अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

माली

राम लामा अविनाशी २०७६ साउन ४ गते १९:२१ मा प्रकाशित

कल्कलाउँदा बिरुवा हुर्काउने माली
आफू भने खिंङ्रिङ्ग परेको रूख जस्तै छन्
झरी पनि पक्षपाती छ
बिरुवालाई उर्वर बनाई दिन्छ
मालीलाई निथ्रुक्क भिजाई दिन्छ,
झुम्रे बनाई दिन्छ ।

खनी खोस्री मलजल गरी रोप्छन्
उम्रिन्छ, हुर्किन्छन्,
फक्रिन्छन् र फुल्दछन्
भाग्यमानी थुँगाहरू
उत्सवसँगै रमाउँदै मठ मन्दिर पुग्छन्
देवताको शिरमा चढ्छन्
अभागी थुँगाहरू
मलामीसँगै घाट पुग्छन्
लाससँगै जल्दछन् ।

मालीले त्यस्तो विविध भाग्य कहाँ कोरेका हुन र ?
तर भइदिन्छ
माली टोलाउँछन्
एउटै हातले फुलाएका
फूलका थुँगाहरूका

विविध भाग्य,
विविध मूल्य
उनले त एउटै मूल्य खर्चिएका थिए
तप् तप् पसिना
त्यही कुटो, त्यही कोदालो त्यही जार
मात्र एउटै जप
सुन्दर फूल फुलाउने ।

बगैँचामा रङ्गिन फूलहरू लहलहाउँ छन्
ग्राहकहरू आउँछन्
मालिकले मूल्य तोकी बक्सिन्छ
मालिकलाई के वास्ता ?
फूलहरू कहाँ लगिन्छ ? के गरिन्छ ?

ग्राहकलाई सुन्दर फूलको महत्त्व
मालिकलाई सुन्दर पैसाको महत्त्व
महत्त्वमा पनि विविधता
माली हेरी रहन्छन्, सुनी रहन्छन्
केही बेर फेरी टोलाउँछन्,
गहभरि आँसु छचल्काउँदै
मालिकले दिएको
त्यही सर्वेन्ट क्वाटरमा लुरूक्क पस्छन् ।