अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

भाग्योदय चिट्ठा

पदम विश्वकर्मा

पदम विश्वकर्मा २०७५ चैत १८ गते २२:४८ मा प्रकाशित

देशभरि नै युवायुवतीहरू विदेश जाने लहर चलिरहेको थियो । यो देखेर रामुलाई पनि छटपटी लागिरहेको थियो । परराष्ट्र मन्त्रालय, जिल्ला प्रशासन कार्यालय जता सुकै मान्छेहरूको लाइनै लाइन देखिन्थ्यो । अझ त्यसमा पनि युवाहरूको सङ्ख्या तेब्बर भन्दा बढी थियो ।

कलेजका साथीहरू क्यान्टिनमा जम्मा भएको बेला केटाहरू बिच गफगाफ पनि विदेशकै चल्थे । कसैले आफ्ना साथी अस्ट्रेलिया पुगेको गफ गर्थे भने कसैले आफ्ना छिमेकी अमेरिका छिरेको र कसैले जापान र जर्मनको कुरा गर्थे । सबैका कुरा सुन्दा कोरिया जानेको सङ्ख्या पनि कमजस्तो लाग्दैनथ्यो ।

दसैँको बेला थियो । काठमाडौँमा कामका लागि अध्ययनका लागि उपचारका लागि व्यापारका लागि आएका अधिकांश मानिसहरू आ–आफ्नो घरतर्फ फर्कन्छन् । यति बेला काठमाडौँका गल्ली सडक शून्य देखिन्छन् ।

आरआर क्याम्पस पढ्न काठमाडौँ बस्दै आएको रामुले पनि घटस्थापनादेखि क्याम्पस बिदा भएकाले फुलपातीका दिन घर जाने विचार गर्‍यो । ऊ पढ्न बसेको विद्यार्थी थियो । घरका लागि खासै सपिङ गर्ने क्षमता नभए पनि बाले पठाएको पैसा जोगाएर उसले भृकुटीमण्डपको भिडभाडमा पसेर बा, आमा, बहिनी र भाइलाई एक–एक जोर कपडा किन्यो ।

दसैँ नजिकिइसकेकाले रत्नपार्क, असन, भोटाहिटी, भृकुटीमण्डप, न्यूरोड जताततै मानिसहरूको भिडभाड–जात्राजस्तै थियो । अचम्म लाग्ने हुन्छ यतिबेलाको काठमाडौँको दृश्य । कसरी धानेको होला यति बिघ्न मान्छेहरू काठमाडौँ सहरले ? जता गए पनि मान्छेकै भीड, ठेलमठेल हुन्छ भने बस, ट्याम्पु, ट्याक्सी सबै खाँदाखाँद देखिन्छन् ।

फुलपातीका दिन रामु बेसी सहर जाने बसमा चढ्यो र साँझ घर पुग्यो । घरमा एक किसिमको खुसीयाली छाएको थियो । बा, आमा, भाइबहिनी सबै जना रामुको वरिपरि झुम्मिए ।

विगतका दसैँजस्तै यस वर्षको दसैँ पनि रमाइलोसँग मनाउन पाएकोले ऊ पनि दङ्ग थियो । खसी काट्ने, पिङ खेल्ने, टीका टाला, स्कुलका साथीहरूसँगको घेटघाट, इष्टमित्रहरू र मावली सबैले गर्दा उसलाई भ्याइ नभ्याई भएको थियो ।

गाउँघर पहिलेजस्तो रमणीय थिएन । एक किसिमको सुनसान, नियास्रोलाग्दो भएको थियो । उसका स्कुले साथीहरू, ओल्लो घर, पल्लो घरका साथीहरू, छिमेकी टोलका जगते, गोविन्दे, कृष्णे, नारायण आदि सबै कोरिया, जापान, अस्ट्रेलिया छिरिसकेका थिए । हरिमान र वीरकुमार भने मेक्सिको हुँदै छ महिना लगाएर अमेरिका पसिकेका थिए । साथीहरूको अभावले उसलाई नरमाइलो लाग्यो ।

