अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 22:00

चार बोतल स्प्राइट र मेरा दुइटा पाहुना

राम लामा अविनाशी २०७५ पुष ७ गते ६:३६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको यसपालिको चुनावको नतिजा आए पश्चात् डाल्लास, टेक्ससमा पदस्थापन कार्यक्रम हुने भयो । नव निर्वाचित अध्यक्ष राधेश्याम लेकालीज्यु र पूर्व सल्लाहकार प्रा. डा खगेन्द्र लुईटेलज्यू नेपालबाट कार्यक्रममा सहभागी हुन आउने हुनुभयो । मिति पनि तय भयो । त्यहाँ कार्यक्रम अवधि भरी उहाँहरूको बस्ने खाने व्यवस्था आयोजक कै रह्यो । उहाँहरूसँगै बस्ने उठ्ने भएकोले होला मैले पनि त्यो सुविधा पाएँ । कार्यक्रम सिद्धिय पछि उहाँहरूको अमेरिकाको बसाई खल्लो नहोस् र समय पनि खेर नजाओस् भन्ने मेरो चासो रह्यो । त्यसैले प्रा.डा. साबसंग सल्लाह गरी अमेरिकाको भ्रमणको समय तालिका तोकियो । त्यो वार्ताको क्रममा मैले मेरो आफ्नो एउटा ठुलो रहर भएको बताएँ । त्यो मेरो अनौठो रहर सुनेर उहाँले हाँस्दै “वाह ! गज्जब” भन्नु भयो । अक्टोबर २-४ अस्टिन, ४-८ सम्म सियाटल/पोर्ट्ल्याण्ड, ९-१३ सम्म कोलोराडो र १४-१८ लस एन्जलस गरी कार्यक्रमको तय गरियो ।

अष्टिनको जिम्मा हेम पाठकज्यूले लिनुभयो । सियाटल र पोर्ट्ल्याण्डका लागि त्यहाँका साउथ एसिया प्यासिफिकसम्बन्धी मामला हेर्ने कमिसनर मोहन गुरुङ दाइले लिनु भयो । कोलोराडोको जिम्मा अनेसासका केन्द्रीय निवर्तमान अध्यक्ष पदम विश्वकर्माजीले लिनु भयो । सो अबरसरमा बिआरटि नेपाल डट कमका कार्यकारी सम्पादक शैलेश पोखरेलजीले एक दिनको डिनरको कार्यक्रम गर्ने हुनु भयो । त्यसपछि पालो आयो लस एन्जलसको । लस एन्जलस वरिपरि उहाहरुले पहिलिनै घुमिसक्नु भएकोले सान्फ्रान्सिस्को लिएर जाने बिचार गरेँ मैले । सान्फ्रान्सिस्कोमा एक रात अनेसास सान्फ्रान्सिस्को च्याप्टरका अध्यक्ष सर्वज्ञ वाग्लेजी कहाँ र अर्को रात साहित्यकार डा. दुर्गा दाहालज्यूको घरमा बस्ने कुराको तय गरियो ।

लस एन्जलसवासी अनेसास केन्द्रका उपाध्यक्षलाई अध्यक्ष र पूर्व सल्लाहकार आउने कुराको जानकारी गराएँ । साथसाथै एयरपोर्टमा लिन जान समेत भने । तर, उहाँ आफू व्यस्त भएकोले जान नसक्ने कुरा बताउनु भयो । अमेरिकामा व्यस्त नहुने को होला र ? जरुरत पर्दा समय निकाल्न नसक्नेले के समाज सेवा गर्छु भन्ने ? उहाँ अनेसासको अमेरिकाको क्षेत्रीय उपाध्यक्ष भएको नाताले अमेरिकामा आउने अन्तर्राष्ट्रिय पाउनहरुको देखभाल गर्न सक्ने सक्षमता उहाँमा हुनु पर्ने होइन र ? तर उहाँले त आफ्नो टोल छिमेकमा आउने आफ्ना अग्रजहरूलाई एयरपोर्टमा लिन जान पनि चासो देखाउनु भएन । बेरोजगार त म पनि थिइन नि । तर मैले त्यो अवधिभर कामबाट छुट्टी मिलाएको थिएँ । अनेसास एल ए च्याप्टरका अध्यक्ष डन कार्कीजीलाई उहाहरुको आगमनको जानकारी गराएँ । साथै क्यालिफोर्निया बसाइको समय तालिकासम्म पनि बताएँ । उहाँ अत्यन्त उत्सुकताका साथ च्याप्टरका पदाधिकारीहरूसँग सल्लाह गरी स्वागत कार्यक्रमको समय तोक्नु भयो ।

