अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

मित्रता

लीलाराज दाहाल २०७५ मंसिर २ गते १०:१७ मा प्रकाशित

लघुकथा
रामु र गोपालले निकै लामो समय सडक छेउमा खुद्रा व्यापार गरे । रामु प्राय ठेलामा फलफुल बेच्थे भने गोपाल हरिया सागसब्जी बेच्ने गर्थे । उनीहरू बिचको मित्रता नंग र मासुको झैँ थियो । उनीहरू एउटा बिरामी हुँदा अर्को बेचैन हुने , एउटाले ल्याएको खानेकुरा अर्कोलाई नख्वाई आफू पनि नखाने उनीहरूको बानी भैसकेको थियो । उनीहरूको मनको थालीमा मित्रताको दियो मज्जाले बलिरहेको थियो ।

रामु व्यापारको साथसाथै अभिनय पनि गर्दै थिए । उनको अभिनय दर्शकहरूले मन पराउँदै गए । उनको कला यात्रा फराकिलो हुँदै गयो । उनको अभिनय बिक्दै गएपछि उनले सडक किनारको व्यापार छोडी ठुलो व्यापारमा पनि लगानी बढाउँदै गए भने गोपाल आफ्नो पुरानै व्यापारमा तल्लीन रहेका थिए ।

कालान्तरमा रामु ठुला व्यापारी र प्रसिद्ध कलाकार बने । गोपालको आर्थिक अवस्था यथास्थानमै अल्झिएको थियो । अव रामुको जीवनशैली निजी विलासी गाडीमा सवार हुन सक्ने भैसकेको थियो । उनीहरूको भेट नभएको पनि निकै वर्ष भैसकेको थियो ।

रामु कतै जाँदै थिए । बेलुकीको समय , सागसब्जी किन्ने मानिसहरूको भीडले गर्दा उनको गाडी जाममा परेको थियो ।

सडकमा बसेर सागसब्जी बेचिरहेका गोपालका आँखा एकाएक रामुमाथि परे । उनी यति खुसी भए की बेच्दा बेच्दैका समान छोडेर रामुको गाडी भएतिर दौडिए । वर्षौँपछि भेटिएका आत्मीय साथी ! कसरी मन थाम्न सक्थे र ! साथीलाई अङ्गालेर बात मार्न कति मन लागेको थियो उनलाई । उनले गाडीको झ्यालैमा पुगेर रामुसँग हात मिलाउन खोजेका मात्र के थिए , उनको गालामा अचानक पहाड झैँ भारी मुक्का बर्सियो र उनी सडकमा पछारिए ।

गाडीभित्र कोही बोल्दै थियो , “सम्साँझै लामो हात गर्न आउँछन् खातेहरू ! ”

 

बागमती ११, कर्मैया, सर्लाही

प्रतिक्रिया