अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३७ | Colorodo: 20:52

खलङ्गामा हमला भित्रको दर्द

पदम विश्वकर्मा

पदम विश्वकर्मा २०७५ माघ २० गते ९:५९ मा प्रकाशित

खलङ्गामा हमला दोस्रो पटक पढेँ । केही वर्ष पहिला पनि पढेको थिएँ । त्यति बेला म रोएँ रोइन याद छैन । रोएको भए पनि थोरै रोएँ हुँला ।

यस पटक भने म रोएँ, खुब रोएँ । घुँक्क घुँक्क गरेर रोएँ । एकान्तमा रोएँ । शायद म रोएको देखेको भए मेरी श्रीमती र छोराहरूले सोध्थे होलान् – किन रोएको होला यसरी भनेर । त्यसको जवाफ मसँग हुन्थ्यो, हुन्थेन थाहा छैन । जवाफै भएको भए पनि के जवाफ हुन्थ्यो, त्यो पनि थाहा छैन ।

सामान्यता अरूजस्तै म पनि नाम चलेका र मदन पुरस्कार प्राप्त कृतिहरू खोजी खोजी पढ्छु । खलङ्गामा हमालले २०७० मा मदन पुरस्कार प्राप्त गरेको थियो । यति सानो पुस्तकले पनि मदन पुरस्कार कसरी प्राप्त गर्‍यो होला भनेर मदन पुरस्कारप्रति व्यग्र गर्ने वा खिसी उडाउनेहरू पनि कम छैनन् । तिनीहरूलाई एक पटक खलङ्गामा हमला गहिरिएर अध्ययन गर्न पुन : आग्रह पनि गर्दछु ।

विजयकुमार पाण्डेको खुसी पढिसकेपछि मलाई फेरी खलङ्गामा हमला दोहोर्याउन इच्छा प्रकट भयो । खुसीले पनि २०७२ मा मदन पुरस्कार प्राप्त गरेको हो ।

खलङ्गामा हमला पढ्न हिजै सुरु गरेँ, अबेरसम्म पढेर हिजै पुरा गरेँ ।

श्रीमतीको सुत्न जाने होइन भन्ने प्रश्न पटक पटक आइरहेपनि किताबको रस भिज्दै गएकोले पढ्न रोक्नै सकिन । एक छिन, एक छिन भन्दै एकोहोरो पढ़िरहें । सुनसान रात, मसँग एउटा बत्ती र खलङ्गामा हमला मात्र थियो साथमा । म खलङ्गामा हमला पढ्दै रुँदै थिएँ, सुनसान रात आँसुमा निथ्रुक्क भिजिरहेको थियो ।

व्यक्तिगतरुपमा लेखिका राधा पौडेलसँग चिरपरिचित छैन । तर मदन पुरस्कार प्राप्त गर्ने लेखक चर्चामा पुग्छन् र त्यही कारण राधा पौडेल परिचित हुन आएको नाम हो । राधा पौडेलले एउटा मात्र किताब लेखिन् र त्यही कृतिले मदन पुरस्कार प्राप्त गर्न सफल भयो । कृति पढ्दा धेरै पटक रोएँ र धेरै पटक आँखाबाट आशु बगाएँ ।

कृतिमा जुम्लाको दुख, माओवादीको जुम्लामाथि भएको आक्रमणको चित्रण, आक्रमणपछिको कारुणिक चीत्कार र एक साहसी नारीको कथा समेटिएको छ ।

कछुवाको गतिमा जुम्लाको विकास :
जुम्लाको विकास कहिल्यै पुरा नहुने विकास, संसारकै नमुना जुम्लाको विकास । गरिबी, अशिक्षा र अभावले जकडिएको जुम्ला हालका दिनमा एनजीओ, आइन् जियो सबैले भाषण गर्ने विषयको जुम्ला बनेको छ । विकासे डलर कहिल्यै जुम्ला पुग्न सकेन र जुम्लीहरूको भोका पेटमा भरिन सकेन । गरिबी, अशिक्षा र अभावले जुम्ला कहिले मुक्त हुन सक्छ, लेखकको चिन्तनको विषय बनेको छ यस कृतिमा ।

