अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 21:04

नेपाली चलचित्र हैरानको दोस्रो गीत सार्वजनिक

प्रदिप कार्की, काठमाडौँ २०७५ वैशाख १६ गते १०:१९ मा प्रकाशित

शीर्ष गीत र टिजर सार्वजनिक गरिसकेको फिल्म ’हैरान’ युनिटले दोस्रो गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा फिल्मका कलाकारहरू गजित विष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ, सगर लम्साल र पुष्कर रेग्मी फिचर्ड छन् । सार्वजनिक “हिरो” गीतमा सङ्गीत र स्वर राजन इशानको रहेको छ । गीतलाई गम्भीर विष्टले लेखेका हुन् ।

फिल्मको कथा पनि उनकै भएकोले परिस्थिति अनुसारको गीत लेखेको उनले बताए । गीतमा कोरियोग्राफी पनि उनकै छ भने उनले पहिलो पटक गीत लेखेका हुन् । उनका अनुसार गीतमा आफूलाई हिरो मान्ने पात्रको मनोभावलाई देखाइएको छ । जेठ ४ मा रिलिज हुने फिल्म ‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् । 

डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लिएर आएका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बिचको प्रेमलाई देखाइएको थियो भने यस पटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर बाइ एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट, द्वन्दमा चन्द्र पन्त, सङ्गीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा निरज कडेलको छायाङ्कन रहेको छ भने उनलाई नवराज उप्रेतीले एसिस्ट गरेका छन् । साथै यसमा अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ । 

गजित विष्ट: गीतलाई हामीले रमाइलो बनाउने कोसिस गरेका छौ । फिल्ममा कमेडी र एक्सनको मिश्रण छ । फिल्ममा प्रस्तुत पात्रहरूको हैरानले दर्शकलाई मनोरञ्जन दिनेछ भन्नेमा हामी विश्वस्त छौ । फिल्मले दर्शकले मनोरञ्जनको लागि खर्चिनु भएको समय र पैसाको सदुपयोग नै गर्छ ।

गम्भीर विष्ट: फिल्मनै आफैले लेखेको हुनाले पहिलो पटक गीत लेखेको छु । गीत रमाइलो छ भने यसमा देखिने पात्र झनै रमाइलो छन् । हामीले पात्रको जीवन र त्यसमा आइपर्ने सङ्घर्षलाई रमाइलो शैलीमा प्रस्तुत गरेका छौ । तिनले पाउने हैरानले हलमा पुगेका दर्शकलाई हसाउछ ।

सम्बन्धित सामग्रीहरू