अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०८ | Colorodo: 21:23

अनेसास कोलोराडो च्याप्टरद्वारा वरिष्ठ कलाकार निर शाहलाई अभिनन्दन

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ भदौ १० गते १२:०९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरले वरिष्ठ कलाकार निर शाहलाई अभिनन्दन गरेको छ ।

कोलोराडोका विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरू समेतले सम्मान पत्र तथा खादाद्वारा सम्मान गरेको उक्त कार्यक्रममा उहाँले गर्नु भएको अभिनयको केही झलक पनि प्रदर्शन गरिएको थियो । प्रमुख अतिथि शाहले पानसमा बत्ती बालेर कार्यक्रमको उद्धाटन गर्नु भएको थियो । तीन पुस्ते परिवार सहित अमेरिकाको भ्रमणमा आउनु भएका शाह आफ्नो जीवन सङीनी उषा शाहसँगै मञ्चमा विशिष्ट पाहुनाको रूपमा आसीन हुनु भएको थियो । ५ दशकको अभिनय यात्रामा जीवनका विविध आरोह अवरोधलाई जीवन्त अभिनयबाट नेपाली सिने जगतका पर्याय बनेका निर विक्रम शाहले आफू कोमा (Coma) मा पुगेर पनि अझै केही गर्न बाँकी भएकोले फर्किएको भन्ने अभिव्यक्तिबाट महोल भावमय भएको थियो । भाषा कला साहित्य संस्कृति नाट्य जस्ता कुरालाई सम्मान गर्नु भनेको नेपाली भावनाको कदर गर्नु तथा कला सङ्गीतले नै हामी जहाँ भए पनि जोडिन्छौ आशय बोकेका उहाँका अभिव्यक्ति निकै सारगर्बित थिए । 

वरिष्ठ कलाकार शाहले सर्बप्रिय नेपाली कथानक चलचित्र प्रेम पिण्डमा आफूले निभाएको भूमिकाको स्मरण गर्दै सोही चलचित्रको सानो अंश अभिनय गरेर दर्शकलाई फेरि आफ्नो कुशल अभिनयले मुग्ध पार्नु भएको थियो । उक्त कार्यक्रममा वरिष्ठ कलाकार शाहका धर्मपत्नी उषा शाह, छोरा, बुहारी र नाति समेत उनको तिनै पुस्ताको उपस्थिति रहेको थियो ।

गायिका उषा किरण अधिकारी, निलम श्रेष्ठ, गायक मनोजकाजी तुलाधर, सुरेश चन्द्र प्रधान र विजय देव अधिकारीले शाहको रचनामा गीतहरू गाउनु भएको थियो । उहाहरुलाई बृन्दन देव अधिकारी र सुरेन्द्र महर्जनले सङ्गीतमा साथ दिनु भएको थियो । कार्यक्रममा अमेरिकाको टेक्ससमा हालै सम्पन्न मिस नेपाल युएसएमा सेकेन्ड रनरअप हुन सफल भएकी कृति ढुंगानालाई प्रमुख अतिथिबाट खादा ओढाएर सम्मान गरिएको थियो । साथै कृति ढुंगानाले कार्यक्रममा नृत्य पनि प्रस्तुत गरेकी थिइन । 

संस्थाका महासचिव श्याम श्रेष्ठले स्वागत मन्तव्य तथा आर्थिक सहयोग दाताको जानकारी दिनु भएको थियो भने उक्त संस्थाले प्रदान गरेको ताम्रपत्र वाचन गर्दै च्याप्टरका अध्यक्ष कृष्ण मुरारी ढुङेलले वरिष्ठ कलाकार शाहलाई अभिनय सम्राट्को उपाधि समेत दिनु भएको थियो । ज्ञानेन्द्र गदालले उहाँको सङ्क्षिप्त परिचय सहित एन आर एन कोलोराडो च्याप्टर तथा एन आर एन हेल्प डेस्कको तर्फबाट सम्मान पत्र प्रदान गर्नु भएको थियो । सम्मान पत्र तथा खादाद्वारा वरिष्ठ कलाकार शाहलाई सम्मान गर्ने कोलोराडोका संस्थाहरूमा रक्की माउण्टेन फ्रेन्डस अफ नेपाल, नेपाली घर, सङ्खुवासभा कम्युनिटी अफ युसए, नेवा ख:ल, एनआरएन कोलोराडो च्याप्टर र एनआरएन हेल्प डेस्क रहेको छ । 

साहित्य समाजको आयोजनामा रहेको कार्यक्रम भएता पनि साहित्य श्रीजनाले कुनै स्थान नपाएको उक्त कार्यक्रममा जनगुनासो समेत सुन्नमा आएको थियो । कार्यक्रमको सञ्चालन साबु गदाल कार्कीले गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा च्याप्टर सभापति ढुङ्गेलले प्रमुख अतिथि लगायत अभिनन्दन समारोह सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो । 

More PHOTOS CLICK HERE

कार्यक्रमको भिडियो


प्रतिक्रिया