अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

म भएको भए !

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०८० माघ ५ गते ११:१५ मा प्रकाशित

त्यसले तिमीसित जोरी खोजेछ
तिमी चुप नलाग्नुपर्ने
त्यसको अपमान नसहनुपर्ने
तिमी हुतिहारा हौ
त्यहाँ म भएको भए
त्यसलाई मेरो पाइन देखाइदिन्थेँ !

तिमी त
सानो खोल्छी पनि
तर्न नसक्ने
ज्यादै कमजोर र लाछी रहेछौ
त्यहाँ म भएको भए
जत्रै भेल उर्ले पनि
सहजै नदी तरेर
आफ्नो पाइन सबैलाई देखाइदिन्थेँ !

तिमी त पानी पनि
निल्न नसक्ने
कति कमजोर रहेछौ
म भएको भए
आगो निलिदिन्थेँ

तिमी त बसेको चरा
उडाउन पनि
नसक्ने रहेछौ
म भएको भए
उडेको चरा पनि
खसालिदिन्थेँ !

कस्तो व्यापार गर्छ
त्यो व्यापारी !
म भएको भए
त्यसलाई व्यापार गर्ने
तालिम दिन्थेँ !

के पढाउँछ त्यो शिक्षक !
म भएको भए
त्यसलाई पढाइदिन्थेँ !

के जानेर न्यायको कुरा गर्छ
त्यो न्यायाधीश !
म भएको भए
त्यसलाई न्याय के हो
सिकाइदिन्थेँ !

त्यो प्रधानमन्त्री
देश चलाउन जान्दैन
त्यो मन्त्री
मन्त्रालय चलाउन जान्दैन
म भएको भए
देश र मन्त्रालय कसरी चलाउनुपर्छ
देखाइदिन्थेँ ।

त्यो पुलिस
समाजमा कहिल्यै
शान्ति सुरक्षा गर्न सक्दैन
म भएको भए
मिनटभरमै सबै मिलाइदिन्थेँ !

आफैँ रोगी छ
त्यो डाक्टर
के जान्दछ स्वास्थ्यका कुरा !
के गर्छ अरूको उपचार !
त्यसलाई विश्वास गर्नुभन्दा
म भएको भए
त्यसैको उपचार गरिदिन्थेँ !!

तिमी त पत्रकारले
सोधेको प्रश्नको जवाफ
दिन खोज्दा डल्लिँदा रहेछौ
किन डल्लिने !
म भएको भए
उल्टै उसैलाई प्रश्न सोधेर डल्याउँथेँ !

तिमी त
मञ्चमा उभिएर
एक शब्द पनि
बोल्न सक्दा रहेनछौ
म भएको भए
सबैका अगाडि
मै अब्बल वक्ता हुन्थेँ !

यस्तै यस्तै यस्तै
म को महिमा गाउँदै
अरूको अस्तित्वको उपहास गरिरहने
महोदय !
भन त
अरू उम्रेको भन्दा
तिमी फरक कुन ड्याङमा
उम्रेका मुला हौ ?
छुट्टै कुन ग्रहका बासिन्दा हौ ?

तिमीले कुन बाघका जुँघा उखेल्यौ ?
तिमीले कुन हात्तीका दाह्रा भाँच्यौ ?
मलमूत्र त्याग्दैमा के त्यागका कुरा गर्छौ ?
भन त
तिमीले आजसम्म कतिवटा
माखा र भुसुनालाई
परलोक पठायौ ?

—————
लप्सीबोट, गोरखा
हाल: काठमाडौँ – ६, सरस्वतीनगर ।