अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

कोलोराडोमा विविध सांस्कृतिक कार्यक्रमसहित ल्होसार मनाइयो

बिआरटीनेपाल २०८० पुष १७ गते २१:२२ मा प्रकाशित

कोलोराडो । तमु धि कोलोराडोको आयोजनामा गुरुङ तमु जातिको महान् पर्व ल्होसार २०२४ विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ ।

तमु धिको आयोजनामा यो वर्ष हि ल्हो अर्थात् बिरालो वर्गको बिदाइ तथा गिद्द बर्गको स्वागत गर्दै नयाँ वर्ष जनवरी १ तारिखका दिन विभिन्न सांस्कृतिक कार्यक्रमसाथ बोल्डर को एभालन बलरुममा मुप्री ल्होसार मनाएको हो ।

ज्येष्ठ नागरिक ८८ वर्षीय श्रीमती दुजमाया गुरुङले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेकी थिइन । कार्यक्रममा अमेरिका, नेपाल र गुरुङ जातिको राष्ट्रिय गान बजाइएको थियो । दुई चरणमा सञ्चालित कार्यक्रममा पहिलो चरणको सञ्चालन तमु धि कोलोराडोका उपाध्यक्ष भुवन गुरुङ र दोस्रो चरणको कार्यक्रमको सञ्चालन सरिता गुरुङले गरेकी थिइन ।

कार्यक्रममा कोलोराडोमा भएका सङ्घसंस्थाका प्रतिनिधिहरुलाइ कमला गुरुङ, ज्ञानु गुरुङ तथा भुवन गुरुङले खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै तमु धि कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङले ल्होसारले गुरुङ जातिको संस्कार संस्कृति जगेर्ना गर्न उल्लेख्य भूमिका खेलेको बताउँदै सम्पूर्ण सहयोगी मनलाई धन्यवाद दिएका थिए । कार्यक्रममा धेरै जसो गुरुङहरूको संस्कृति झल्किने गरी गुरुङ भेसभुसामा उपस्थिति भएका थिए । कार्यक्रममा स्थानीय कलाकारहरूको गीत, नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा कोलोराडोको यिरीमा रहेको नेपाली तथा गुरुङ पाठशालाका साना साना भाईबहिनिहरुले नृत्य तथा नेपाली तथा गुरुङ भाषामा आफ्नो परिचय दिएका थिए ।

नृत्य प्रस्तुत गर्नेहरुमा शासन गुरुङ, सुषमा गुरुङ, प्रियङ्का श्रेष्ठ, प्रतिमा गुरुङ, लीला गुरुङ, चम्पा घले आदी थिए । कार्यक्रममा सन्तोष गुरुङ, दीपक गौतम, अनल श्रेष्ठ पिया तथा आभास भण्डारीको समूहले गीत प्रस्तुत गरेका थिए ।

ल्होको अर्थ वर्ग (वर्ष) र सारको अर्थ नयाँ हुने भएकोले ल्होसारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्छन् । तमु धि कोलोराडोले आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागी कोलोराडोमा विधिवत् रूपमा संस्था दर्ता गरी हरेक वर्ष यसै समयमा ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ ।

तमु धि कोलोराडोले सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ कोलोराडोमा ल्होसार पर्व मनाउँदै आएको हो । गुरुङ जातिले विभिन्न १२ ओटा जीव जन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होसार मनाउने गरेको तमु धि कोलोराडोका महासचिव भुवन गुरुङले जानकारी दिनुभयो । ल्होसार पर्वले, गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न, र प्रवर्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि बर्षेनी तमु ल्होसार मनाउँदै आएको महासचिव गुरुङले बताउनुभयो ।

प्रतिक्रिया