अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

प्रेम दिवसमा गुलाबको चित्कार

आचार्य प्रभा २०८० माघ २८ गते १५:३७ मा प्रकाशित

कविता –

म प्रेमको परिभाषा खोजी रहेछु यतिबेला,
निमोठिएर चुँडिएका गुलाबका थुंगा थुंगाहरूमा
र म सोधी रहेछु मायाका अनुभवहरू
च्यातिएका प्रत्येक गुलाबका पत्र पत्रहरूसँग
तर….मौन गुलाब मौनताभित्रै
सुँक्सुकाई रहेकी हुन्छे ,
ऊ निरुत्तर बन्छे आफैं,
आफ्नो हत्याको कारण बुझ्न नसकेर ।
हुन पनि त हो, के कसैको
प्रेम प्राप्ति भन्नाले कसैको जीवन समाप्ति हो?
अनि….कसैलाई प्रेम अर्पण गर्नु भनेको
गुलाबको घाँटी रेटिनु नै हो ?
अनि म आफू पनि निरुत्तर भएर स्तब्ध बन्छु,
तब केही मिठा भावनाहरू
मभित्र उर्लिएर आउँछन् र मलाई कानेखुसी गर्छन्
प्रेम दिवस मात्र प्रेमी,प्रेमीकाको
लेनदेनको माध्यम होईन
प्रेम दिवस त स्वच्छ मनबाट
दिईने मिठो प्रेम हो,
आत्मीयताको प्रतीक हो
जो जस्लाई र जहिले पनि
निःसंदेह दिईन्छ
अनि लिईन्छ ।
प्रेम दिवस यसैको पर्याय हो
हरपल,हर समय बाँडिने
अन्तर्मनको मिठो आभास हो भन्दै
अनि म….मेरो प्रश्नभित्र
आफैं उत्तर बनेर गुन्जिन्छु
र, ती ओईलिएर सुकेका गुलाबहरूलाई
म पटक,पटक चुम्छु
अफ्सोच!ती ओईलाएर सुकेका गुलाबहरू
भूँईभरी असरल्ल छरिई रहेकै हुन्छन्
म प्रेमले समेटेर ती गुलाबका पत्र पत्रहरूलाई
मेरो पुरानो डायरीको पानाहरूभित्र राखी दिन्छु
बल्ल,ती गुलाबका पत्रहरूले
आफूहरूले पनि प्रेम प्राप्तिको अनुभूत गरे झैं लाग्छ
म सन्तोषको सुस्केरा फ्याँकेर टोल्हाउँन थाल्छु ।

रचना -२/९/२०२४ साँझ।