दोस्रो पल्ट अनेसासका केन्द्रीय उपाध्यक्षलाई पाउनालाई लिन जानु पर्छ है भन्दा आफू व्यस्तताका कारण जान असमर्थ भएको कुरा डोर्‍याउनु भयो । नवनिर्वाचित आफ्ना अध्यक्ष र आफ्ना पूर्व सल्लाहकारको आगमनमा चासो नदेखाउँदा मेरो दिमाग भित्र अनेक कुराहरू भुमरी झैँ खेल्न थाले । उहाँले आफ्नो कर्तव्यको बोध हुन नसकेको होला भनी एयरपोर्ट लिन जानु अगाडि फेरी भने । तपाईँ उपाध्यक्ष र तपाईँका सिनियरहरू आउँदै हुनुह्न्छ । तपाईँ लिन नजाँदा राम्रो देखिन्छ ? भनी प्रश्न गर्दै तपाईँ हर हालतमा जानै पर्छ भनी अलि कढा मिजासमा भने । “तपाईँ वकिलको जस्तो कुरा गर्नु हुन्छ कसरी व्यापारी हुनु भयो” भन्दै आफू जाने कुरामा सहमति जनाउनु भयो र उहाँ लगायत च्याप्टर अध्यक्ष डन कार्की, बलराम थापा एउटा गाडीमा पुग्नु भयो र म अलि टाढा बस्ने भएकोले छुट्टै गाडीमा पुगेँ ।

एयरपोर्टबाट सिधै उपाध्यक्षको डेरामा गएर खाना खाएर हामी हलिउडको युनिभर्सल स्टुडियो तिर घुम्न निस्कियौँ । साँझ लस एन्जलस च्याप्टरले राखेको स्वागत समारोहमा उपस्थित भइयो । च्याप्टरले आयोजित कार्यक्रम भएकोले अध्यक्ष, उपाध्यक्ष र सचिवले सल्लाह गरी च्याप्टर अध्यक्ष डन कार्कीको सभापतित्वमा कार्यक्रम तय भयो । नवनियुक्त अध्यक्ष भएकोले लेकालीज्युलाई प्रमुख अतिथि र प्रा. डा खगेन्द्र प्रसाद लुइटेल सरलाई र महाबाणियदुतज्यूलाई विशेष अतिथिको रूपमा मञ्चमा आसीन गर्ने व्यवस्था मिलाइयो । तर, कार्यक्रम सुरु गर्दा प्रमुख अतिथि महाबाणिज्यदूत ऋषि ढकालज्यू, अध्यक्ष राधेश्याम लेकालीज्यू र प्रा. डा. लुइटेलज्युलाई विशेष अतिथिमा आसन ग्रहण देखेर अचम्म लाग्यो ।

त्यो साहित्यिक कार्यक्रम भएकोले त्यही क्षेत्रको सबैभन्दा ठुलो मान्छे प्रमुख हुन्छ भन्ने कुरा नबुझ्नेलाई के भन्ने ? हो, त्यो कार्यक्रममा राजदूत हुन्थे भने हामीले सरकारका प्रतिनिधि ठानी महत्त्व दिनु पर्ने हुन्थ्यो । त्यति मात्र होइन अध्यक्षले आसन ग्रहण गरेको सोही मञ्चमा उपाध्यक्षले आसन ग्रहण गर्न जरुरी छ ? एनआरएन आइईसीसी का सदस्यको प्रोटोकल ठुलो हो कि, अमेरिकामा सीमित नेजाको अध्यक्षको ठुलो ? किन एन आर एन आईसिसि सदस्यलाई आसन ग्रहण नगराएर नेजाका अध्यक्षलाई आसन ग्र्हण गराउने प्रयास भयो ?

