अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४५ | Colorodo: 06:00

मुस्कान

रमा दुलाल २०८० फागुन १२ गते ८:०३ मा प्रकाशित

कविता
तिमी शब्दमा अल्झ्यौ,
म मुस्कानमा रमाएँ,
तिमी शब्दमा अटक्यौ
म भावमा हराए!!

शब्दको अर्थ “यो..” पनि हुनसक्छ,
शब्दको अर्थ “त्यो..” पनि हुनसक्छ,
शब्दको अर्थमा अर्थलाई “शब्द” चाहिन्छ।
अर्थ शब्दकोशमा पाइन्छ
यसैले त,
तिमी शब्दकोश त पल्टाउँछौ
शब्दकोशमा अर्थ खोज्छौ
अर्थहरू विभिन्न हुन सक्छन्
अर्थलाई अर्थ्याउनु तिमीभित्र छ
अर्थलाई प्रस्ट्याउनु तरङ्गित हुन्छ
छाल झैँ किनारा छुन्छ
मनै त हो,

अर्थै अर्थ भित्र रुमलिन्छ- “शब्द”
भो, शब्द भित्र अर्थ नखोजौँ
तर,
मुस्कान “शब्द” होइन,
मुस्कान “अर्थ” होइन
मुस्कानको अर्थमा अर्थलाई “हृदय” चाहिन्छ
मुस्कानको अर्थमा अर्थलाई “समर्पण” चाहिन्छ
मुस्कान भित्र “अर्थ” हुँदैन
मुस्कान “भाव” हुन सक्छ।

मुस्कान “प्रेम” हुन सक्छ
मुस्कान “स्वीकृति” हुन सक्छ
मुस्कान “खुसी” भई दिन्छ
मुस्कान “दुःख” दिन सक्छ
मुस्कान “वेदना” भई रुन्छ
मुस्कान “दर्द” भई दुख्छ
त्यसैले त,
मुस्कान “मौन” हुन्छ।
मुस्कान “नाद/नुर” हुन्छ।
मुस्कान “दर्शन” हुन्छ।
मुस्कान “परमात्मा” हुन्छ।

बन्द आँखाले हेर त,
मुस्कान भित्र “तिमी” हुन सक्छौ
मुस्कान भित्र “म” हुन सक्छु
परिभाषा नखोज मुस्कानको
अर्थ नलगाउँ मुस्कानको
मुस्कान आफैमा अर्थ हो।
मुस्कान आफैमा आनन्द हो ।
मुस्कान आफैमा “खुसी” हो ।