भगवान् बुद्धका दर्शनलाई महत्व दिने कि नागरिकतालाई ? – राम लामा अबिनाशी

लस एन्जलस वरिपरि बस्ने बंगलादेशी बुद्धिष्ट सोसाइटीले २५६० औँ बुद्ध जयन्ती समारोहमा मलाई बुद्धिष्ट सोसाइटी अफ क्यालिफोर्नियाको अध्यक्षको नाताले सहभागी हुने सौभाग्य जुरेको थियो । उक्त भव्य समारोहका बिच ‘भगवान् गौतम बुद्ध जन्मेको पवित्र भूमि नेपालबाट आउनु भएका राम लामा र उहाँकी धर्म पत्नीलाई मञ्चमा आएर हाम्रो सानो उपहार ग्रहण गरिदिनु हुन अनुरोध गर्दछौँ’ भने पछि हर्ष विभोर हुँदै मञ्चमा गएर उपहार हातमा थापेर दुई चार शब्द बोलेर आफ्नो औपचारिकता पुरा गरेँ । तर मन भरि असंख्यक खुल्दुलीका तरंगहरु पैदा भए । ती तरंगहरुले कताकता काउकुती पनि लागेको जस्तो भान भयो । बुद्ध भगवान् जन्मेको पवित्र भूमिबाट आएका हामी नेपाली साँच्चिकै यस्तो सम्मानका लायक छौँ त ?

करिब १५ देशका बुद्धधर्मका गुरु तथा भिक्षुहरुको उपस्थिति रहेको उक्त भव्य समारोहका वक्ताहरु सबै जना भगवान् बुद्धका आफन्तहरु जसरी बुद्धका बारेमा बोलिरहेका थिए । तर हामी मध्ये कति नेपालीहरूलाई ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने वाक्य बाहेक अरू केही पनि थाहा नभएको हुन सक्छ । म आफू पुगेका मुस्लिम देशहरू बाहेक अरू सबै देशहरूमा भगवान् बुद्धका चैत्य तथा गुम्बाहरु भेटेको छु । त्यही पनि, ईण्डोनेसिया र मलेसिया मुस्लिम देश भएर त्यहाँ भव्य गुम्बाहरु छन् । अमेरिकामा ठुलाठुला गुम्बाहरु धेरै नै छन् । कतिपय गुम्बाहरुमा त्यहाँका लामा तथा भिक्षुहरु पनि बुद्ध भगवानको जन्मथलो नेपालमा पर्दछ भन्ने कुरामा अनविज्ञ नै छन् । तर बुद्ध धर्मसँग लुप्त छन् । उनीहरूले भगवान् बुद्ध कुन देशमा जन्मेका थिए र कुन देशमा उनको निधन कहाँ भएको थियो भन्ने कुरालाई भन्दा उहाँका दर्शनलाई बढी महत्त्व दिइरहेका छन् । 

हुन पनि जुन बेलामा सिद्धार्थ गौतम बुद्ध बुवा शुद्धोधन र आमा मायादेवीको कोखमा जन्म लिएका थिए त्यो बेला लुम्बिनी नेपालको भूभाग हो भन्ने थिएन । नेपाल त खाली काठमाडौँलाई मात्र भनिन्थ्यो । बाईसे चौबिसे राज्यलाई एकिकरण गरेर पृथ्वीनारायण शाहले बि. स. १७६९ मा एउटै नाम नेपाल नामाकरण गरेका थिए । तर सिद्धार्थ गौतम आज भन्दा २६४० वर्ष पहिला अर्थात् ५६३ बिसिमा जन्मेका थिए । २९ वर्षको उमेरमा घरबार त्यागेर जङ्गल पसेका सिद्धार्थ गौतम ६ वर्षसम्म जङ्गलमा तपस्या गर्दा पनि केही हुन नसकेपछि हार खाएर फर्किएका थिए । शारीरिक अवस्था निकै कमजोर भई सकेका सिद्धार्थलाई बाटोमा एक जना महिलाले खाना खुवाईन । तपस्या तोडेको देखेर अरू ५ जना साथीहरू उनीसँग रिसाए ।

उनी हिडिरहेको बेलामा एक सङ्गीतकारले आफ्ना विद्यार्थीहरूलाई सितार सिकाई रहदा ‘सितारको तारलाई धेरै कसियो भने मिठो आवाज आउँदैन र तार चुँडिन पनि सक्छ । तारलाई बढी लुलो बनाईयो भने पनि आवाज आउँदैन त्यसैले मध्यम अवस्थामा राख्नु पर्छ’ भनेको कुराले सिद्धार्थ गौतमको दिमागमा झड्का लाग्यो र त्यही मध्यमार्गी सिद्धान्तलाई आफ्नो जीवनमा लागू गर्दै जान थाले । 