यस्तो जाबो आसन ग्रहणको कुरामा त आफ्नो हैकम लाद्नेले भोलि पुरस्कारहरू वितरणमा के गर्लान् ? यो कृयाकलापले म अनेसासको सबै भन्दा ठूलो पुरस्कारदाताको नाताले मुटुमा ढ्याङ्ग्रो ठोक्यो । संस्थामा आसीन एक दुइजनाको लिढे बुद्धिका कारण आफ्नो पसिनाको कमाइबाट पुरस्कार स्थापना गर्ने नेपाली साहित्यप्रेमी दाताहरू बिस्तारै एक-एक गरी नबाहिरिएलान भन्न सन्किदिन । आसन ग्रहणसम्बन्धी प्रश्न चिन्ह ठढ्याएररै भए पनि कार्यक्रम भव्य सफल भयो । आयोजक संस्थाका अध्यक्ष डन कार्कीजी लगायत च्याप्टरका पदाधिकारीहरू धन्यवादका पात्र बन्नु भयो ।

भोलिपल्ट, पूर्व घोषित कार्यक्रम अनुसार केही दालमोट, बिस्कुट र काजु बदामका डिब्बा र दुई-दुई बोतल स्प्राइट गाडीमा राखेर हामी फाइभ फ्री वे नर्थ घुइंकियौ । त्यो हुक्याईं सँगै मैले लेखेका गीतहरू घन्की रहेका थिए । अरू गीत त ठिक-ठिकै छन्, तर यो गीत राम्रो लाग्यो फेरी बजाउनुस् त भन्नु भयो डा. साबले । सुनिसकेपछि डा. साबले “यो गीत बजारमा लोक प्रिय हुन्छ बधाई छ “भन्नु भयो । हँ मा हँ मिलाउनु भयो आधा बोतल स्प्राईट सकी सक्नु भएका अध्यक्ष लेकालीज्युले पनि । त्यति ठुला भाषा तथा साहित्यविद् र नेपाली साहित्यका सर्वोच्च ओहोदामा आसीन साहित्यकारले दिएको आश्वासनमा गजक्क फुल्न मन लाग्यो । तर, यो मूल्याङ्कन गराइमा शुद्ध दिमाग मात्र नभएर स्प्राईटको असर पनि छ भनी अलि मनभित्रदेखि ढुक्क चाहिँ हुन लेकालीज्युको आजका दिनसम्मका दिन चैर्यको बारेमा अलि-अलि अन्दाज लगाउन सकिए पनि डा.साबको जिन्दगीको विगत मैले अन्दाज लगाउन सकेको थिइन । त्यसैले अलिकति कोट्टाउने दुस्साहस गरेँ । विद्यार्थी जीवनका दिनहरू प्राय सबैका उस्तै- उस्तै हुने भएता पनि डा. साबको भने अलि फरक खालको रहेछ । सदैव सबैलाई उछिन्ने स्वभाव । यस्ता विज्ञहरूसँगको उठबस अन्य निकै जनासँग भएको भए तापनि यति धेरै खुलेर कुरा गर्ने मौका जुरेको थिएन । घरी कलेजको बेन्चमा बसेर उहाँले पढाई रहेको भान हुन्थ्यो त घरी जीवन र जगतका बारेमा कसैले प्रवचन दिई रहेको जस्तो भान हुन्थ्यो । घरी दुबै जना एक अर्कालाई खलु र राले जस्ता मिठा नामहरूले हानाहान गर्नु हुन्थ्यो । उहाँहरूको आपसमा जस्तो कुरा भए पनि मलाई भने लेकालीजीले नेपाल आउनुस् भागबण्डा गरौँला भन्नु भएको छ । मैले सोधिन, के बाँड्नु हुन्छ भनेर । त्यो पनि समयलाई नै छोडिदिउ ।

