अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

मृत्युदण्ड दिनु पर्छ

पदम विश्वकर्मा २०७६ भदौ १६ गते ११:२० मा प्रकाशित

मृत्युदण्ड दिनु पर्छ
समात्नुपर्छ उसलाई
किन कि
उसले विदेशी पासपोर्ट लत्त्याएर आफ्नै देश फर्किएको छ
आफ्नै राष्ट्रको उन्नयनमा समर्पित छ
बेचिएको अस्तित्व त्याग्दै
आफ्नै स्वाधीनतामा बाँच्न चाहन्छ
त्यसैले समात्नुपर्छउसलाई
आजै समात्नुपर्छ ।

ठोक्नुपर्छ गोली उसलाई
किन कि
उ सधैँ गरिब र असहाय जनताको वकालत गर्छ
अन्याय अत्याचारको विरोध गर्छ
घुस, दलाल र तस्करी तन्त्रको विरोध गर्छ
बेचिएकी चेलीको पक्षमा बहस गर्छ
त्यसैले ठोक्नुपर्छ गोली उसलाई
आजै ठोक्नुपर्छ गोली ।

झुन्ड्याउनुपर्छ उसलाई
किन कि
उ सधैँ सत्यको पक्षमा बोल्छ
मन्त्रीज्यूले घुस खाएको पोल खोल्छ
सचिवज्यूले कमिसन लिएको हल्ला गरिदिन्छ
महँगी बढ्यो भन्छ
तस्करी बढ्यो भन्छ
सधैँ पीडितहरूको पक्षमा बोल्छ
त्यसैले झुन्ड्याउनुपर्छ उसलाई
आजै झुन्ड्याउनुपर्छ ।

जलाउनुपर्छ उसलाई
जिउँदै जलाउनुपर्छ
किन कि
उ राष्ट्रप्रेमी हो
आफ्नै माटोमा विलीन हुन चाहन्छ
आफ्नै स्वदेशको उन्नति देख्न चाहन्छ
जगे पिलर खोसिएकोमा चिन्ता व्यक्त गर्छ
कोसी, गण्डकी र कर्णाली बेचिएकोमा रोष प्रकट गर्छ
स्वाधीनताको पक्षमा भट्भटाइरहन्छ
त्यसैले जलाउनुपर्छ उसलाई
आजै जलाउनुपर्छ ।

ठोक्नुपर्छ उसलाई नेल लगाउनुपर्छ
जेलभित्र कोच्नुपर्छ, कोर्रा लगाउनुपर्छ
जेल भित्रै फाँसी दिनुपर्छ
जिउँदै जलाउनुपर्छ
किन कि
उसले बिदेसिएको सम्पत्तिको भण्डाफोर गर्न सक्छ
कुम्ल्याएको अकुत सम्पत्तिको पर्दाफास गर्न सक्छ
त्यसैले उसलाई
आजै मृत्युदण्ड दिनुपर्छ ।