त्यहाँबाट उनी बोधगया पुगेर पिपलको बोट मुनि तपस्या गर्न थाले । त्यहाँ उनले ४० रात बिताए । सुन्दरीहरु आएर उनको ध्यान भङ्ग गर्न खोजे तर पनि कसैको केही लागेन । अन्ततः सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरे र उनी बुद्ध भए । बुद्ध भएपछि आफूसँग विगतमा रहेका र केही गर्न नसक्ने ठानी आफूलाई छोडेर हिंडेका ५ जना साथीहरूलाई खोज्दै हिड्दा बनारसको सारनाथमा भेटे र उनीहरूलाई शिष्य बनाएर शिक्षा दिन थाले ।

त्यसपछि भारतको विभिन्न स्थानमा आफ्ना दर्शनहरू बाँड्दै हिँड्दा उनी बिहारको कुशीनगर पुगेपछि बिरामी परे रोगले च्यापदै गएर थला परेपछि उनीलाई भेट्न धेरै टाढाटाढाबाट भिक्षुहरु आएका थिए । करिब ५ सय भिक्षुहरुको माझबाट उनले ८० वर्षको हुँदा ४८३ बिसिईमा सदाको लागि बिदा लिए । उनको अन्त्येष्टी गरिएको स्थल कुशीनगरमा स्तुपा बनाइएको छ ।

उनको भौतिक शरीरले त बिदा लियो तर उनको बुद्धत्व संसारभरि द्रुत गतिमा फैलिदै गयो । २६१ बिसिईमा सम्राट अशोकले आन्द्र प्रदेशको उडिसामा गरेको युद्धमा करिब लाखको सङ्ख्यामा मृत्यु भएका र करिब ६० हजार घाइते मानव शरीरका हातखुट्टा छट्पटाई रहेको अवस्थामा देखेपछि उनीमा आत्माग्लानी भएको थियो । जुन प्रायश्चितको लागि उनी आफू बुद्धको शान्ति मार्गमा लागे र विश्वका विभिन्न देशहरूमा बुद्ध धर्म फैल्याउनतिर लागेका थिए ।

आफूले मारेका मान्छेहरू जति नै सङ्ख्यामा विश्वभरि नै बौद्धमार्गी चैत्यहरु बनाएका थिए । नेपालको पाटनमा पनि उनले बनाएका २ वटा चैत्यहरु अहिले पनि विद्यमान छन् । बुद्ध धर्म विश्वभरि फैल्याउनमा सम्राट अशोकको विशेष भूमिका रहेको पाइन्छ । हुन त, स्रङचङगम्पोले नेपालीकी छोरी भृकुटीलाई बिहे गरेर लाग्दा उनले साथमा लगेका बुद्ध धर्मग्रन्थहरुको अध्ययनको प्रभावले तिब्बतमा बुद्ध धर्मको प्रचारप्रसार गरेका थिए ।

पातली पुत्र, पटनाको मगत राज्यका सम्राट २४९ बिसिमा लुम्बिनीमा पाली भाषामा एक स्तम्भ बनाएका थिए । जसमा भगवान् गौतम बुद्ध जन्मेको यो पवित्र भूमि लुम्बिनीको कर छुट गरेका छौँ भनी उल्लेख गरिएको छ । यसको अर्थ त्यो बेलामा शाक्यहरुको राज्य मानिने लुम्बिनीका राजा शुद्धोदन र त्यो राज्य पनि पटनाको रोहवरमा थियो जसलाई सम्राट अशोकले राज गर्दथे भन्ने बुझिन्छ । तर पछि यो भूमि नेपालमा रेखांकित भएको थियो ।

भगवान् बुद्ध जन्मेको पवित्र भूमिको महत्त्व कायम राख्नको लागि यूनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राखेको छ । त्यसैले यो नै बुद्धको जन्मथलोको बलियो आधार हुँदाहुँदै यो विषयलाई बहसको स्थान दिन जरुरी नहोला ।  ईश्वरीय शक्तिमा विश्वास नराख्ने भगवान् बुद्धको लोकप्रियता प्रति जलन हुने समूहले बुद्ध ध्यानमा बसेको पिपलको बोट नै काटिदिएका थिए । लुम्बिनीको स्तम्भ पनि उक्काएर जमिनमूनि गाडी दिएका थिए र सम्भव भएसम्म बुद्ध भगवान् थिए भन्ने प्रमाण मेटाउने कोसिस गरेका थिए । त्यो पिपलको बोटको बिऊ लगेर रोपेकाले आज त्यही बिऊबाट बढेको पिपल बर्मामा भेटिन्छ । हाल नेपाल मानिने जमिनको माटोमा जन्मिएर भारतको भूमिमा बुद्धत्व प्राप्त गरेका भगवान् बुद्धका दस्ताबेजहरू खोज्न चीन जानुपर्ने अवस्था छ । दोस्रो शताब्दीमा चिनिया भिक्षुहरु भारतको गया हुँदै नेपालको लुम्बिनीमा पुगेका थिए ।

