अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 08:37

अहिलेका नेताहरू

डा. दुर्गा दाहाल, “अनुभव”

डा. दुर्गा दाहाल, “अनुभव” २०७७ वैशाख ३१ गते १०:४१ मा प्रकाशित

“नेपाल भारतकै एउटा राज्य हो ।” यो मैले भनेको हैन । नेपालकै नेताहरूले नबोलीकन यो वाक्य भनी रहेका छन् । हामीले बुझ्न नसकेका मात्र हौँ ।

मलाई त नेपालै प्यारो लाग्छ । विदेशमा बस्ने आफ्नै कथा, व्यथा र विवशता भए पनि “ म नेपालको हुँ “ भन्दा छाती गर्वले फुल्छ र मन रमाउँछ तर मलाई थाहा छ अब नेपालको अस्तित्व क्रमशः लोप हुनेछ । मेरो पालासम्म त म नेपाली नै रहेर बाँच्न पाउनेछु तर केही दशक पछि नेपाल विलय भएर जानेछ ।

मेरा उपर्युक्त वाक्यहरू तिता छन्, अप्रिय छन् तर यथार्थ त्यही हो । नेपाल क्रमशः दक्षिण, पूर्व र पश्चिम तिरबाट घट्दै जानेछ र मधेसको धेरै भाग हामीले गुमाउने छौँ। अन्ततोगत्वा उत्तरले पनि हाम्रो सिमाना मिच्न सक्छ ।

हाम्रो कमजोर परराष्ट्र नीति, अदूरदर्शिता, नेताहरूको अकर्मण्यता, घरायसी झगडा, परमुखापेक्षीता, नेतृत्वविहीनता आदि- इत्यादि कारणले गर्दा हामी दिन- प्रतिदिन कमजोर हुँदै गई रहेका छौँ ।

राष्ट्रियता केवल एउटा शब्दमा सीमित भयो । यति सुन्दर र संवेदनशील शब्दलाई राजनैतिक दलहरूले केवल मञ्चमा र भाषणहरूमा सीमित गरी दिए । यो शब्द कति गहन र संवेदनशील छ, त्यसलाई नेताहरूले नबुझेका हैनन् तर सीमित स्वार्थ र लोभलाई त्याग्न नसकी अथवा प्रतिकार गर्न नसकी शरणार्थी भए ।

भारत हाम्रो छिमेकी राज्य हो । ऊसँग हामीले मित्रतापूर्वक व्यवहार गर्नु पर्छ तर त्यसो भनेको आफ्नो अस्तित्व बेच्नु हैन । उसका लागि हामी पनि छिमेकी राज्य हौँ । हामीसँग पनि उसले मित्रतापूर्वक व्यवहार गर्नु पर्छ । तर उसले गर्दैन भन्ने कुरा हामीले बुझ्नु पर्छ ।

हामीले भारतसँग मुकाबिला गर्ने क्षमता गुमाई सकेका छौँ । हामी केवल एउटा गरिब प्रदेशका रूपमा विकसित हुँदै गयौँ । हाम्रो पढे लेखेको युवा शक्ति अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडा र अन्य विकसित मुलुकमा गई रहेको छ भने कर्मठ युवा शक्ति खाडी मुलुकहरूमा छ । विकसित मुलुकहरूको युवा शक्ति शायदै फर्किएला । हामी हाम्रो मानव संसाधन बाहिर पठाएर मस्त छौँ । रेमिटेन्स भित्रियो भनेर मक्ख छौँ । व्यक्तिगत रूपमा फाइदा पुग्यो हामीलाई तर राष्ट्रीयपूँजीको त निर्माण भएन । हामीले सडक बनाउनु भन्दा पहिले गाडी किन्यौँ र भुईँचालो आउँछ भन्ने जान्दा- जान्दै नौ तले घर बनायौँ । रेमिट्यान्सबाट आएको पैसा नेपालमा बास मात्रै बस्यो र भोलिपल्ट भारत गयो ।

नेपालमा राजाहरूले स्थापित गरेका उद्योग र कल- कारखानाहरू बन्द भए । राजनैतिक नियुक्तिका नाममा अदक्ष मानिसहरू त्यहाँका अध्यक्ष र डाइरेक्टर भए । एक जना राजालाई मासेर अनेक राजा भए ।

