अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

खै के गरूँ

पदम विश्वकर्मा २०७७ कार्तिक ३ गते १९:५३ मा प्रकाशित

शार्दूलविक्रीडित

कोरोना छ जताततै जगतमा खै आउने के गरी
आएको छ दसैँ भनेर नहुने खै धाउने के गरी
बाटो बन्द भए सबैतिर यहाँ आफैँ कता हो सरूँ
आमा आउन पाइएन घरमा यो चोटि खै के गरूँ ।।

गैह्री खेत छ एउटै तर त्यही जो बन्धकीमा सबै
बाँकी के छ र साहुले लगिसक्यो टारी र बारी दुवै
छानो त्यो खरको चुहिन्छ घरको त्यो टाल्न सक्ने बनूँ
आमा आउन पाइएन घरमा यो चोटि खै के गरूँ ।।

सावा व्याज र स्याजले डुबिगयो यो जिन्दगानी सब
छोरोले स्कुल जान्न भन्दछ कठै फाटेर झोला अब
सोचेको यसपालि ती रिनहरू बाँकी म सारा तिरूँ
आमा आउन पाइएन घरमा यो चोटि खै के गरूँ ।।

छोरीको पनि थोत्रिए कि बिचरा कुर्ता र जामाहरू
बोटो हेरिरहेर कत्ति नबसुन् यो वर्ष आमाहरू
रित्तै के ससुराल जान सकुँला पैले म गोजी भरूँ
आमा आउन पाइएन घरमा यो चोटि खै के गरूँ ।।

सोच्छन् फल्छ विदेशमा डलर नै प्रत्येक ती बोटमा
देख्दैनन् पसिना चुही तपतपी जो खस्दछन् ओठमा
सारा कष्टहरू निधान नगरी खै के म खोला तरूँ
आमा आउन पाइएन घरमा यो चोटि खै के गरूँ ।।