अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 00:35

गन्तब्य नेपाल २०२० र अमेरिकाका पर्यटन दुतहरु

राम लामा अविनाशी

राम लामा अविनाशी २०७६ भदौ ३ गते १०:४८ मा प्रकाशित

सरकारले नेपाल भ्रमण वर्ष २०२० मा नेपालमा २० लाख बाह्य पर्यटकहरू भित्र्याउने लक्ष राखेको छ । जुन लक्ष पर्यटन वर्ष २०११ को भन्दा दोब्बर हो । अहिले सम्मको आँकडा अनुसार सन् २०१८ मा झन्डै ११ लाख पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए ।

नेपालमा पर्यटन विकासको कुरा गर्दा कमजोर पूर्वाधार नै प्रमुख समस्याका रूपमा रहेको देखिन्छ । यस पछि साधुरो हवाई रुट र महँगो हवाई भाडा पनि नेपालको पर्यटन विकासका अवरोधहरू हुन् ।

प्राकृतिक रुपले पर्यटन विकासका अनगिन्ती सम्भावनाहरु भएर पनि नेपालले पर्यटन क्षेत्रबाट खासै लाभ लिन सकेको छैन । पर्यटन प्रवर्धन, अन्तर्राष्ट्रिय बजारीकरण तथा भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा विभिन्न देशमा कार्यरत नेपालका दूतावास, पर्यटन दूत तथा गैरआवासीय नेपालीहरूसँगको समन्वयात्मक सहकार्य जरुरी छ । तर, भ्रमण वर्ष सुरु हुन अब केही महिना मात्र वाकी रहेको यो अवधिमा त्यस्तो समन्वयात्मक सहकार्यशुरु हुन सकेको देखिँदैन ।

पर्यटन प्रवर्धन र समयानुकूल विकासका सवालमा विश्वका विभिन्न देशमा भए गरिएका प्रयासलाई उदाहरणीय कार्यका रूपमा लिई त्यसबाट हामीले सिक्नु जरुरी छ । विश्वका कतिपय मुलुकले मानव निर्मित संरचनाहरूबाट समेत वार्षिक लाखौँ पर्यटकलाई आकर्षित गरिरहेका छन् तर हाम्रो भने अपार सम्भावना बोकेर पनि १० -२० लाखमा सीमित छौ । 

पर्यटकहरूलाई नै लक्षित गरी अमेरिकाको नभादाको मरुभूमिमा लस भेगास नामको मनोरञ्जन सहरको स्थापना गरियो । जहाँ, बर्सेनि करिब ४० मिलियन पर्यटकहरुले भ्रमण गर्ने गरेका छन् । अस्ट्रेलियाको कुटुम्ब गाउँमा तिन वटा ठिङ्ग ठडिएका पहाडहरूलाई रोप वे ले जोडेर थ्री सिस्टर नाम दिएर पर्यटन स्थल बनाइएको छ । जहाँ बर्से नि करिब ४ मिलियन पर्यटकहरू पुग्ने गरेका छन् । मलेसियाको क्वालालम्पुरको नजिकैको पहाडको टुप्पोमा गेण्टिङ्ग हाईल्याण्ड नामको मनोरञ्जन स्थल बनाइयो । जहाँ बर्सेनि करिब २८ मिलियन पर्यटकहरू जान्छन् ।

यस्ता खाली ठाउँहरूलाई पर्यटकीय क्षेत्रहरूको रूपमा विकास गरेर त मनज्ञ पर्यटक भित्र्याएको यी आँखाले देखेका छन् भने, नेपालमा त प्रकृतीले नै दिएका अनगिन्ती सुन्दर र महत्त्वपूर्ण स्थलहरू छन् । ती सौन्दर्यता भित्र पर्यटन व्यवसाय फस्टाउन सक्ने प्रशस्त सम्भावनाहरू न हुने त कुरै भएन । बाँकी रह्यो, यी सुन्दर ठाउँहरूलाई सुविधा सम्पन्न गराएर विश्व सामु कसरी चिनाउने भन्ने कुरो मात्र ।

