अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

हिउँ र तिमी

बसन्त श्रेष्ठ २०७६ मंसिर १० गते १५:१३ मा प्रकाशित

फेरी पनि आकाशबाट सेता भुवा जस्ता हिउँ झर्न थाले
फूलका थुँगा जस्ता हिउँ हातमै बिलाउन थाले
वर पर माथि तल सबै सेता बन्दै
मनोरम दृश्यले वातावरण घनिभूत उज्यालो हुँदै गए
सुन्दर मायालु हिउँ जताततै छरपस्ट देखिए
हेर्दा हेर्दा हिउँ त
तिमी जस्तै सुन्दर पो देख्न थालेँ
तिम्रो मन जस्तै सफा सेतो मन वरिपरि पोखिएको देखेँ
तिम्रो चञ्चल स्वभाव झैँ हिउँ पनि क्षणमै बिलाउँदै गएको देखेँ
मायालु को मायामा थुप्रै थुप्रै झुम्मिए झैँ
सबै सबै मायालुहरू हिउँमा झुम्मिन थाले
मनमोहक बनेर आकाशबाट तिमी झरिरह्यौ
भुवा जस्ता तिम्रो कोमल मनलाई हातमा खेलाई रहेँ
हिउँमा पल्टेर हिउँ ओडेर अनि हिउँ हेरेर
सुन्दरता पिएर मदहोस मदहोस बनिरहे |

मध्यान्तरमा
हिउँ चिसिँदै गयो
चिसोले हात पोल्न थाल्यो
भुवा जस्ता हिउँ ढुङ्गा जस्ता बन्न थाले
सेता हिउँमा कालो दाग फैलिएर नराम्रो धब्बा देखिन थाल्यो
सम्झे कहिले कहीँ जिस्कँदा जिस्कँदै साँच्चै रिसाउने गर्छौ नि
सानो कुरामा पनि कहिलेकाहीँ मायाले ठुस्किने गर्छौ नि
त्यस्तै त्यस्तै पो लाग्यो मलाई त यो हिउँ पनि
सोध्न पो मन लाग्यो
कसले पोत्यो कालो दाग तिम्रो सुन्दर मुहारमा
कसरी त्यस्तो तिम्रो सुन्दर मुहार कुरूप बन्दै गयो
कसरी तिम्रो कोमल जस्तो मन पत्थर जस्तो कडा बन्दै गयो
लाग्यो दिन र रात झैँ/सुख र दुख झैँ/राम्रा नराम्रा झैँ
तिमी पनि मौसम सँगै बदलिँदै पो जान थालिछौ |

कालान्तरमा
तिम्रो कोमल स्वरूप स्थिर सिला बन्दै गयौ
तिम्रो सुन्दरता कालो धब्बा बन्दै घृणित बन्दै गयौ
तिम्रो सामिप्यता पाउनेहरू दुर दुर हुँदै जान थाले
सोचेँ तिम्रो चरित्रमा कालो दाग पो कतै लागेछ

तर अन्तमा-
जीवनको सार प्राप्त गरे झैँ
तिमीले यथार्थता बुझ्न थालेछौ
मायालु मन तिम्रो कठोर बनिरहन सकेन
संवेदनशील भावना नरम भएर पोखिन थाल्यो
तिम्रो पश्चात्ताप सबै आँसु बनेर बग्न थाल्यो
रुखबाट/ पातबाट/ घरको छानाबाट
सडकको किनारा बाट सबै सबै तिर बाट
तिम्रो कठोरता आँसुमा पग्लेर पानी झैँ बनेर बग्दै बग्दै गयो |

कहिले कहीँ कठोर बनेर पग्लने तिम्रो मन
तिम्रो आँखा बाट झर्ने त्यो आँसु
यहीँ हिउँ हिउँ मै पो देखेँ
तिम्रो मन जस्तै अनि तिमी जस्तै पो देखेँ
यस पटकको हिउँ त
साँच्चै तिमी तिमी जस्तै भएर पो आएछ |


भर्जिनिया, अमेरिका