्नु पर्ने बाध्यता छ । त्यो खुसीको माहोलबाट आफ्ना जन्मदाता लगायत सात जना दाजु र दिदीहरूलाई पालै-पालो कहिल्यै फेरी भेट हुन नपाउने गरी बिदा गरी सक्नु भएको छ । त्यसैले ती पिडाहरूले उहाँको मन चस्कि रहन्छ । तर, सबैको प्यारो कान्छो भाइ डा. दीपक सिम्खडाको सुखद या दु:खद कुनै पनि घटनाले अब अरू सातै जना कसैको पनि मन चस्किने छैन ।

७४ वर्षका आफ्नो प्यारा भाइ डा. दीपक सिम्खडालाई असीम माया गर्ने अर्धाङ्गिनीको अङ्गालोमा छोडेर उहाँकी आदरणीय प्यारी दिदी सुष्मा सिम्खडा स्वर्गे हुनु भयो । परमधाम बासी उहाँकी दिदी सुष्मा सिम्खडा प्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त सिम्खडा परिवारजनमा हार्दिक समबेदना व्यक्त गर्दछु ।