अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

कोलोराडोमा भगवान् बुद्धको २६४३ औँ जन्म जयन्ती शान्ति पदयात्रा सम्पन्न (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७६ जेठ ४ गते १८:१९ मा प्रकाशित

बौद्ध समाज कोलोराडो लगायत कोलोराडोका सम्पूर्ण संस्थाहरूको संयुक्त तत्वाबधानमा शान्तिका अग्रदूत भगवान् बुद्धको २६४३ औँ जन्म जयन्तीको स्मरण गर्दै कोलोराडोको डेनभर, डाउनटाउनमा आज मे १८ शनिवार धार्मिक पुजाआजा सहित शान्ति पदयात्राको आयोजना गरियो । 

डेनभर डाउनटाउनको सिभिक सेन्टर पार्कमा बौद्ध गुरु लोपन रिम्पोछेको प्रमुख आतिथ्यमा सञ्चालन भएको विशेष धार्मिक कार्यक्रममा लामा बौद्ध समाजका लामा ज्ञान दोर्जे  र वसन्त गुरुङले बौद्ध मन्त्रोच्चारण सहित बुद्ध पूजा गर्नुभएको थियो । स्वागत मन्तव्य तमु धी कोलोराडो अध्यक्ष चन्द्रमान गुरुङले दिनु भएको थियो भने बौद्ध समाज कोलोराडो महासचिव सञ्जय शाक्यले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । 

शान्तिका अग्रदूतको योगदान र नेपालीको पहिचानको रूपमा स्थापित बुद्धको जन्म जयन्ती सबैले चाख लिनु पर्ने कुरा कार्यक्रम सञ्चालक तथा साहित्यकार ज्ञानेन्द्र गदालले बताउनु भयो । उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरूमा रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष विनोद त्रिपाठी, हिन्दु सनातन मन्दिरकी प्रमुख सञ्चालिका रेणु श्रेष्ठ हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपाली घरका अध्यक्ष लछुमन राना लगायत विभिन्न सङ्घ संस्था र समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो । भगवान् बुद्धको चित्र सहितको ब्यानर र झन्डा हातमा लिएर सुरेन्द्र महर्जनको नेतृत्वमा धिमे बाजा सहित नगर (डेनभर डाउनटाउन) परिक्रमा गरिएको शान्ति पदयात्रा पुन: सिभिक सेन्टरमा आएर प्रसाद वितरण सहित समापन भएको थियो । 

कार्यक्रमको अध्यक्षता बौद्ध समाजका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष सोनाम शेर्पाले गर्नु भएको थियो भने प्रमुख अतिथि बौद्ध गुरु लोपन रिम्पोछेले बौद्ध दर्शन तथा बौद्ध धर्म उत्पत्तिको बारेमा प्रस्ट पार्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू