अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

न्यू योर्कका तीन एसेम्ब्ली मेम्बरको अगुवाइमा नेपाली कम्युनिटी डे हुँदै

बिआरटीनेपाल २०८१ वैशाख २२ गते १०:२९ मा प्रकाशित

‘हामी सबै निर्वाचित अधिकारीहरुले नेपाली समुदायको महत्व थाह पाउन भनेर इतिहासमा पहिलो पटक हाम्रो राजधानी अल्बानीमा नेपाली कम्युनिटी डे आयोजना गर्न गइरहेका छौं।’

बिआरटिनेपाल संवाददाता

न्यू योर्क। न्यू योर्क स्टेटका तीन जना एसेम्ब्ली मेम्बरको अगुवाइमा यहि मे २८ मा नेपाली कम्युनिटी डे आयोजना गरिने भएको छ। एसेम्ब्ली मेम्बर स्टिभन रागा, जेनिफर राजकुमार, र सरहाना श्रेष्ठको अगुवाइमा न्यू योर्कको राजधानी अल्बानीमा नेपाली कम्युनिटी डे आयोजना गर्न लागिएको हो।

एसेम्ब्ली मेम्बर स्टिभन रागाले नेपाली कम्युनिटी डेको सहप्रयोजन गर्न पाएकोमा गौरब लागेको बताए। ‘जनगणना अनुसार संयुक्त राज्यको न्यू योर्कमा नेपाली समुदायको जनसंख्या सबैभन्दा धेरै छन्,’ उनले भने, ‘अल्बानी हल्स अफ पावर (नीति निर्माण गर्ने ठाउँ) हो र हामी त्यहाँ हुने मानिसले नेपाली समुदाय र आप्रवासी समुदायलाई प्रतिनीधित्व गरुन भन्ने चहान्छौं।’ उनले नेपाली समुदायका लागि यो अल्बानीमा यो कार्यक्रमको राख्न पाउँदा खुशी लागेको पनि बताए। रागा स्टेट एसेम्ब्लीमा निर्वाचित पहिलो फिलिपिनो अमेरिकन हुन्।

‘हामी निर्वाचित भएसँगै हाम्रो राज्यको नीति निर्माण गर्ने ठाउँ (टेबल अफ पावर) मा हाम्रो समुदायको प्रतिनीधित्व भएको छ,’ भारतीय मूलकी पहिलो महिला स्टेट एसेम्ब्ली मेम्बर जेनिफर राजकुमारले भनिन्, ‘हामी सबै निर्वाचित अधिकारीहरुले नेपाली समुदायको महत्व थाह पाउन भनेर इतिहासमा पहिलो पटक हाम्रो राजधानी अल्बानीमा नेपाली कम्युनिटी डे आयोजना गर्न गइरहेका छौं।’

उनले दिवाली (तिहार पर्ब) विदाका लागि राजधानी अल्बानीमा दिवाली हलिडे भनेर नारा लगाएको स्मरण गरिन। ‘कसैले पनि ठानेका थिएनन दिवाली बिदा सम्भव छ भनेर। तर, हामीले सम्भव बनायौं,’ उनले भनिन्, ‘मसँग दुई वर्षदेखि माउण्ड एभरेष्ट डे र नेपाल डेको रिजोलुसन (प्रस्ताव) छ। तपाईँहरु अल्बानी आउनुहुन्छ र सफलता हात पार्नुहुन्छ भन्ने मेरा विश्वास छ।’

कार्यब्यस्तताका कारण नेपाली मूलकी न्यू योर्क स्टेट एसेम्ब्ली मेम्बर सरहाना श्रेष्ठ भने कार्यक्रममा अनुपस्थित थिइन्। रागा डिस्ट्रक ३०, राजकुमार डिस्ट्रक ३८ र श्रेष्ठ डिस्ट्रक १०३ मा न्यू योर्क स्टेट एसेम्ब्लीमा निर्वाचित एसेम्ब्ली मेम्बर हुन्।

नेपाली कम्युनिटी डे अल्बानीको लेजिस्लेटिभ बिल्डिङको ‘थर्ड फ्लोर टेरस’ ९८ स्टेट स्ट्रिटमा हुनेछ। मुख्य कार्यक्रम बिहान ११ः३० देखि दिउँसो १ः३० सम्म हुने भएपनि सहभागीहरु बिहान ९ः३० मा पुगिसक्नु पर्नेछ। कार्यक्रम स्थलको सुरक्षाका लागि सुरक्षाकर्मीले प्रवेशद्वार परिवर्तन गर्न सक्ने आयोजकले जनाएका छन्। सवारी साधन नभएकाहरुका लागि आयोजकले बसको ब्यबस्था गरेका छन्। त्यसका लागि उनीहरुले मे १४ भित्र ‘नेपाली कम्युनिटी डे आरएसभिपी फारम’ भरिसक्नु पर्नेछ। उक्त फारम संख्याका आधारमा आयोजकले बसको ब्यबस्था गर्नेछ। बस ज्याक्सन हाइट्सस्थित शेर्पा किदुगको कार्यालय अघि लाग्ने र सहभागीहरु विहान ६ बजे अगावै त्यहाँ पुग्नुपर्ने बताइएको छ।

त्यहाँ नेपाली समुदायले आफ्नो संस्कार, संस्कृति र सम्पदा प्रदर्शन गर्न सक्ने स्टिभन रागा मेम्बर अफ एसेम्ब्ली अफिसकी डाइरेक्टर्स अफ कम्युनिटी अफेयर्स डोल्मा लामाले बताइन्। उनले सबैलाई आफ्नो सांस्कृतिक पहिचान झल्किने भेषभुषामा सहभागी हुन पनि अनुरोध गरिन्। ‘हामीले कमदारका रुपमा, नेपालीका रुपमा, ब्यबसायीका रुपमा न्यू योर्क स्टेटलाई धेरै योगदान दिएका छौं। तर, के त्यसको कदर भएको छ?,’ उनले भनिन्, ‘यो कार्यक्रम त्यो प्लाटफर्म हो, स्पेस हो। तपाईँहरु सबैलाई सहभागिताका लागि अनुरोध गर्छु।’

कार्यक्रम आयोजक समितीमा ग़ैर आवासीय नेपाली संघ, अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल, शेर्पा किदुग अमेरिकाका अध्यक्ष तेम्बा शेर्पा र गिरिजा प्रसाद कोईराला फ़ाऊण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, रिजवुड नेपाली समाजका पदाधिकारी अमित साह, माईनोरिटी ईम्पावरमेन्ट नेटवर्ककी कार्यकारी निर्देशक श्रीया तुलाधर छन्।

नेपाली कम्युनिटी डे आरएसभिपी फारम

https://docs.google.com/forms/d/1qka18p8DfCDQiy3AVhpofe_5kmqBVNL-OmzALM8K62M/viewform?edit_requested=true

प्रतिक्रिया