त्यो बेलामा उनीहरूले एक डायरी बनाएका थिए । जुन आजसम्म पनि भगवान् गौतम बुद्धको एक मजबुत दस्ताबेजको रूपमा लिइन्छ । विश्वभरिको जनसङ्ख्याको ५ प्रतिशत मानिसहरू बौद्ध धर्मालवम्बी छन् भने बुद्ध जन्मिएको देशमा ९ प्रतिशत मात्र बौद्धमार्गीहरु छौँ । बुद्ध भगवान् नेपालमा जन्मिएका हुन भनी गर्वका साथ भन्छौ तर हामी कूल जनसङ्ख्याका ९१ प्रतिशत जनता बुद्ध धर्मका आदर्श, मूल्य मान्यता र संस्कारलाई मान्न वा अवलम्बन गर्न तयार छैनौँ । तर देश विदेशमा हुने शान्ति रयालीमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएका ब्यानरसँगै टांसिएर फोटो खिचि फेसबुकमा हाल्न हतार गर्दछौँ । बुद्धको सुन्दर देश नेपालमा जन्मिएका कारण नभएर उनका महत्त्वपूर्ण दर्शनका कारण लोकप्रिय र पूजनीय बनेका हुन । उनको महत्त्व बुझेर नै भारतको पनि ध्यानाकर्षण हुन पुगेको हो । नत्र भारतको मुम्बई र दिल्ली सहरका हरेक बहादुर चौकीदारहरुलाई र भान्छामा काम गर्ने हरेक कान्छाहरुलाई ‘दे आर बर्न इन ईन्डिया’ भन्थे होलान् नि । नेपालमा बुद्ध धर्मलाई मतवालीहरुको कित्तामा पारिएको छ । तर बुद्ध भगवान् क्षेत्री परिवारमा जन्मिएका थिए ।

बौद्धमार्गी हुनलाई जातले नरोकेको धर्मगुरु टुल्कु लोप्साङ्ग नाम्ग्याल रिम्पोर्छेले बताउनुभयो । घरमा साधारण मूर्ती वा फोटो राखी दैनिक बिहान बेलुका भगवानको नाममा फुल र पानी चढाएर थोरै समय पनि ध्यान गर्ने र बुद्ध धर्मको संस्कारलाई मान्ने जो कोहीलाई पनि बुद्धिष्ट हुने उहाँको धारणा रहको छ । यही अमेरिकामा पनि चाइनिज, जापनिज, कोरियन, भियतनामी, बर्मीज, श्रीलंकन, थाई, बंगलादेशी, इन्डोनेसियन, ताईवानइजआदि अनेकौँ बौद्धमार्गी समुदायहरू छन् र सबैका आआफ्ना गुम्बाहरु छन् तर हामी नेपालीहरू गर्वका साथ भन्छौं ‘हामी बुद्ध जन्मेको देशबाट आएका हौ’ तर हामीले बुद्धका मूल्य र मान्यता तथा संस्कारको बारेमा कतिको जानकार छौँ त ? अनि हामीले अमेरिकामा नेपाली गुम्बाकति ठाउँमा पाउन सक्छौँ त ? हामीले एक चोट आत्मासात गरेर सोच्नुपर्ने बेला आएको छ । हाम्रो देशमा विभिन्न पार्टीहरूले विभिन्न नामका युद्ध भनी कहिले प्लेन अपहरण गरे त कहिले टाउको काट्ने आन्दोलन गरे, कहिले हजारौको सङ्ख्यामा साधारण जनताका घाँटी रेटेर मारे भने अझै विभिन्न बहानामा ज्यान लिने क्रम जारी छ ।

‘हिंसा तथा काटमार गर्न हुन्न’ भन्ने विचारका भगवान् बुद्ध जन्मेको देश नेपालको बारा जिल्लाको बडियारपुरमा मनाइने गढिमाई मेलामा हजारौँको सङ्ख्यामा बस्तुभाउ तथा जनावरहरुको बली हरेक ५ वर्ष चढाईन्छ । लाखौँको सङ्ख्यामा दशैको राम नवमीको अवसरमा  भगवानको नाममा बली चढाईन्छ । बकर ईदमा हजारौको सङ्ख्यामा जनावरहरु कुर्बान गरिन्छ ।हुन त, म आफै पनि यस्तै अन्धविश्वासमा विश्वास राख्ने व्यक्ति मध्येमा पर्दछु । काटमार र हत्या हिंसा गर्नु हुँदैन भन्ने मान्यता राख्ने भगवान् बुद्धप्रति अब हामीले साँच्चिकै मन बचन र कर्मले प्रण गर्नुपर्ने बेला आएको छ । “शत्रु लाई पनि माया गर“ भन्ने बुद्ध वाणीलाई हामीले बेवास्ता गर्दै अर्काको खुट्टा तान्नमा तल्लिन छौँ । हो, यस्तै गलत संस्कार भएको हाम्रो देश नेपालमा जन्मेका हुन भगवान् बुद्ध भनी भन्दै मात्र हिँड्ने तर आफ्नो स्वभाव र व्यवहारलाई परिवर्तन नगर्ने  हो भने एक दिन ‘हिलोमा हुर्केको एउटा कमलको फुल रहेछन् भगवान् बुद्ध’ भन्ने छ विश्व बुद्धिष्ट समुदायले ।

Published on May 10, 2017 at 11:55 am

Loading...

यसमा तपाइको मत