हाल, विदेशका विभिन्न कुनामा छरिएर रहेका करिब ५० लाख युवाहरू कुनै विदेशीले “Where are you from ?” भनी सोद्धा गर्वका साथ म नेपालबाट आएको हुँ भन्छन् । प्राय विदेशीले फेरि प्रश्न गर्छन् । “Where is that” विश्वको सर्वोच्च शिखर सगरमाथा र विश्वका शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मेको देशबाट आएको हुँ भन्छन् । केहिले त्यो दुवैको महत्त्व बुझेका हुन्छन् त केहीले दुई मध्य एक । यी दुई महत्त्वपूर्ण र विश्व समुदायको चासोका स्थलहरूको मात्र राम्रोसँग प्रवर्धन गर्न सक्ने हो भने मात्र पनि नेपालमा मनज्ञ पर्यटक भित्रिन सक्छन् । यी भन्दा बाहेक अनगिन्ती सुन्दर प्राकृतिक सौन्दर्ययताले धपक्क बलेका पर्यटकीय स्थलहरू हामीसँग छन् । यसै गरी साहसिक खेलका लागि पनि अहिले नेपाल विश्व सामु प्रसिद्ध छ ।

पर्यटकहरू त नेपालमा धेरै पहिला देखि नै जाने र फर्किने क्रम जारी छ । तर, दोहोरिएर जाने पर्यटकले केही नयाँ पन र नयाँ पर्यटकीय स्थलहरू पाउन सकेका छन् त ? यातायात लगायत बस्ने खाने सुविधामा पहिलाको भन्दा बढी विकास भएको छ त ?

विद्यमान र विकसित पर्यटकीय स्थलहरूको विदेशका बासिन्दाहरूलाई जानकारी दिने उदेस्यले विभिन्न देशका विभिन्न सहरहरूमा नेपाल पर्यटन बोर्डले पर्यटन दूतहरूको नियुक्ति पनि गरेको छ । सो कार्यले पक्का पनि नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी भूमिका खेल्नु पर्ने हो ।

हाल, नेपाल टेलिभिजनमा प्रदीप चपागाईंबाट सञ्चालित गन्तव्य नेपाल २०२० हेर्दा धेरै खुसी लाग्छ । जो जसले परिकल्पना गरेको भएता पनि यो कार्यक्रम समय सान्दर्भिक छ । यसरी नै विभिन्न देशका विभिन्न सहरहरूमा पर्यटन दूतहरूको नियुक्ति पनि देशको पर्यटन विकासको लागि पूरक हुन सक्छ । 

देशको आर्थिक उन्नतिमा मेरुदण्डको रूपमा रहेको पर्यटन व्यवसायको प्रवर्धनको लागि नेपाल भ्रमण वर्ष २०२० घोषणा भए देखिनै मेरो चासो त्यस प्रति बढी रहेको छ । यस्तो उत्साहजनक योजनामा पर्यटन प्रवर्धनका लागि नियुक्त गररिएका पर्यटनदुतहरुले कस्तो भूमिका खेली रहनु भएको होला भन्ने खुल्दुली भयो । तसर्थ, आफ्नै कर्म भूमि अमेरिकामा रहेका पर्यटनदुतहरुसंग सम्पर्क गरे ।

जसमध्ये, क्यालिफोर्नियाको सन्फ्रान्सिस्को सहरका पर्यटन दूत प्रकाश थापाले भन्नु भयो हामी नेपाली- नेपालीको बिच कार्यक्रम गर्ने र नेपालको सुन्दरताको बारेमा भाषण गर्नुको कुनै अर्थ छैन । जति सके बढी विदेशीहरू सम्म नेपालको सुन्दरताको बयान गरी त्यहाँ पुगौँ -पुगौँ लाग्ने गराउन सक्नु पर्छ भन्दै उहाँले दुबईले शाहरुख खान, बेलायतले कट्रिना कपुर र स्विजर ल्याण्डले रणवीर सिंहलाई Tourism Embasador बनाए झैँ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्यक्त्त्वहरुलाई नेपालको बारेमा प्रचार प्रसार गर्ने जिम्मा दिनु पर्छ भन्ने धारणा राख्नु भयो ।

