अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२६ | Colorodo: 20:41

चिन सरकारको दुई दिन खाएको नुन पनि सुन जस्तो

राम लामा अविनाशी २०७४ पुष १८ गते १२:२७ मा प्रकाशित

म संसारकै सबै भन्दा अविकसित मुलुकमा पर्ने देश नेपालमा हुर्के बढेको मान्छे । निरन्कुस तानाशाही शासन व्यवस्था देखि बहुदलीय प्रजातन्त्रको शासन सम्म बेहोरेको मान्छे । सरकारले आफ्नो कर्तव्य अनुसारको सेवा सुविधा दिने पहल गरेको कहिल्यै पनि देख्न पाईएन । सरकारी ओहोदामा नियुक्त हुनु भनेको जनतालाई अड्को हाल्न पाएको मौका हो भन्ने सोच्ने कर्मचारीहरू भएको देश । त्यो देशमा जीवन असहज ठानी अन्य केही मुलुकहरूमा पाखुरा बजार्दै हाल अमेरिका जस्तो सर्ब शक्तिमान सर्वसम्पन्नताका साथै सिष्टमले चलेको देशको कर दाता बनेको म ।

नत सरकारलाई तिर्नु पर्ने बेलामा चुईक्क बोल्न पाइन्छ नत सरकारबाट पाउनु पर्ने बेलामा चुईक्क बोल्नु नै पर्दछ । प्रतिस्पर्धामा स्वतन्त्र सिद्धान्त अपनाएको यो देश । जसले गर्दा विश्वका उत्पादकहरु अमेरिकालाई मुख्य बजार बनाउंन चाहन्छन् । त्यही अनुरूप मैले व्यवसाय गर्ने सामानहरू चाइनाबाट पनि आउने गर्छन् । त्यही व्यापारकै सिल्सिलामा हाल द्रुत गतिको विकासमा दौडिरहेको देश चाइनाको यस पटकको भ्रमणले एउटा मिठो अनुभव दिलायो ।

उद्योग धन्दा तथा कलकारखाना कुनै हिन्दी सिनेमाहरुमा मात्र देख्न पाउछन् आजकाल नेपालका नयाँ पिँढीले । बुटवल धागो उद्योग , हेटौंडा सिमेण्ट कारखाना, शाही औषधी लिमिटेड, गोरखकाली रबर उद्योग, वीरगन्ज चिनी कारखाना, हेटौंडा कपडा कारखाना आदि राम्रो चल्दा चल्दै पनि बन्द भए । यी उद्योगहरु बन्द हुनुका कारण जान्ने कोशीस कसैले गरेनन् । थाहा पाउने तैँ चुप मैँ चुप भए ।

बानेश्वरका घर तथा टहरामा रात-दिन मसिनहरु चलिरहन्थे कुनै दिन । ती गार्मेन्ट उद्योगहरु पनि साउनको झरी दर्केर विदो भए जसरी काठमाण्डौबाट बिलाए । नेपालमा कोटा फ्री भएका कारण भारतबाट भित्रिएका गार्मेण्ट फ्याक्ट्रीहरु जैसा आया ओईसा ही चला गया । यस्ता लाभदायी उद्योगहरु आफ्नो देशमा टिकाउन आवश्यक पर्ने पहल न त सरकारी तहबाट भयो नत न त व्यवसायीहरुबाट नै ।

हालै, अमेरिकी सरकारले नेपालमा प्रलयकारी महाभुकम्पले ल्याएको विपत्तिमा राहत मिलोस भनी नेपालमा बनेका ७७ क्याटगोरिका सामानहरुलाई अमेरिका भित्र्याउंदा कर छुट्को सुविधा दिएको छ । त्यस्को अधिकतम उपयोग गर्नको लागि नत नेपाल सरकारले पूर्वधार तथा विकासलाई टेवा पुग्ने कुनै सेवा सुविधाको घोषणा गरेको छ । न त उध्योगी व्यवसायीहरुले नै उल्लेखनीय कसरत गरिरहेका छन् ।

त्यो भन्दा पहिला कार्पेट उद्योगहरु थिए । नेपालको बौद्ध, तनहुँको दुलेगौंडा, पोखराको हेम्जामा अवस्थित तिब्बती शरणार्थीहरु थिए । उनीहरूको आय आर्जनको जोहो मिलाउन स्विजरल्याण्डको एक संस्था (SATA)ले सुरु गराई दिएको कार्पेटको उत्पादन युरोपभरीको बजारमा प्रख्यात भयो । श्वयम्भु तथा बौद्ध जोरपाटी तिर तानमा कार्पेट बुन्नेहरु मध्य केही कलीला बाल बालिकाहरुको पनि संग्लग्नता रहेको भेटियो । तीनै बाल मज्दुरको प्रयोगको आरोपमा गलैचा उद्योगहरु बन्द भए । यो समस्या सुल्झाएर काम सुचारु गर्ने पहलमा पनि सरकार र उध्योगी दुवै पक्षको प्रभावकारी रहन सकेन ।

