अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 01:52

कोलोराडोमा ११० औं लक्ष्मी जयन्ती सम्पन्न

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ कार्तिक २५ गते ११:४९ मा प्रकाशित

भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाँच्न आफ्नो देश चाहिन्छ भन्ने नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरद्वारा आयोजित ११० औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती कार्यक्रम हिजो शनिवार एक समारोह बिच कोलोराडोको नर्थग्लेन शहरमा सम्पन्न गरेको छ । 

प्रमुख अतिथि डा. शिलु घिमिरे न्यौपानेबाट महाकवि लक्ष्मी प्रसाद देवकोटाको फोटोमा मल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रममा साहित्यकार रत्नकाजी तुलाधर, साहित्यकार ज्ञानेन्द्र गदाल लगायतका वक्ताहरूले महाकवि देवकोटाले नेपाली साहित्य क्षेत्रमा दिएका योगदानको बारेमा चर्चा गरेका थिए । उपस्थित कवि, कबियत्री, गीतकार, साहित्य अनुरागीहरूले देवकोटाको तस्बिरमा पुष्प गुच्छा अर्पण गरेका थिए भने गायिका उषाकिरण अधिकारीले देवकोटाद्वारा रचित गीत “ईश्वर तैँले रचेर त्यसै कसरी बिगारिस्” र अर्का गायक मनोजकाजी तुलाधरले “कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो” भन्ने गीत गाई देवकोटा प्रति श्रद्धा सुमन अर्पण गरेका थिए । 

उक्त लक्ष्मी जयन्ती कार्यक्रमको अवसरमा प्राध्यापक तथा साहित्यकार डा. शिलु घिमिरे न्यौपानेलाई च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, महासचिव श्याम श्रेष्ठ र साहित्यकार ज्ञानेन्द्र गदालले फुलको माला लगाइ सम्मान गरेका थिए । रत्न राज्य क्याम्पसबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर पछि अध्ययनको सिलसिलामा प्रवास लागेकी उनले साहित्यमा (पीएचडी) विद्यावारिधि गरिसकेकी छिन् । साहित्यकार डा न्यौपानेको मन्थन, परदेशको पीआरको पिर जस्ता आधा दर्जन भन्दा बढी सृजनाहरू सार्वजनिक भैसकेका छन् । साहित्यकार डा न्यौपानेले नेपाली भाषा तथा साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको बारेमा साहित्यकार गदालले प्रकाश पारेका थिए । 

कार्यक्रममा सम्मानित डा. न्यौपानेले आफूलाई सम्मान गर्ने संस्थालगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै, उनका साहित्य यात्राका अनुभवहरू प्रस्तुत गरेकी थिइन् । अनेसास कोलोराडो च्याप्टर महासचिव श्याम श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने, सल्लाहकार कुमारजंग कार्कीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा ज्ञानेन्द्र गदाल, कृष्णमुरारी ढुङ्गेल, कुमारजंग कार्की लगायतका कवि कवयत्रीहरुले रचना प्रस्तुत गरेका थिए । 

कार्यक्रमको अन्तमा सङ्खुवासभा समाजकी अध्यक्ष श्रीमती शान्ति श्रेष्ठद्वारा सौजन्य सेल रोटी, अक्षर, तरकारी प्रसादका रूपमा खाई कार्यक्रम समापन गरिएको थियो ।

फोटो: सुदर्शन अधिकारी

प्रतिक्रिया