अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

गोरखा दक्षिण बाहु

पदम विश्वकर्मा २०७६ वैशाख ७ गते १२:४१ मा प्रकाशित

यसपालि पनि राष्ट्रपतिज्यू,
गोरखा दक्षिण बाहु ग्रहण गर्न शीतल निवास धाउन सकिन ।

देशमा बाढी आयो, पहिरोले सारा बगायो,
भूकम्पमा विदेश बस्नेहरूको पसिनाको खोलो बग्यो
पीडितहरूको सहयोगमा लाखौँ डलर त्रिपाल, कम्बल र सिटामोल बने
देश अझै रेमिटेन्सले चलिरहेको बेला विदेशमा बस्नेहरूलाई
दक्षिणबाहुले सम्झन सकेन
केवल तिनै कम्बल र त्रिपाल कुम्ल्याउनेहरू विभूषित बने
त्यसैले राष्ट्रपतिज्यू,
गोरखा दक्षिण बाहु ग्रहण गर्न यसपालि शीतल निवास धाउन सकिन ।

गोरखा दक्षिण बाहु,
तस्कर, घुस्याहा र रातारात महल खडा गर्नेहरूलाई पुरस्कार बन्यो
जनताका छातीमा गोली हान्नेहरूलाई हौसला बन्यो
मनपरी तन्त्र चलाउनेहरूलाई तक्मा बन्यो
वेश्यावृत्तिका नाइके र गुण्डाहरूलाई प्रेरणा बन्यो
देश धितो राख्नेहरूलाई पदवी बन्यो
त्यसैले राष्ट्रपतिज्यू,
गोरखा दक्षिण बाहु ग्रहण गर्न यसपालि शीतल निवास धाउन सकिन ।

गोरखा दक्षिण बाहु,
उहिले पनि तिनै चाकरी, चाप्लुसी र ठगहरूमा सीमित थियो
आफन्त र भाइ भारदारहरूमा
अहिले पनि उनीहरूमै सीमित भयो
के फरक भयो त दक्षिण बाहु ?
केवल लिने र दिनेहरू फरक
नारायणहिटीबाट शीतल निवास
त्यसैले राष्ट्रपतिज्यू,
गोरखा दक्षिण बाहु ग्रहण गर्न यसपालि शीतल निवास धाउन सकिन ।

गोरखा दक्षिण बाहु,
जुम्लाका छाप्रोहरूमा कहिले टाँगिन्छ होला ?
हुम्लीको भोको पेटमा कहिले भरिन्छ होला ?
च्यातिएका छानोमा टालो कहिले हालिन्छ होला ?
गरिब नानीको खाली आँङ् कहिले ढाकिन्छ होला ?
सहिद पत्नीहरूको आँसु अझै बगिरहेछ
गोलीले ढलेका छोराका आमाको आँसु सुकेका छैनन्
रोल्पा, रुकुम र रामेछापमा
रगतको टाटो अझै सुकेका छैनन्
त्यसैले राष्ट्रपतिज्यू,
गोरखा दक्षिण बाहु ग्रहण गर्न यसपालि शीतल निवास धाउन सकिन ।

देशको माया मुटुमा राखेर
विदेशका गल्लीहरूमा भौँतारिँदै हिँड्नेहरू,
देश दुख्दा आफू दुख्नेहरू,
देश रुँदा आफू रुनेहरू
आफ्नो गाँस काटेर देशको विकासमा सदैव हात फैलाउनेहरू,
देशको भाषा, साहित्य र संस्कृतिलाई सगर्भ
विदेशका कुना कुनामा फैलाउनेहरूको के गल्ती थियो र ?
त्यसैले राष्ट्रपतिज्यू,
गोरखा दक्षिण बाहु ग्रहण गर्न यसपालि पनि शीतल निवास धाउन सकिन ।