बेलायतकी महारानीले एउटा विशेष समारोहमा नेपालमा बनेको पश्मिना सल ओडेर गएपछि आकर्षण बनेको सलको व्यापारले ख्याती कमायो । पछि नेपालीहरूले बेलायतामा गएर सडक पेटिमा बेच्न थाले पछि यसको बजारनै विश्व बजारबाट बिलायो । यो समस्या सुल्झाउँने पहलमा सरकार नदेखिए पनि उध्योगीहरु बैकल्पिक बजार खोज्न अमेरिकाको ट्रेड सोहरुमा यदा-कदा देखिन्छन् ।

उद्योग व्यवसायका लागि जरुरत पर्ने कच्चा पदार्थ, जनजनशक्ति र प्रविधि मुख्य आबश्यकीय पक्षहरू हुन् । जसले स्तरीय सामान उत्पादन गर्न सम्भव तुल्याउछ । ढुवानीको सुविधा सरकारी सहुलियत तथा सुविधा आदिले मूल्य कटौती गरी विश्व बजारमा मूल्य प्रतिस्पर्धा गर्न सहज बनाउछ । समुन्द्री बन्दरगाह आफ्नो नहुनु नेपालको दुर्भाग्य हो । तर पनि कलकत्ताको सुक्खा बन्दरगाहका कारण हामी सँग उपाय नै छैन भन्न चाहिँ मिल्दैन ।

हामीसँग नभएका कच्चा पदार्थ विश्व बजारबाट ल्याएर पनि त काम गर्न सकिन्छ नि । चाइनासँग पनि फलाम, कटन आदि आफ्नै देशमा प्रयाप्त कहाँ छ र । तैपनि त्यसबाट बन्ने सामानहरू अरू देशले भन्दा सस्तै दिन सकेको छ । प्रसङ्गलाई एक छिन मलेसियासँग जोड्न चाहें । मलेसियामा पाल्म वोईल बाहेक के नै कच्चा पदार्थ छ र । न त दक्ष जनशक्ति नै । आधा भन्दा बढी युवाहरू तरबार र जन्जीर बोकेर हिड्दैमा व्यस्त थिए ।

तत्कालीन प्रहरी प्रमुख आलेक्स अलेक्जेण्डरले आबारा गुण्डाहरुको कपाल मुढ्दै गालामा चढ्कन् हान्दै हिंडेपछी अलि लाइनमा आएका थिए । त्यस्ता जनशक्तिका भरमा मलेसियाले त्यति धेरै प्रगति गरेको होइन । नेपालबाट मात्रै ४ लाख भन्दा बढी युवाहरू त्यहाँको उद्योगहरुको उत्पादनमा व्यस्त छन् । प्रयाप्त जनशक्ति, प्रविधि, मेसिन र औजार तथा कच्चा पदार्थ आफू सँग नभए पनि जापान तथा कोरियाका ठुला-ठुला कम्पनीका प्रोडक्सन युनिटहरु छन् त्यहाँ । जुन, तत्कालीन प्रधानमन्त्री माथिर मुहम्मदको देन हो । सरकारले चाह्यो भने यसरी पनि देशको विकास हुन सक्दो रहेछ भन्ने उदाहरण हो यो ।

नेपाल मै हल्लेर बसेकाहरुको कुरा नगरौं, वैदेशिक रोजगारमा खटिएका मात्र पनि करिब ५० लाख मध्य करिब ३० लाख त श्रमिक नै छन् । नेपालमा रोजगारी खुल्ने हो भने भोलि नै नेपाल फर्किने अवस्थामा छन् । अब रह्यो कच्चा पदार्थको कुरा । विश्व बजारबाट आयात गर्ने उद्योग व्यवसायका कुराहरूलाई एक छिन थाती राखौं । नेपालका जडिबुटीबाट बन्ने उत्पादन, हिमाली भेकमा उत्पादन गर्न सकिने चिया कफी तथा फलफुल, दूध र दूध जन्य उत्पादन आदिमा जोड दिन सके मात्र पनि हरेक दिन हाम्रा युवाहरूले विदेशी भूमिमा प्राण गुमाउनु पर्ने छैन । हरेक रात विदेशीको कब्जामा परी हाम्रा चेली बल्त्क्रित भई आत्मा दाहा गर्नुपर्ने छैन । परदेशमा रगत पसिनासँग साटेर नेपाल पठाएको पैसा नेपालमा बसेकी आफ्नै श्रीमतीले लिएर अर्कै सँग भागेको या वैदेशिक रोजगारमा रहेकी चेलीले नेपालमा बसेका आफ्नै श्रीमानले अर्कै केटीसँग मोज मस्तिमा आफूले कमाएको सबै सिध्याई दिएको पीडा सहनु पर्ने छैन ।

