अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

काठमाडौँ महानगरपालिका र बोल्डरबीच भगिनी सम्बन्ध स्थापित सहमति पत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०८० माघ १२ गते १३:२२ मा प्रकाशित

बोल्डर, कोलोराडो । काठमाडौँ महानगरपालिका र बोल्डर सिटीबिच भगिनी सम्बन्ध स्थापित भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र बोल्डर सिटीका मेयर आरोन ब्रकेटबीच बिहीबार त्यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

‘काठमाडौँका डाइनामिक मेयर बालेन शाहसँगको भेटघाट उपलब्धिमूलक रह्यो,’ मेयर ब्रकेटले आफ्नो फेसबुकमा स्टाटस लेखेका छन्, ‘हामीले बोल्डर र काठमाडौँबिच भगिनी सम्बन्ध स्थापित गर्ने सहमति पत्रमा हस्ताक्षर गर्‍यौँ।’ उनले बोल्डरमा बसोबास गर्ने ऊर्जाशील नेपाली–अमेरिकी समुदाय र भविष्यमा दुई शहर जोडिन सक्ने विषयहरूमा कुराकानी भएको पनि उल्लेख गरेका छन् । काठमाडौँ महानगरपालिकासँग अन्तर्राष्ट्रिय १६ वटा नगरसँग भगिनी सम्बन्ध रहेको छ ।

‘हामीले बोल्डरमा नेपाली कल्चरल सेन्टर स्थापना गर्न सकिने सम्भावनाका विषयमा कुराकानी गर्‍यौँ,’ उनको पोष्टमा उल्लेख छ, ‘मेयर बालेन शाहले त्यसमा आवश्यक पर्ने डिजाइन र निर्माण प्रक्रियामा सहयोग गर्ने उदारता देखाउनु भयो । यी दुई भगिनी शहरको भविष्य उज्ज्वल छ ।’

मेयर ब्रेकेटले बोल्डर र काठमाडौँबिच भगिनी सम्बन्ध स्थापित गर्न नारायण श्रेष्ठले खेलेको भुमिकाप्रति धन्यवाद दिएका छन् । ‘मेरा असल साथी नारायण श्रेष्ठ नभएको भए भगिनी सम्बन्ध कायम गर्ने यात्रा पुरा हुने थिएन,’ उनले भनेका छन् । साथै, मेयर ब्रेकटले कोलोराडो र नेपालमा थुप्रै प्रभावशाली आयोजनाहरू चलाइरहेको भन्दै श्रेष्ठको सहयोग प्राप्त हुनु ‘भाग्यशाली’ भएको भन्दै उनको प्रशंसा समेत गरेका छन् । श्रेष्ठ हेल्पिङ ह्याण्डस् सामाजिक संस्थाका अध्यक्ष हुन् ।

मेयर ब्रकेटको फेसबुक स्टाटस

 

प्रतिक्रिया