अन्तर्राष्ट्रिय खेल खेल्न जाने खेलाडीहरूलाई एक हातमा नेपालको झन्डा र अर्को हातामा भिजिट नेपाल २०२० लेखेको ब्यानर समाउन लगाउनु पर्ने कुरा उहाँ बताउनु हुन्छ । आधुनिक सामाजिक सञ्जालमा जति सक्दो बढी प्रचार प्रसार गर्न उहाँको जोड छ । आफूले एउटा विशेष समारोहमा अमेरिकाको अध्यक्षकी पूर्व दाबेदार हिलारी क्लिण्टनलाई खादा ओढाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले  त्यहाँ उपस्थित अधिकांश अमेरिकी सर्वसाधारण र पत्रकारहरूका बिच त्यो नेपालको महत्त्वपूर्ण संस्कारको प्रशंसा भएको बताउनु भयो । कहिलेकाहीँ सानो कुरा पनि सही ठाउँमा प्रस्तुत गर्न सकियो भने त्यसले पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठुलो भूमिका खेल्न सक्ने उहाँ बताउनु हुन्छ ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न पर्यटकहरूलाई सम्भव भए सम्म हवाई टिकटमा वा भिसा शुल्कमा केही छुट दिन सकियो भने पनि त्यसले रामो प्रभाव पार्ने उहाँको धारणा छ । पर्यटनको यति बृहत् कार्यक्रम नेपालमा हुँदैछ । नेपालको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा नेपाल भ्रमण वर्ष सचिवालयले पर्यटन दूतका रूपमा आफूसँग कुनै समन्वय नगरेको उहाँ बताउनु हुन्छ । न फोनको उत्तर नै पाइन्छ, न त, इमेलको रिप्लाई नै हुन्छ भनी उहाँले दुखेसो पोख्नु भयो ।

अर्का एटलान्टा सहरका पर्यटन दूत राजा घलेले “नेपालमा अत्यधिक पर्यटक भित्र्याउने उद्देश्यले नेपाल भ्रमण वर्ष मनाउनु राम्रो भए पनि त्यसको पूर्व तयारी भने फितलो देखिएको बताउनु भयो । तयारीको बारेमा नेपालको पर्यटन दुत भएर पनि आफू अनभिज्ञ रहेको उहाँको भनाई थियो । नेपालको पर्यटन मन्त्रालय, विभाग, बोर्ड र भ्रमण वर्ष सचिवालय कसैले पनि आफूसँग आजका मिति सम्म समन्वय नगरेको उहाँ बताउनु हुन्छ । आफैले जानकारी लिँदा खोज्दा पनि पनि कुनै जवाफ नपाएको उहाँ बताउनु हुन्छ ।

सरकारका तर्फबाट कुनै निर्देशन नआएको भए पनि मैल आफ्नो तर्फबाट गर्नु पर्ने काम गरी रहेको उहाँ बताउनु हुन्छ। म नेपाल देश र त्यो देशको कला, संस्कार र संस्कृतिलाई अमेरिकी भूमिमा संवर्धन र प्रवर्धन गर्नु पर्छ भनी लागी परेको मान्छे हुँ । पर्यटन दूत हुनु पूर्व पनि मैले धेरै नेपाली कार्यक्रम र फेष्टिवलहरु गरेर अमेरिकी नागरिकहरूको मन जित्ने प्रयासहरू गरी रहेका थिए । यो मेरो इच्छा शक्ति हिजो जस्तै आज पनि छ र भोलिका दिनहरूमा पनि रहने छ । आफ्नै खर्चले भिजिट नेपाल २०२० ब्यानर बनाएको छु । देशी तथा विदेशीका कुनै पनि सभा समारोहमा मौका पाए भने लगेर टाँस्ने गरेको छु” भन्नू भयो उहाँले ।

अर्का सिकागोका पर्यटन दूत बाला घिमिरेले आफूले करिब १०० विदेशीहरूको उपस्थितिमा गन्तव्य नेपाल सम्बन्धी भव्य कार्यक्रम गरेको र सो कार्यक्रममा दुई जना युएस कङ्ग्रेस म्यान, स्टेट गभर्नर र नेपालका लागि पूर्व राजदूत सम्मको उपस्थिति रहेको थियो । नेपालीहरूका बिच नेपाली नेताहरूलाई खादा माला र आसन ग्रहण र भाषणले नेपालको पर्यटन विकासमा कुनै सहयोग पुग्दैन भन्ने उहाँको धारणा छ । पर्यटकीय महत्त्वका स्थलहरूको विकास र संवर्धन सरकारले गरोस् प्रवर्धनको जिम्मा परदेशमा बस्ने करिब ५० लाख युवाहरूलाई दिए हुन्छ “उहाँले भन्नुभयो ।