दिउसो साहित्यकार तथा पत्रकार सर्वज्ञ वाग्लेजीको घरमा पुगेर मुख हात धोएर प्रेस भइयो र खाजा खाएर डकारियो । दसैँको बेला परेकाले सर्बज्ञजीको घरमा पाकेको खसीको मासुको पक्कुवा र भुटानको स्वादसँगै सोम रस घुटुक्क पार्दाको मज्जै बेग्लै । लाजै नमानी भुटन अरू मागेरै खाएँ । धेरै वर्ष भई सकेको थियो भुटन नखाएको । त्यो मिठो भुटनको स्वाद अहिलेसम्म पनि मेरो जिब्रोमा ताजै छ । बेलुकाको लागि तय भएको साहित्यिक भेटघाटमा सहभागी सान्फ्रान्सिस्को एरियामा बस्ने दिग्गज साहित्यकार र कलाप्रेमीहरूसँग झुम्न पाउँदाको मज्जा फेरि बेग्लै । राती अबेरसम्म बसेर सुतेका हामी बिहानै उठेर खाजा नास्ता गरी सासन्फ्रान्सिस्को पुल, गुगल अफिस आदितिर घुमियो । घरमै फर्केर फेरि खसीको मासु र भात टन्न खाएर डा. दुर्गा दाहालज्यूको निवासतिर लागियो ।

दुर्गा दाहालज्यूको निवास सेक्रामेण्टो पुग्दा त्यहाँ वरिपरिका साहित्यकारहरूको जमघट भइसकेको रहेछ । हतार-हतार गरेर नुहाइ धुवाई गरेर कार्यक्रम स्थलमा ओर्लियो । रचना वाचन्देखि सांस्कृतिक कार्यक्रमसम्मको भव्य कार्यक्रमका पश्चात् हामी केही पाहुनाहरु हामीलाई टुलु-टुलु हेरिरहेका स्वास्थ्यका लागि हानिकारक बोटलहरुतिर हात लम्काइयो । त्यसपछि नशामा वरिष्ठ व्यक्तिहरू आफ्नो विद्यार्थीकालका घटना र क्षणहरूका बारेमा बयान हुन थाले । तैपनि, विद्यार्थीकालका आ-आफ्ना गर्ल फ्रेण्डका बारेमा मुख खोल्ने आँट कसैले गर्नु भएन । डा. दुर्गा दाहालकी म्याडमको सन्कोचले होला भन्ने अन्दाज गरेँ मैले । नत्रत, यो उमेरमा त त्यति झिल्केहरूको बैँस रित्तै त के बित्यो होला र ?

सान्फ्रान्सिस्को र सेक्रामेण्टोका दुवै साहित्यकारहरू र उहाँका परिवारजनहरूको आत्मीयता र आतिथ्यलाई सम्झनाले पोको कस्दै गाडी स्टार्ट गरियो लस एन्जलसका लागि । शुद्ध नास्ता मात्र पेटमा भएकोले होला अति नै ज्ञान गुनका कुराहरू मात्र आधा बाटोसम्म भए । जहाँ अनेसासको स्थापनाकाल देखिका गतिविधिहरू र महत्त्वपूर्ण देन दिनु भएका व्यक्तिहरूको चर्चा परिचर्चा भयो । जसले गर्दा अनेसासको विकासको हर खुड्किलोहरूका बारेमा म जानकार भएँ । अमेरिकाको व्यस्त जिन्दगीमा चार दिन सम्म लगातार भ्रमणमा रहनु मेरा लागि त्यति सजिलो चाहिँ थिएन । तै पनि यति महत्त्वपूर्ण क्षणहरू मेरा लागि मूल्यवान् रहे ।