दसैँको बिदा सकिएपछि पूर्णिमाको भोलिपल्ट ऊ सबैसँग बिदावादी भएर काठमाडौँतर्फ लाग्यो । काठमाडौँमा गाउँबाट मानिसहरू धमाधम फर्कन लागिसकेका थिए ।

आरआर क्याम्पसमा बिए पढ्दै गरेको रामुको पढाइ करिब करिब सकिनै लागेको थियो । त्यति बेला गाउँघरमा एस.एल.सी. पास गरेदेखि नै बिहे गर्न प्रस्ताव आउने गर्छन् । उसलाई पनि बिहेका लागि थुप्रै प्रस्ताव आइसकेका थिए । बुबा, आमा सबैको आग्रहलाई स्वीकार गर्दै उसले बिहे गर्ने निर्णय गर्‍यो । मङ्सिर महिनामा उसको बिहे गर्ने तय भयो ।

बिहेका लागि धूमधाम तयारी भयो । जीवनमा एक पटक गर्नुपर्ने बिहे, त्यसैले बाजागाजाकासाथ भव्य बिहे हुने भयो । त्यहीमाथि पनि जेठो छोराको बिहे विशेष महत्त्वका साथ गर्ने बाबुआमाको इच्छाअनुसार नै बिहे भव्य भयो । उसले सुन्तलीलाई जीवनसाथीको रूपमा भित्र्यायो । अब उसको जीवनको महत्त्वपूर्ण दिन आरम्भ भयो ।

बिहे सकिएको केही दिनपछि सुन्तलीलाई लिएर ऊ काठमाडौँ फक्र्यो । जीवनका नयाँ अनुभव, नयाँ उमङ्गका साथ उसको दिनचर्या सुरु भयो । त्यति बेला काठमाडौँको फोटो सेन्टर र स्टेसनरी पसलहरूमा जताततै डिभी भर्नेहरूको भीड देखिन्थ्यो ।

हरेक वर्ष डिभी भर्नेहरूको मेला लाग्छ काठमाडौँको गल्लीहरूमा र यो देख्दा आफ्नो देशमा बस्ने रहर कसैलाई छैन जस्तो लाग्थ्यो । एक दिन उसले पनि डिभी भर्ने विचार ग¥यो र न्यूरोडको फोटो सेन्टरमा गएर फोटो खिचायो र डिभी फाराम भर्‍यो । जे पर्ला पर्ला भनेर उसले यस्तो निर्णय गरेको थियो ।

असारको महिना थियो । उसको डेरामा अमेरिकी एम्बेसीबाट खाम बन्दी चिठी आयो । उसलाई डिभी चिट्ठा परेछ । रामु र सुन्तलीलाई अमेरिका जाने भाग्योदय चिट्ठा पर्‍यो । सुन्तलीलाई देखाउँदै ऊ खुसीले दङ्दास भयो । डिभी प्रोग्रामको नियमानुसार उनीहरूले सबै तयारी पूरा गरे र अन्तर्वार्ताको लागि दुवै जना एम्बेसी पुगे । साँझ भिसा पाउने निश्चित भएपछि खुसीले गद गद हुँदै रमाए । उसले घरमा बालाई फोन गरी अमेरिका जाने खबर सुनायो । बा आमा रमाउन त रमाए तर पनि परदेश जानेको मातापिता को नै खुसी हुन्छन् र ? उसका बाआमालाई एकातिर खुसी थियो भने अर्कोतिर आफ्नो छोरा सात समुद्रपारि जान्छ भन्ने चिन्ता थियो ।

दुई महिनापछि सबैसँग बिदा भई रामु र सुन्तली अमेरिकातर्फ प्रस्थान गरे । बा, आमा, रामु, सुन्तलीका बा आमा, साथीहरू बिदाइ गर्न आएका थिए । उनीहरू गहभरि आँसु लिँदै घरघर फर्किए ।

अमेरिकाको टेक्ससमा बस्ने छिमेकी वीरकुमारको घरमा उनीहरूले केही दिन बिताए । अमेरिका आएपछि उसको दुःखको दिन सुरु भयो । विदेश जाने रहर त पूरा भएको थियो तर आफ्नो देश, आफ्नो जन्मभूमि, आफन्तहरू, साथीहरू सबै छोडेर विदेश लाग्दाको पीडा उनीहरूले भोग्दै गए ।

वीरकुमारले उनीहरूको आवास, जागिर सबैको बन्दोबस्त गरिदिए । हुन त विदेश जानेहरूलाई सुरुका दिनमा सहयोग गर्ने नेपालीहरूको संस्कारै बसिसकेको छ । रामुले नजिकैको एक ग्यास स्टेसन र सुन्तलीले नेपालीको रेस्टुरेन्टमा काम गर्न थालिन् । एवम् रीतले उनीहरूको महिना र वर्ष बितेको पत्तै भएन । एक एक गर्दै रामुको दुई छोरा र एक छोरी जन्मे । सुखी जीवन सुरु भयो ।

अमेरिकामा घर, काम, सपिङ सबैको लागि गाडी चाहिन्छ । त्यसैले रामु र सुन्तलीको आआफ्नै गाडी थियो । बच्चाहरू हुर्कँदै गए, अपार्टमेन्ट साँघुरो हुँदै गयो । उनीहरूले घर किने र आफ्नै घरमा बस्न थाले ।

गरिब परिवारमा जन्मेको रामुले दुःखले स्कुल पढेको थियो । बी.ए.सम्म पढ्दा लागेको ऋण, उसको बिहेमा लागेको ऋण त छँदै थियो अमेरिका आउँदा लागेको जहाज टिकट र केही समयको लाग्ने रकम आदि सबै सापटीमै चलेको थियो । ती सबै ऋण तिर्न नसकेर ऊ छटपटिएको थियो ।

एक दिन नेपालबाट फोन आयो । बुबा सिकिस्त हुनुहुन्छ भन्ने खबरले ऊ छटपटीमा प¥यो । तुरुन्त टिकट काटेर नेपाल जान सम्भव थिएन । फोनबाटै बुबालाई काठमाडौँमा ल्याउनु र उपचार गराउनु खर्चको व्यवस्था म गर्छु भनेर सान्त्वना दियो ।

बुबालाई क्यान्सर भएको रहेछ । सानोतिनो दबाइपानीले पुगेन । काठमाडौँमा उपचार पनि सम्भव भएन । गाउँका सबै मिलेर बुबालाई दिल्ली लगे । महिना दिनजतिको उपचारपछि घर ल्याउने कार्य भयो । यति बेलासम्म उसका काका, ठूलाबडा, ससुराली सबैबाट लिएको सापटी रकम करोडभन्दा बढी थियो ।

बच्चाहरू हुर्कँदै गए । फोन, इन्सुरेन्स, गाडीको भुक्तानी, क्रेडिट कार्ड, मोरगेज, बत्ती–पानी, खाना, भोजभतेर आदि गरेर उसको खर्च दिनानुदिन चुलिँदै गयो । रामु र सुन्तलीको सामान्य कमाइले यी सबै खर्च धान्न नसक्ने अवस्था सिर्जना भयो ।
अमेरिकामा लोन लिन सजिलो छ, ब्याज तिर्दा तिर्दा कायल बनाउँछ भन्ने त थाहा थियो तर लोन लिनु उसको बाध्यता बन्यो । घरमा आएका थुप्रै चिठीहरू मध्ये एक चिठीमा लोन दिने स्वीकृत भएको रहेछ । श्रीमतीसँग सल्लाह नगरी त्यो लोन लिने र केही पैसा बुबाको उपचारको लागि लागेका सापटी तिर्न पठाउने निर्णय गर्‍यो ।

घरको खर्च, खाना, केटाकेटीको खर्च, मोरगेज, गाडीको खर्च, इन्सुरेन्स, हालै अमेरिकन फाइनान्स कम्पनीसँग लिएको लोन, बत्ती, पानी, फोन, क्रेडिट कार्ड आदि गर्दा उसको र सुन्तलीको आम्दानीले भ्याउन नसक्ने भयो ।