नेपालमा विकासका सम्भाबनाहरुनै नभएको कहाँ हो र । प्राकृतिक सौन्दर्यताको हिसाबले विश्वको तेस्रो र एसियाको पहिलो स्थान ओगटेको देश हो नेपाल । विश्व भरीका प्रतेक सक्षम हिन्दूहरु आफ्नो सास जानु अगाडि दर्शन गर्न लालाहित हुने मान सरोबरको कैलाश र काठ्माण्डौको पशुपतिनाथ मन्दिर भएको देश हो । भगवान् बुद्ध जन्मेको पवित्र स्थल लुम्बिनी अवस्थित छ नेपालमा । बौद्ध धर्मालम्बीहरुको आकर्षण गर्नका लागि भारतले नक्कली लुम्बिनी बनाएको छ । तर नेपालले सक्कली लुम्बिनीलाई पनि सच्चिकै बुद्धजन्मेको ठाउँ यो पो रहेछ जस्तो लाग्ने गरी “बुद्ध वाज बर्न इन नेपाल” भनी आपसमा जुँगा मुसार्नु बाहेक सो क्षेत्रको विकासका लागि के नै सिन्को भांचेको छ र । के यी धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण स्थान होइनन् ?

विश्वको सर्वोच्च शिखर सगरमाथा देखि अनेकौँ माझ्यौला तथा साना हिमाली शृङ्गखला भएको देश नेपाल । त्यसैले, भौतिक पूर्वधारहरुको ठुलो लगानी बिना नै पर्यटनको विकास गर्न सकिन्छ । केवल देशमा शान्ति र सुरक्षाको प्रत्याभुति गराउन सक्नु पर्दछ । विश्व भरी छरिएर रहेका देश भक्त नेपालीहरूले आफ्नो देशको महत्वको बारेमा आफ्नो सम्पर्कमा रहेका साथी सर्कलमा प्रचार प्रसार गरिदिने हो भने मात्र पनि काफी हुन्छ । सरकारमा बस्नेहरु त जहिले पनि पर्यटक र पर्यटन व्यवसायिहरु सँग कसरी फाइदा लिन सकिन्छ भन्ने धुनमा रहेको देखिन्छन् । पर्यटकलाई आकर्षण गर्ने खासै योजना बनाएको पाइँदैन ।

प्रसङ्गलाई फेरि चाइना तिर नै फर्काउने अनुमति चाहेँ मैले । चाइनाको छ्न्क्सु सहरको निर्यात व्यापार बढाउने प्रयत्न स्वरूप त्यहाको निर्यात प्रबर्धन केन्द्रले चाइनाबाट आयत गर्ने ठुला-ठुला विभिन्न देशका ३५ जना व्यापारीहरुलाई निम्ता गरिएको रहेछ । म आफू आबद्ध चाइना स्थित कर्पोरेट अफिस त्यस क्याटगरिमा पर्ने भएकोले त्यो निम्तामा मैले सहभागी हुने सौभाग्य पाएको थिएँ । चाइनामा भएको हाम्रो अफिस देखि कार्यक्रम स्थल सम्म यातायात खर्च, ५ तारे होटेल क्राउनप्लाजामा आवास तथा खाना पिना सहित दिनको ३५० डलर भत्ता दिएर हामीहरुलाई बोलाईयो ।

पहिलो दिनको स्वागत रात्रीभोजमा चौन्क्सु निर्यात प्रबर्धन केन्द्रका डाइरेक्टरले उपस्थित सबै अन्तर्राष्ट्रिय ब्यबसायीहरुलाई स्वागत गर्दै उक्त कार्यक्रमको औचित्यता माथि प्रकाश पार्नु भयो । भोलि पल्ट त्यस क्षेत्र वरिपरिका उद्योगहरु तथा सो रुमहरु अवलोकन गराई आफ्नो क्षेत्रबाट बजार व्यवस्था गरी दिनको लागि अनुरोध गरियो। आजका दिन सम्म पनि बेला-बेलामा हामीलाई सम्पर्क गरी फलोअप गर्दछन् । एउटा सानो सहर स्तरका सरकारी कर्मचारीहरू त त्यति धेरै सम्बेदनशील छन् भने केन्द्रीय स्तरमा कस्तो होला । सहजै अन्दाजा लगाउन सकिन्छ ।