बाटोबाट फोन गरेर बेलुकासँगै डिनर गर्नु पर्छ है मेरो घरमा भनेर केही साहित्यिक व्यक्तित्वहरूलाई फोन गरी सकेको थिएँ । ८ घण्टाको ड्राईभिङ्ग पार गरी घरमा पुगेर खसीको मासु भुट भाट पारेर सोम रसलाई सितन बनाइयो । काक्रो, मुला गांजर आदि सँगै राखेर मासुलाई सितन बनाइयो । अनेसास एल ए च्याप्टरका अध्यक्ष डन कार्की लगायत अन्य केही साहित्यकारसँग झुम्न सुरु भयो । अन्तमा ओल्स्याङ्ग पल्स्याङ्ग पारेको रायोको साग, कालो दाल र भातसँगै टिमुरको अचारले जिब्रो पड्काइयो ।

अर्को दिन, बिहानै खाली पेट मलिबुको हिन्दु मन्दिरमा पुगियो । जहाँ डा. साब करिब एक वर्ष पहिला पनि पुग्नी भएको थियो । उक्त अवसरमा आफूले गरेको वाचा अनुसार पुजारीहरूका लागि सालीग्रामहरु उपहार पठाउनु भएको थियो । ती सालीग्रामहरुलाई मन्दिरको मूल मूर्तीसँगै राखेर पूजा गर्ने गर्नु भएको रहेछ पुजारीहरूले । उहाँको आगमनमा अत्यन्तै खुसी हुँदै पुजारीले त्यो कुराको जानकारी गराउनु भयो । उहाँको सम्मानमा मन्त्र पढेर स्वस्ति शान्ति पनि गराइ दिनु भयो मूल पुजारीले । त्यसपछि त्यो मन्दिरको डाँडोको टुप्पोबाट समुन्द्र लगायत अति नै मनोरम दृश्य देखिन्छ । त्यो ठाउँमा एक छिन बसी मजा लियौँ र समुन्द्रको छालसंग दुबैजनाले आफ्नो ढुकुरे छाती प्रदर्शन गर्दै डुबुल्की मर्दै मस्ती लिनु भयो । विश्वभरिबाट आएर आफ्ना आकर्षक पेण्टी र ब्रा देखाएर घाम तापेर ज्यान सेकाउने ठाउँ । समुन्द्री छाल भित्र डुब्दै उफ्रँदै गर्ने विश्वमा प्रख्यात शान्तामोनिका बिच । नेपालमा सहजै देख्न नपाइने पेण्टी ब्रा मात्र लगाएकाहरू तिर उहाँहरूको छड्के नजर जानु त्यति नाजायज जस्तो लागेन । उहाँहरूलाई त्यस्तो मनमोहक ठाउँ छोडेर हिँड्न मन त थिएन होला । तैपनि मलाई समुन्द्री हावासँग एलर्जी हुने भएकोले धेरै बेर बस्न चाहिन र घर फर्कियौँ । घरमा आएर विशेष औषधीयुक्त पेय पदार्थलाई ग्लासमा खन्याउँदै आइससँग घोल्दै घुटु-घुटु पारियो खसिको मासुको सितनका साथमा । 

अन्तिम दिनको लन्च घरमै गरी सुट्केस कसकास गरी एअरपोर्टतिर लागियो । एयरपोर्टमा लगेर उहाँहरूलाई भित्र छोडेर उहाँहरूसँग बिताएका ती महत्त्वपूर्ण दिनहरूका मिठा पलका सम्झनाहरूलाई यो मनको भित्री कुनामा सजाएर एक्लै आफैँले लेखेको, शक्ति बल्लभ दाइको सङ्गीत र अन्जु पन्तजीको स्वर रहेको गीत “आफू गयौ नेटो काटी…” सुन्दै फेरि यही एक्लो सुनसान घरको चार दिवार भित्र पसेँ । भोलिपल्ट त्यो फोहोर गाडी धुँदा पो एउटा बोतलमा एक चौथाइ झोल बाँकी रहेछ । बाँकी सबै ३ बोटलका हाईण्डमेड ड्रिन्क्स सबै सिद्धिएछन् । त्यसपछि मात्र पो थाहा भयो १६ घण्टे ड्राईभिङ्ग यात्रा त्यति धेरै रमाइलो हुनुको रहस्य के रहेछ भनेर ।