सङ्घीयता र धर्मनिरपेक्षता जनताको माग थिएन । अन्तिम घडीमा आएर हाम्रो संविधानमा यी दुई वटा कुराहरू अन्तरभुक्त गरियो जुन नेपालका लागि अत्यन्त हानिकारक छ । यसो गर्नुका पछाड़ी भारतीय स्वार्थ र युरोपेली युनियनको स्वार्थ जोडिएको थियो । क्रमशः सर्वसाधारण नेपालीहरूले थाहा पाउँदै जानेछन् तर त्यतिखेर सम्म ढिलो भइसकेको हुनेछ ।

नेपालको इतिहासमा मदन भण्डारी र जीवराज आश्रितको हत्या सुनियोजित थियो । मदन भण्डारी जीवितै हुन्थे भने आजका हुतिहारा कम्युनिस्ट हामीले देख्नु पर्ने थिएन । अहिलेका कम्युनिस्ट नेताहरूबाट केही आशा गर्नु दिवास्वप्न मात्रै हुनेछ । भारतमा पालिएका कम्युनिस्टहरूले भारतकै खातिर काम गर्ने छन् । व्यक्तिगत रूपमा अहिलेका नेताहरूलाई प्रशस्त फाइदा पुगेको छ । अर्को कुनै लेखमा यसबारे व्याख्या गरौँला ।

दरबार हत्याकाण्ड पनि नेपाललाई कमजोर बनाउने ठुलो षड्यन्त्र थियो । त्यसपछि त नेपाल अत्यन्त कमजोर भयो ।

यसरी नेपाली भाषा, साहित्य- संस्कृति र सभ्यता माथि पनि बलात्कार भइरहेको छ ।

जसले जतिसुकै चर्को नारा दिए पनि सरकारमा बस्ने मानिसहरू निकम्मा र लुरे भए पछि देश यसरी नै बलात्कृत हुँदै जान्छ । भारत र चीनले नेपाललाई नसोधी नेपाली भूमिबाट तिब्बततर्फ बाटो लैजानुले नेपाललाई कत्तिको फाइदा पुग्छ, त्यो त भविष्यले देखाउला तर नसोधीकन कुनै देशको जग्गा मिच्नु पनि अन्तर्राष्ट्रिय क़ानून विपरीत हो ।

भारतले नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा गन्दैन । कहिल्यै पनि गनेको छैन इतिहासमा । हामीले त्यो अपेक्षा नगरे हुन्छ । महँगो गाडीहरू किनेर र अन्य धेरै सामग्री किनेर, भारतीय संस्कृतिमा रमाएर हामी राष्ट्रियताको आत्मरति त लिई रहेका छैनौँ ?

अहिलेका राजनैतिक दल र नेताहरूबाट हाम्रो राष्ट्रको सुरक्षा र कल्याण हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन ।

एक पटक नेपालमा पुनर्जागरण भयो र नेपालको राजनीति पुस्तान्तरण भयो भने म किञ्चित आशा र विश्वास गर्न सक्छु । कृषि क्रान्ति र औद्योगिक कान्ति मार्फत अहिलेका युवाहरूले केही गरे भने, विद्युतीय शक्ति अथवा पर्यटन उद्योग मार्फत पनि केही हुन सक्यो भने आशावादी हुने ठाउँ छ तर सिमानाहरू छुट्ट्याउनु पर्‍यो र दुवै छिमेकी देशहरूले सह- अस्तित्वको सिद्धान्तलाई पालना गर्नु पर्‍यो ।

सानो भए पनि नेपाल एउटा स्वतन्त्र राष्ट्र हो । यसको पनि सैन्य शक्ति छ । परराष्ट्र नीति अन्तर्गत नेपाल पनि रहन सक्नु पर्‍यो । सबै कुराहरू भारतमै गएर सोध्ने, भारतमै गएर गर्ने हुनाले भारतले नेपाललाई कमजोर राष्ट्रको रूपमा हेरेको छ । नेपाललाई एउटा प्रान्तको रूपमा हेर्छ र त्यसै अनुरूप व्यवहार गर्छ ।