त्यसबाट स्पष्ट हुन्छ,त्यसै आज चाइनाले विश्व बजारमा आफ्नो अधिपत्य जमाएको होइुन रहेछ । सरकारी नीतिले यसरी लावान्वित हुन्छन् उध्योगी । त्यति मात्र कहाँ हो र । अन्तर्राष्ट्रिय व्यपारीहरुका लागि एकै ठाउँंमा धेरै थरी सामान उपलब्ध होस भनी ७५००० भन्दा बढी दुकान भएको इबु मार्केटको झेजियाङ्ग सहरमा स्थापना चाइना सरकारले गरिदिएको छ ।

चाइनाको वाणिज्य मन्त्रालयको प्रायोजन र चाइना वैदेशिक व्यापार केन्द्रको आयोजनामा ग्वान्जावो सहरमा बर्सेनि दुई पटक क्याण्टन फेयर लाग्ने गर्छ । जस्मा ५५८०० स्टाण्डर बुथहरु रहेका छन् । जहाँ एक पटकमा करिब २६२ मिलियन अमेरिकी डलर बराबरको कारोबार हुने गर्दछ । यी त उदाहरण मात्र हुन । यस्ता अन्य साना-ठुला प्रदर्शनीहरु त अन्य सहरहरूमा पनि कैयौँ हुने गर्दछन् ।

नेपालमा दूरदर्शी र देशभक्तहरु सरकारी ओहोदामा छँदै छैनन् भन्न खोजिएको होइन यहाँ । निर्यात पर्बर्धन केन्द्र छ, पर्यटन विकास बोर्ड पनि छ । तर प्रभावकारी नतिजा दिनमा उहाँहरू आवश्यकता जति सफल देखिनु भएको छैन । गत वर्ष तत्कालीन उद्योग मन्त्री नबिनद्र राज जोशीको सकृयातामा अन्तर्राष्ट्रिय लगानी सम्मेलन पनि सम्पन्न भयो । दुई दिनसम्म चलेको ‘नेपाल लगानी सम्मेलन’ मार्फत १६ वटा विदेशी कम्पनीले १३ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात् १४ खर्ब ६० अर्ब रुपैयाँ बराबर लगानी गर्ने प्रतिबद्धता जाहेर गरे । फलोअप गर्नको लागि एउटा समिति पनि बनेको थियो । तर खोइ त काम गरेको ?

चाइनाको एक सानो सहरको निर्यात प्रबर्धन केन्द्रद्वारा सरकारी खर्चमा हामी विभिन्न देशका ३५ जना ब्यपारिहरुलाई बोलाएर कार्यक्रम गरियो । अहिले सम्म पनि हामीलाई फलोअप गरी रहेका छन् । के त्यो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता व्यक्त गर्नेहरुलाई नेपाल सरकारले फलोअप गरेको छ त ? सरकार फेरिए लगत्तै देशको नीति फेर्ने नेपालको कुसंस्कार देश विकासमा भएको बाधक मध्यको प्रमुख हो ।

मैले माफी चाहेँ, आफू अमेरिकामा बसेर नेपालको गतिविधिमा हस्तक्षेप गर्‍यो भन्ने आरोप लगाउनेहरुसँग । चाइना सरकारका निर्यात प्रबर्धन विभागका बिज्ञसंगको बैठकले गर्दा आफू जन्मे हुर्केको देशको व्यावसायिक गतिविधि तथा यस प्रति सरकारी नीति र सुविधालाई नियाल्न मन लाग्यो । देश चलाउनेहरुको दुरदर्शिता र कार्यन्वन पक्षको सक्षमताले जनताको आर्थिक स्तर वृद्धिमा खेल्न सक्ने भूमिका बारेमा ध्यानाकर्षण हुन गयो । यस अर्थमा, चाइना सरकारको २ दिन खाएको नुन पनि मेरा लागि सुन जस्तो भयो ।

“लेखक अमेरिका नेपाल च्याम्बर अफ कमर्श युएसएका उपाध्यक्ष हुनुहुन्छ ।”