अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 00:53

पापी मन

राम लामा अविनाशी २०७५ मंसिर १४ गते १५:११ मा प्रकाशित

लघु कथा 

एक अपरिचित ह्याण्ड्सम् एकोहोरो हेरिरहेको छ मलाई शिरदेखि पाउसम्म, साडी र ब्लाउजको बिचमा । स्पष्ट देखिएको नाइटोमा । नाइटोदेखि अलि तल घरी मेरो आँखामा त घरी ओठमा, घरी छातीमा क्वारक्वारती हेरिरह्यो । मेरा शरीरका अङ्ग प्रत्यङ्गमा ऊ लोभिएको छ । कता-कता आफ्नो रूपमा गर्व लाग्यो । अलि अलि अप्ठ्यारो, अनि पछि काउकुती । आज ब्रा लगाउन भुलेछु कि जस्तो लाग्यो । काउकुतीको गति बिस्तारै बिस्तारै बढ्दै गयो ।

अपरिचित नै भए पनि यस्तो ह्याण्ड्समसंग नजिकै गएर मिठो बोल्दैमा के नै बिग्रिएला र जस्तो पनि लाग्यो । फेरी, सिउँदोको सिन्दूर र गलाको मंगलसुत्र सग्सगाउंछन् । हो, म त अरू कसैकी हुँ । मन नै त हो । जति कसे कस्सिन्छ, जति छोड्यो फुस्किन्छ । त्यसैले, आफ्नो मनलाई काबुमा राख्छु । फेरि परस्त्रीप्रतिको उसको गिद्धे नजर सहनु हुँदैन । उसको कुनियतलाई प्रतिकार गर्नुपर्छ । आदि इत्यादि कुराहरू मेरा मनभित्र भुमरी झैँ रुमलिन थाले ।

नजिक गएर गालामा एक चड्कन चडकाई दिउंकी भन्ने सोच्दै थिएँ । उसले “बैनी तपाईँको नाम के हो”? भन्यो । मलाई बैनी भनेको उसको मीठो शब्दले मेरो मनको भुमरी टक्क रोकिन्छ । म अक्मकिएं । मैले जबाफ दिनु अगावै । तपाईँ काटी-कुटी मेरी साहिँली जस्तै । तीन वर्ष भयो बितेको । स्तनको क्यान्सरले । बचाउनलाई मैले हर प्रयत्न गरेँ । तर विफल भयो । मबाट बिलाइन, सदा-सदाका लागि, मलाई एक्लो पारेर ।

स्वामीहरू भन्नु हुन्छ, भौतिक शरीर बिलाए पनि आत्मा अमर हुन्छ । त्यही कुरा पत्याएर उनको आत्मा कसैको शरीरमा भेटिने आशामा छु । धेरै पछि, ठ्याक्कै उनीजस्तै तपाईँ भेटेँ । तपाईँमा उनको आत्मा भए त्यो आत्माले मलाई चिन्छ कि भनेर तपाईँलाई हेरिरहेको । मेरो बैनी आफ्नो पतिदेवलाई धेरै माया गर्नुस् है,मेरी साइँलीले मलाई गरे जस्तै।

उसले भनेको यी शब्द धेरै बेर सम्म मेरो मन मस्तिष्कका छाइरह्यो। थोरै शब्दमा कति धेरै अर्थ लुकेको छ। म घोरिएर त्यही सोच मग्न भए। मेरो मनमा आफ्नो पतिदेवको चित्र छाइरह्यो, उसँग बिताएका २ दर्शक कसरी बिते, कति हाँसेर बिते, कति रोएर बिते, कति भोकै बिते, कति खाएर बिते, कति रात सपना देखेर बिते, कति रात सारा सपना भुलेर बिते, यो बितेका २० वर्षमा कति झरीमा म रुझे, कति न्यानोमा म हराएँ । सायद लेख्नु हो भने यो एउटा कथा होइन, उपन्यास नै बन्छ ।

वास्तवमा मान्छेले हेर्ने भनेको सिउँदोको सिँदुर र गलाको पोते हो । त्यो सम्बन्ध भित्रको दुख सुख भोग्नेलाई मात्र थाहा हुन्छ। हेर्दाहेर्दै म विगतमा चुर्लुम्म डुबेछु,मेरो आँखामा अनायास आँसु आइसकेछन्,त्यो मान्छेलाई पुलुक्क हेरे उ फोनमा व्यस्त थियो । उसलाई के थाहा संसारमा सबै उसको साइँली जस्तै माया बुजेका पत्नी हुँदैनन्, न त सबै भावना बुझ्ने पतिदेव नि हुन्छन् ।

दोबाटोमा अनायास भेटिएको त्यो अपरिचित सँग लामो बहस गर्न मैले चाहिन,अनि अन्तिम पल्ट उ तिर फर्केर पुलुक्क हेरे,अब त्यहाँ ती अर्ती दिने सज्जन पुरुष मात्र थिएनन्, बुवा जाने होइन भन्दै हात समातेर तान्दै थिइन एक कलिली युवती ।