अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४० | Colorodo: 01:55

रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत

बिआरटीनेपाल २०८१ वैशाख २० गते १४:२५ मा प्रकाशित

काठमाडौँ, १९ वैशाख २०८१ मा रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ । उक्त मन्दिरले काठमाडौँको सर्वनाम नाटकघरमा एक भव्य समारोहको आयोजना गरेर वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल र रेडियोकर्मी अच्युत घिमिरे बुलबुललाई सम्मान गरेको हो ।

मन्दिरले शर्मालाई अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार, डा. विमललाई प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार र घिमिरेलाई रामगीता प्रोत्साहन पुरस्कार अर्पण गरेको हो । डा. विमललाई उनको भरखरै प्रकाशित कृति ‘सरबरिया टोल’ का लागि सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि क्रमशः ५०–५० र २५ हजार नगदसहित सम्मान पत्र रहेको थियो ।

कार्यक्रमको सभाध्यक्ष गीता खत्री, संरक्षक कमलबहादुर खड्का र मखमली खड्का तथा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार यादव खरेल रहेका थिए । उनीहरूसहित पुरस्कार स्थापित व्यक्तित्वहरू अशेष मल्ल, सावित्री मल्ल कक्षपति र प्रतीक ढकाल तथा पुरस्कार संस्थापक राम खत्री र गीता खत्रीले संयुक्त रूपमा ती पुरस्कारहरू स्रष्टालाई अर्पण गरे ।

अनेसासकी उपाध्यक्ष डा. रेणुका सोलुले उपस्थितलाई स्वागतसहित संस्था र संस्थापक राम—गीताको बारेमा चर्चा गरिन् भने महेश पौड्यालले सम्मानित स्रष्टाको बारेमा गहन परिचय व्यक्त गरेका थिए ।

पुरस्कार हस्तान्तरणपछि बोल्दै कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी यादव खरेलले परम्परागत रूपमा पुरस्कार राख्ने परम्परा भन्दा यो फरक रहेको भन्दै प्रशंसा गरे ।

गीता खत्रीले धेरै वर्ष अघि नै यो पुरस्कार स्थापना गर्ने सोच बनाएको तर दुई वर्ष अघि मात्र संस्था स्थापना गरेको तथा अहिले पुरस्कार वितरण गर्न सफल भएको बताइन् । अशेष मल्लले अरू अशेष मल्ल जन्माएको र प्रतीक ढकालले नेपालको हिमालको बारेमा लेखेर विश्वलाई परिचित गराएकोले उहाँहरूको नाममा पुरस्कार स्थापना गरिएको उनले बताइन् । आफूले गरेको कामबाट कहिल्यै पनि घमन्ड नआओस् भन्दै सधैभरि कर्म गरिरहन पाए आफू खुसी हुने पनि उनले बताइन् ।

परम्परागत ढर्रालाई तोड्दै कार्यक्रम अत्यन्त फरक तरिकाले व्यवस्थापन भएको थियो । मञ्चमा भिडाम्भिड अनि दर्शकदिर्घातिर कुर्सी खाली जस्ता असुहाउँदो दृश्य यहाँ देख्नुपरेन । उपस्थित सबै जनालाई समान स्तरमा बस्ने व्यवस्था मिलाइएको थियो । मञ्च र दर्शकको कित्ताकाट यस प्रोग्राममा थिएन । त्यसै गरी पानसमा बत्ती बाल्ने अनि कार्यक्रम समुद्घाटन गर्ने दृश्य पनि यहाँ देखिएन । बरु गीता खत्रीका 89 वर्षीय बुबाले गणेश स्तुति गाउनुभएर कार्यक्रमको समुद्घाटन र समापन भयो । प्रमुख अतिथि, गीता खत्री र राम खत्रीको हातबाट सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरूलाई सम्मान एवम् पुरस्कार समर्पण भयो । सम्मानित सबै व्यक्तित्वहरूले राम-गीता वाङ्मय प्रतिष्ठान र राम गीता दम्पत्तिप्रति हृदयत: आभार व्यक्त गरे । प्रा.डा. सावित्री मल्ल कक्षपतिका अनुसार यसरी ज्यूँदा व्यक्ति त्यो पनि दम्पतीको नै नामबाट पुरस्कार स्थापना गर्ने कार्य विश्वमा नै यो पहिलो हो । मान्छे ज्यूँदो रहँदा नै उसका कर्मका बारेमा सम्मान गर्ने यो प्रचलनको सुरुवाती गर्ने यस सत्कर्मको सबैले खुलेर प्रशंसा गरे ।यो गरिमामय
कार्यक्रम सञ्चालनको भूमिकामा भवानी खतिवडा थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू