अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

यस पालीको दशैँ

पदम विश्वकर्मा २०७५ कार्तिक ३ गते १३:१३ मा प्रकाशित

यस पालीको दशैँ पनि
निधार खाली बनेर बित्यो
तिम्रो हातको टिका नलगाएको
वर्षौँ बित्यो “आमा”
तिम्रो आशिष् नपाएको पनि
वर्षौँ बित्यो “बा”
ती आशिर्बचनहरु
यादमा मात्रै तड्पिरहेछु ।
लाग्छ,
आमा ! फर्की आऊ अर्को दशैँमा
निधार भरि टिका लगाइदेऊ
लाग्छ,
बा ! फर्की आऊ अर्को दशैँमा
र मनभरिको आशिष् देऊ ।

दशैँका बलिहरू सम्झँदै
द्वन्द्वले बलिदानी भएका योद्धाहरू सम्झदैं
यस वर्षको दसैँ पनि
बितिरहेछ हरेक वर्ष जस्तै !

लिङ्गे पिङ खेलेको सम्झना गर्दै
घर आँगन रङ्गिएको याद मात्रै झल्किरहेछ ।
यस पालीको दशैँमा पनि
एक जोर नयाँ गुन्यु चोली किन्न सकिन छोरी
टिका थाप्न पर्खिबसेका छोराहरू
एक जोर कमिज पनि किन्न सकिन छोराहरू
दिनभर काममा पसिना काढ्दै
साँझ मात्रै घर फर्किरहेछ ।

विदेशी भूमिमा भएर होला,
नवदुर्गा आएको देखिएन
परदेशमा भएर होला,
फुलपाती भित्रिएको देखिएन
भूकम्पले छिया छिया पारेर होला
यसपालि,
दुर्गा पनि बस्न मानिनन् रे भद्रकालीमा ।

आफ्नाहरू तितर बितर छन्
कैयन युवाहरू अरबको खाडीबाट
रातो बाकसमा फर्किए
र कैयौँ युवाहरू द्वन्द्वमा सहिद बने
चेलीहरूको निधार पुछिए
लाहुर गएका कैयौँ छोराहरू,
दसैँ मान्न घर आएनन् रे
त्यसैले,
घरको रौनक पनि हराए जस्तै लाग्छ होला
घरको आँगन पनि सुनसान भए जस्तै लाग्छ होला ।
यस पालीको परदेशी दसैँ
निधारमा टिका थाप्ने रहरमा बित्यो
कानमा जमरा थाप्ने रहरमा बित्यो
धिक्कारै धिक्कारमा बित्यो
आमा !
परदेशको दसैँ,
धिक्कारै धिक्कारमा बित्यो ।