यति मात्र नभएर सरकारी कर्मचारीहरू सधैँ छुट्टीमा बस्ने, काजमा सुर्खेत र नेपालगन्ज रुमल्लिने अनि कार्यालय सुब्बा र खरदारले चलाउने प्रवृत्ति पनि जुम्लाको अल्पविकासको एक कारण बनेको छ । कोही बस्न मान्दैनन् जुम्ला । पुग्न नपाउँदै फर्कन्छन् अनि कसरी विकास हुन्छ त जुम्लीहरूको ?? तिनै चिन्ताले भरिएको छ यो कृति ।

खलङ्गामा हमला :
दशक लामो द्वन्दकालले जुम्ला क्षत विक्षत बन्यो जुम्ला । कर्फ्युको अवसर छोपेर जुम्लाको सदरमुकाम खलङ्गामा माओवादीले अन्धाधुन्ध आक्रमण गरे । सिडियो कार्यालय, जिल्ला विकास कार्यालय, कृषि केन्द्र, आर्मी ब्यारेक, जिल्ला खेलकुद, जिल्ला प्रहरी कार्यालयमाथि माओवादीले बम बर्साए । हज्जारौं लडाकुहरु तैनाथ गरिएको उक्त हमलामा नाइट भिजन आयो । नाइटभिजनले खलङ्गामाथि बम, बारुद र गोला बर्सायो । लडाकुहरु नाइटभिजनको बम, गोलासंग लडिरहे । लडाकुहरुसंग केही सिप लागेन र नाइट भिजन निराश काठमाडौँ फर्कियो । बिहान सातबजेसम्म हमला जारी थियो ।

आक्रमण रोकियो, जुम्लाको दुख रोकिएन, झन् बढ्यो । सरकारी कार्यालयका भवनहरू ढले, टेलिफोनका तारहरू काटिए, मान्छेहरूका मन क्षत विक्षत बने । खलङ्गामा रगतको खोलो बग्यो । बजार बारुदका धुवाँमा रुमल्लियो, घरका भित्ताहरू कालो पर्खाल बने । बजारभर शव यत्रतत्र छरिए, कयौँ घाइते बने, अङ्गभङ्ग भए र अन्ततः खलङ्गा सुनसानमा परिणत भयो ।

रातभर युद्ध हेरेर र भोगेर बस्न बाध्य बनेका जुम्लीहरूको मन कति आत्तियो होला, कति छटपटायो होला, कति बेहोस भए होला ? त्यो त्रासदीभन्दा कठिन के हुन सक्छ मानव जीवनमा ? तिनै कठिन क्षणहरूका भोगाई, अनुभूति, दर्दहरू बोकेर उभिएको छ खलङ्गामा हमला ।

साहसी नारी :
जुम्लाको वेदना देखेका लेखककी बा, आफ्नी छोरी धेरै पढेर जुम्ला विकास गर्न चाहने सपना लेखिकाले पुरा गरेकी छन् ।

जुम्ला टेक्नै नचाहने विकासे कर्मचारी, सरकारी कर्मचारी त्यसमा पनि एक युवती, घरपरिवारको इच्छा विपरीत जुम्ला पुगेकी छन् । जुम्लाको दुखलाई साक्षात् आँखाले हेर्नुपर्दा उनीभित्र साहस थपियो । माओवादी हमला प्रतक्ष्य आफ्नै आँखा अगाडी देख्नु पर्‍यो । आक्रमण पश्चात् काठमाडौँ र घरमा पुगेर पनि फेरी जुम्लाको विकासमा हातेमालो गर्न लेखिका जुम्ला जानु कम्ती साहसिलो विषय होइन । त्यसमा पनि जुम्लाको दर्द र माओवादी आक्रमणको पीडा सुनेपछि म रोएँ तर लेखिकाकी आमा रोइनन् । उल्टो छोरीलाई ढाडस दिएकी छन् । त्यसैले लेखिका र उनकी आमा दुवै साहसी नारी पात्रा हुन् ।

यथार्थ घटना, हृदयविदारक कथाले भरिपूर्ण कृति खलङ्गामा हमलाले मन नछुने को होला र ? लेखिका बधाईका पात्रा हुन्, लेखिका प्रति नमन !