ग्यास स्टेसनमा काम गर्ने भएकाले उसलाई शनिवार र बुधवार चिट्ठा खुल्ने बारेमा राम्ररी जानकारी थियो । चिट्ठाको रकम कहिलेकाहीँ दुई सय, तीन सय मिलियन पुग्थ्यो । ऊ हरेक पटक चिट्ठा किन्थ्यो र हिसाब गर्न थाल्थ्यो । यति पैसा भएमा उसको पढ्दाखेरि लागेको ऋण, बिहेको लागि बुबाले लिनुभएको ऋण, अमेरिका आउँदा लिएको सापटी, बुबाको उपचारार्थ काका, ठूलोबा, ससुरालीले दिएको रकम, घरको मोरगेज पेअफ, हालै अमेरिकन फाइनान्स कम्पनीसँग लिएको लोन सबै तिरेर आपूm आनन्दले बस्न पाउने कल्पना गथ्र्यो । हरेक हप्ता उसले चिट्ठा किन्थ्यो र मनमनै योजना बनाउँथ्यो । तर ती योजनाहरू चकनाचुर हुन्थे । यसरी उसले कल्पनाहरूमै वर्षा बितायो ।

गत महिना चिट्ठाको रकम एक हजार मिलियन पुग्यो । उसले काम गर्ने पसलमा चिट्ठा किन्ने मान्छेको भीड लाग्न थाल्यो । अरूले जस्तै उसले पनि मनमनै यस पटक चिट्ठा आपूmलाई परेमा अरब पति बन्ने, सबै ऋण चुक्ता गर्ने र सपरिवार आनन्दले रम्ने कल्पना ग¥यो । सधैँजस्तै यस पटक पनि उसले भाग्योदय चिट्ठा किन्यो । उसको चिट्ठाको नम्बर १५, २१, ३०, ५७ र ४८ थियो ।

काम सकेपछि ऊ घर फर्कियो । सुन्तली र छोराछोरीलाई आपूmले चिट्ठा किनेको बतायो र यस पटक चिट्ठाको रकम एक हजार मिलियन डलर पुगेको बतायो । नेपालीमा त्यो सयौँ बिलियन हुन्छ । यो चिट्ठा प¥यो भने आफ्नो जीवन सुखमय बन्ने बतायो र ती सबै ऋणबाट मुक्त हुने पनि बतायो ।

इतिहासमै ठुलो रकम यस पटक भएकोले अमेरिकी समाचारमाध्यमबाट जताततै चर्चा हुनु स्वाभाविकै थियो । साँझ रामुले टिभी खोल्यो र समाचार सुन्यो । समाचारमा चिट्ठाको नतिजा घोषणा भयो । टिभीमा आयोजकले चिट्ठा पर्ने भाग्यमानी चिट्ठा नम्बर १५, २१, ३०, ५७ र ४८ भएको घोषणा गर्‍यो । रामुले सोफामा बस्दै आफ्नो वालेटबाट चिट्ठा निकाल्यो र नम्बर हेर्न लाग्यो । नम्बर पढ्दै जाँदा १५, २१, ३०, ५७ र ४८ सबै नम्बर मिलेको रहेछ । चिट्ठाको रकम यति धेरै थियो कि विल गेट, मार्क जुकरवर्गभन्दा धनी बन्न पुग्ने रकम थियो । यस रकमले उसको सबै ऋण चुक्ता गरेर घरको मोरगेज तिरेर पनि अथाह सम्पत्ति बचत हुने थियो ।

उसकी श्रीमती र छोराछोरी खाना खाँदै थिए । चिट्ठा नम्बर पढ्दापढ्दै उसको आवाज रोकियो । लौन के भयो भन्दै सुन्तली सोफाको नजिक पुग्दा रामुको सास रोकिएको थियो । सुन्तली रुन कराउन थाली । छोराछोरी पनि चिच्याई चिच्याई रुन थाले ।
रुवाबासी सुनेर छिमेकीहरू के भयो भन्दै रामुको घर आए । उनीहरूले पुलिस र एम्बुलेन्सलाई खबर गरे । एम्बुलेन्सले रामुलाई नजिकको अस्पताल पु¥यायो । अस्पतालको इमरजेन्सी रुममा कार्यरत डाक्टरले रामुले यस लोकबाट बिदा लिइसकेको कुरा सुनाए । इमरजेन्सी रुम कोलाहलले भरियो । भाग्योदय चिट्ठा परेर सुखी बन्ने रामुको सपना सपनामै अन्त भयो ।