अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३ | Colorodo: 16:08

आज मात्तिन मन लागेको छ

राम लामा अविनाशी

राम लामा अविनाशी २०७६ वैशाख २५ गते ११:१३ मा प्रकाशित

जिन्दगीको अन्तिम गन्तव्यको यात्रामा
संसारिक दोबाटो र गल्लीहरूमा भौँतारिँदा
भाग्यले दिलाएका अनि दशाले टाँसिएका
सबै सबै स्वीकार भए

कति बलि चढे कति फुलपाती
आखिर बदलिएन तकदिर
टेलिभिजन वा रेडियो भए पो मर्मत हुन्थ्यो
मानव जीवन न हो
ग्रह दशा लागे होलान् सिद्धिए होलान्
छाडि दिउ यी अन्ध विश्वासको कुरा

यो देश त्यो देश
आगमन अनि प्रस्थान
नयाँ नयाँ कामको थालनी
फर्छ्योटमा व्यस्तता
बढ्दो काम चडदो उमेर
सम्पन्नता भित्रको खुसीको अभाव
अभावमा तनाव,
तनावमा नसाको चाहाना
केवल नसा त छ नि !
मनलाई बहलाउने
त्यसैले धेरै पिउन मन लागेको छ
एक प्याकको बहानामा अनगिन्ती प्याकहरु !

उनी प्रति व्यक्त हुन बाँकी कुरा
यो मन भित्र सल्वलाएका छन्
भद्र र सभ्य कुरा,
उनीसँग गर्दा गर्दा,
त्यो हँसिलो मुहार
त्यो गठिलो शरीर
मन पर्न थालेको पनि वर्षौँ भयो
सधैँ दिनचर्या र जीवन जगतका कुरा
सबै कुरा मेल खान्छन्,
शरीर त दुई छन् तर मुटु भने एउटै जस्तो
उनका हरेक कुरा मेरो मनका कुरा जस्ता
अव्यक्त समर्थन एक अर्कामा

आज अनायास पिउन मन लागेको छ
यही नसाको सुरमा
उनको त्यो सुन्दर रूपकोमात्र हैन
लामो समय देखि आकर्षित
ती अङ्ग प्रत्यगंको बयान गर्न मन लागेको छ
अनि त्यही जोसमा उनको सुन्दर
जवानीसँग घित्त मर्ने गरी
मात्तिन मन लागेको छ !