अर्का न्युयोर्कका पर्यटन दूत प्रदीप श्रेष्ठले नेपाल सरकारका कर्मचारीहरू नेपालको प्रचार प्रसारको लागि राष्ट्रको ढुकुटी खर्चेर विदेश भ्रमण गर्नु भन्दा विदेशमा रहेका पर्यटन व्यवसायी तथा अनुभवी व्यक्तिहरूलाई परिचालन गर्नु उचित होला भन्नु हुन्छ । तर, सरकार चाहिँ आफूले नियुक्त गरेका पर्यटनदुतहरुसंग पनि समन्वय गर्न सकिरहेको छैन, केही जिम्मेवारी नै न दिने र पर्यटनदुतहरुको जरुरत नै न भएको भए नियुक्त पत्र लेखेर पर्यटन बोर्डले आफ्नो लेटर हेडको मात्र सत्यानाश किन गरेका होला भनी उहाँले प्रश्न गर्नु भयो । 

अर्का लस एन्जलसका पर्यटन दूत रामेश्वर भण्डारीले नेपालको पर्यटन प्रहरीले मोबाइल फोनमा एप बनाएको छ जसले गर्दा पर्यटकहरूले आफ्नो समस्याहरू त्यही एप मार्फत जानकारी गराउन सक्ने व्यवस्था गरेको छ जुन सर्हानीय छ भन्नु भयो । पर्यटन बोर्डले विश्व भरिका नेपाली रेष्टुरेण्टहरुमा विदेशीहरूका लागि नेपाली मौलिक कला झल्कने साना- तिना उपहारहरू मात्र राखिदिने हो भने पनि त्यसले सकारात्मक प्रभाव पर्ने बताउनु हुन्छ । अमेरिकाका स्कुलका डाईभर्सिटी प्रोग्रामहरूमा नेपाल सम्बन्धी बोल्ने मौका दिनको लागि अनुरोध गर्ने र क्षमता बान व्यक्तिले गएर नेपाल जान मन लाग्ने गरी बोल्ने आदि प्रयास नेपालको पर्यटन वृद्धिका लागि फलदायी हुन सक्ने उहाँको धारणा छ ।

अर्का सन्फ्रान्सिस्कोका पर्यटन दूत घन प्रसाद दवाडीले आफ्नो सकृयतामा डेभिसमा गरिएको कार्यक्रममा भिजिट नेपाल २०२० लेखेको ब्यानर लगाइयो । फोटो खिचेर पर्यटन वोर्ड्मा पठाइयो । धन्यवाद सम्म पनि पाइएन भन्नु हुन्छ । एउटै राज्यमा तीन जना पर्यटन दूतको नियुक्ति हुनु दुखद कुरा भएको उहाँको भनाई छ । कहिले काहीँ एउटा कार्यक्रममा दुई जना पर्यटन दूत पुगिन्छ किन भने दुवै जना एउटै सहरमा बस्छौ भनी उहाँले आफ्नो दुखेसो पोख्नु भयो । काम गर्न पाए त धेरै जना हुँदा झन् सजिलो हुन्थ्यो होला । तर, यति ठुलो पर्यटन सम्बन्धी कार्यक्रम नेपालमा हुँदैछ, म यहाँको पर्यटन दूत हुँ तर मलाई केही सूचना सम्म पनि आएको छैन जिम्मेवारीको त कुरै छोडौँ उहाँ भन्नु हुन्छ ।

कोलोराडोकी पर्यटन दूत साबु गदाल कार्कीसँग पटक-पटक फोन तथा म्यासेजमा सम्पर्क गर्न खोज्दा पनि रिप्लाई नआएकोले उहाँको मनसाय यस लेखमा संलग्न गर्न असमर्थ भएँ ।

नेपालका पर्यटन व्यवसायीहरूको आफ्नो किसिमको गुनासो त छ्दैंछ । नेपाल सरकारले आफैले नियुक्ति दिएका पर्यटन दूतहरूको गुनासो पनि अझ चर्को भेटियो । औधोगीक र व्यापारिक भन्दा पनि पर्यटनले देशको विकास द्रुत गतिमा हुन सक्ने सम्भावना नेपालमा प्रबल छ । यो तुलनात्मक हिसाबमा सहज पनि छ। तर, यस क्षेत्रलाई सरकारले पनि सम्मान गर्न नजानेको हो कि !

Mountain Pictures from Google Search