अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

श्रद्धा सुमन !

पदम विश्वकर्मा

पदम विश्वकर्मा २०७७ जेठ १२ गते ११:५० मा प्रकाशित

नवराज !
तिमीले प्रेम गर्नु के दोष थियो ?
माया गर्नु के दोष थियो ?
के अपराध थियो र ?
आखिर सबैले गर्छन् प्रेम,
सबैले गर्छन् माया
प्रिय नवराज !
आखिर तिमीले त्यति महान् गल्ती के गर्‍यौ ?

माया गर्नेलाई हत्या गर्नेहरू हो !
माया गर्नेलाई कुटपिट गर्नेहरू हो !
लाग्छ अब त,
तिमीहरू राक्षसी भयौ
नरसंहारकारी भयौ,
दानवी भयौ,
र भयौ हिट्लरजस्तै रक्त पिपासु ।

शासकहरू हो !
खोल ती बन्द आँखाहरू र हेर त
भेरी नदीमा बगिरहेको रगतको भेल
खोल ती बन्द कानहरू र सुन त पीडितहरूको क्रन्दन
बोल केही शब्दहरू बोल
आखिर युद्धमा
यिनै नवराजहरूले बन्दुक उठाएकै हुन्
यिनै नवराजहरूले बन्दुक बनाएकै हुन्
यिनै नवराजहरूले जीवन बलिदानी गरेकै हुन्
यिनै नवराजहरूले तिमीलाई
महान् नेता बनाएकै हुन् ।

हत्यारा नलुकाऊ सुरक्षाकर्मीहरु हो !
सत्य तथ्य लेख सञ्चार कर्मीहरू हो !
उचित न्याय देऊ न्यायकर्मीहरु हो !
अन्याय नगर शासकहरू हो !
अन्यथा,
उम्लिएका लाखौँ नशाहरूबाट
रगतको नयाँ खोला बग्न सक्छ यहाँ
आन्दोलनको अर्को बीजारोपण हुनसक्छ यहाँ ।

प्रिय नवराज !
तिम्रो देहान्तमा,
देश त दुख्न सक्दैन किनकि, मेरो देश सामन्तहरूको देश हो
माटो दुख्न सक्दैन किनकि, मेरो माटो शोषकहरूले कुल्चेको माटो हो
तर म दुखेको छु आज,
हामी दुखेका छौँ
युगौँ युगदेखि
यहाँ थुप्रै नवराजहरू बलिदानी भएका छन्
थुप्रै माया विकहरूले जीवन उत्सर्ग गरेका छन्
अधिकार र न्यायको खोजीमा
थुप्रै शोषित पीडितहरूले शहााजत प्राप्त गरेका छन्
ती सबै नवराजहरूप्रति
हार्दिक श्रद्धा सुमन !