अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 18:55

अमेरिकामा प्रहरीद्वारा गोली हानि हत्या गरिएका वीरेन्द्र ठकुरी सम्बन्धी प्रहरीको रिपोर्ट, के भन्छ प्रहरी . . . .

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ पुष २१ गते ९:४३ मा प्रकाशित

कोलोराडो । गत अगस्त महिनामा नेपाली युवा वीरेन्द्र ठकुरीलाई वेष्टमिनिस्टर प्रहरीद्वारा गोली हानी हत्या गरिएको थियो । उक्त हत्या सम्बन्धी प्रहरीले निकालेको रिपोर्ट अनुसार, वीरेन्द्र ठकुरीलाई गोली हान्ने प्रहरी अधिकारीलाई अपराध गरेको अभियोगमा मुद्दा नलगाइने भएको छ । वेस्टमिनिस्टर प्रहरी अधिकारी स्टेभेन बेयरले करिब ५ महिना अघि वीरेन्द्रलाई छातीमा गोली हानेका थिए । उक्त गोलीबाट वीरेन्द्रको मृत्यु भएको थियो । उक्त घटना छानबिन गरिनु पर्ने र गोली हान्ने प्रहरी अधिकारी बेयरमाथि अपराध गरेको अभियोगमा मुद्दा लगाइनु पर्ने कोलोराडो स्थित नेपाली समुदायको माग थियो ।

नेपाली समुदायको माग सम्बोधन गर्न द सेभेन्टिन्थ जुडिसियल डिस्ट्रिक क्रिटिकल इन्सिडेन्ट इन्भेस्टिगेसन टिम (सिआइआइटी) ले उक्त गोलीकाण्डमाथि अनुसन्धान गरेको थियो । बिहीबार सार्वजनिक अनुसन्धानले गोली चलाउने प्रहरी अधिकारीले अपराध गरेको नठहरेको निष्कर्ष निकालेको छ ।

‘वीरेन्द्र ठकुरीको गतिविधिले नै अफिसर बेयरले गोली चलाउनुको कारण हो,’डिस्ट्रिक अटर्नी डेभ योङ हस्ताक्षरित प्रतिवेदनमा उल्लेख छ, ‘अफिसर बेयरले अपराध गरेको प्रमाणित हुँदैन र उनलाई अपराध गरेको अभियोगमा मुद्दा लगाउने प्रमाण छैन।’

अनुसन्धान गोली हान्ने प्रहरी अधिकारीलाई अपराध गरे/नगरेको र उनलाई अपराध गरेको अभियोगमा मुद्दा लगाउने/नलगाउने विषयमा मात्र केन्द्रित रहेको अनुसन्धानमा उल्लेख छ ।

बेयरले वीरेन्द्रलाई गत अगस्ट २५ साँझ ८ः५० मा गोली हानेका थिए । गोली उनको छातीमा लागेको थियो । सरल र मिजासिला स्वभावका वीरेन्द्र नेपाली समुदायमाझ प्रिय थिए । अप्ठ्यारोमा परेका नेपालीलाई जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न अघि सर्ने वीरेन्द्रलाई नेपाली समुदायले समाजसेवीका रूपमा चिन्थे । प्रहरीको गोलीबाट उनको मृत्यु भएपछि नेपाली समुदाय आक्रोशित बनेका थिए ।

अनुसन्धानमा संलग्न सिआइआइटीको नेतृत्व थर्टन पुलिस डिडेक्टिभ ब्राड बार्कलीले गरेका थिए । अनुसन्धानमा आडम्स काउन्टी शेरिफ डिडेक्टिभ म्याथ्य’ पेटर्सन, विज्ञ, विभिन्न प्रहरी एजेन्सीका अधिकारी र डिस्ट्रिक अटर्नी कार्यालयका अधिकारी सहभागी थिए ।

वेष्टमिनिस्टर प्रहरीद्वारा जारी गरिएको ११ पेज रिपोर्ट

 

वीरेन्द्र ठकुरी सम्बन्धी बिआरटि नेपालद्वारा प्रकाशित अन्य समाचारहरू

कोलोराडो प्रहरीद्वारा गोली प्रहार, एक नेपाली युवक वीरेन्द्र ठकुरीको मृत्यु

कोलोराडो प्रहरीद्वारा गोली प्रहार गरी हत्या गरिएका युवा वीरेन्द्र ठकुरीको अन्तिम दाहसंस्कार शनिबार

वीरेन्द्र ठकुरीको अन्त्येष्टि सम्पन्न, दीप प्रज्वलन कार्यक्रम सांझ

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय