अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

नर्थ क्यारोलाइनामा महाकवि देवकोटा जयन्ती सम्पन्न

ॠषि बस्ताकोटी २०७५ मंसिर ९ गते २०:५२ मा प्रकाशित

नर्थक्याराेलाइना माेरिस्भिल अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्याराेलाइना च्याप्टर र स्थानीय नेपाली संस्था नेपाल सेन्टर अफ नर्थक्याराेलाइनाकाे संयुक्त आयोजनामा साहित्यिक रचना वाचन, महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वमाथि प्रवचन र देवकोटाका गीत गाएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्म जयन्ती भव्यताका साथ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्याराेलाइना च्याप्टरका अध्यक्ष शिखर दुलालको अध्यक्षता र च्याप्टरकी वरिष्ठ उपाध्यक्ष नम्रता गुरागाईको उद्घोषणमा सञ्चालन गरिएको कार्यक्रममा सहआयाेजक संस्था नेपाल सेन्टर अफ नर्थक्याराेलाइनाका अध्यक्ष डा. वटु शर्माले सबैलाई स्वागत गर्नु भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्याराेलाइना च्याप्टरका सल्लाहकार ईश्वर देवकोटाले महाकवि देवकोटाको व्यक्तित्वबारे प्रकाश पार्दै महाकवि देवकोटा नेपाली साहित्यका विशाल समुद्रै समान रहेको र उनको योगदानको बयान जति गरे पनि छाेटाे र अपूर्ण हुने भन्दै देवकोटाजस्ता महान् व्यक्तिको सम्झना गर्दै यसरी प्रवासमा जयन्ती मनाउनु भनेकै नेपाली साहित्यलाई सम्मान हो भन्नुभयो ।

कार्यक्रममा भरत विष्ट, रमेशप्रसाद गौतम, नन्दलाल सुवेदी, दिजा पाण्डे, दिव्या पाण्डे, वासु भट्टराई, सबिता विष्ट, गीता बस्नेत, विक्रम गौतम, शिशिर खनाल, ऋषि बस्ताकोटी, सुजाता ढुङ्गेल, नम्रता गुरागाई र शिखर दुलालले आ-आफ्ना आफ्ना कविता र गजल पाठ गर्नुभएको थियो ।

कार्यक्रममा प्रस्तुत रचनाहरूमाथि समिक्षात्मक टिप्पणी प्रस्तुत गर्दै साहित्यकार डा. हरिहर भट्टराईले कविताहरू लेखनको परिपक्वताको हिसाबले र भाव र कलाको आधारमा विविध खालका भए पनि समग्रमा उत्कृष्ट रहेको बताउनुभयो । उहाँले लक्ष्मीप्रसाद देवकोटा वास्तवमै ईश्वरीय वरदान पाएका साहित्यकार भएको र उनका हरेक रचना संधैकालागी उत्कृष्टै रहने कुरामा दुई मत नहुने बताउनुभयो । 

कार्यक्रममा नगेन्द्र नेउपानेले महाकवि देवकोटाको आफूलाई मनपरेको एउटा कविता प्रस्तुत गर्नुभएको थियो । विरोध तिमल्सिना र बाल प्रतिभा निर्विरोध तिमल्सिनाले मुनामदनको गीत गाउनुभएको थियो भने दीपेन्द्र अर्यालले महाकवि देवकोटाकै” कुन मन्दिरमा जान्छौ यात्री “गीत गाएर सबैलाई मन्त्रमुग्ध पार्नुभएको थियो । कार्यक्रममा नर्थ क्यारोलाइनाका साहित्य अनुरागीहरूको उत्साहप्रद उपस्थिति रहेको थियो । 

प्रतिक्रिया