अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

नेपाली चलचित्र ’सुश्री सम्पत्ति’ मङ्सिर २८ मा रिलिज हुने

प्रदिप कार्की, काठमाडौँ २०७५ साउन २७ गते ९:३३ मा प्रकाशित

नेपाली चलचित्र ’सुश्री सम्पत्ति’ मङ्सिर २८ मा रिलिज हुने भएको छ । भाद्र २२ मा रिलिज गर्ने सोच अनुसार पोस्ट प्रोडक्सनको कामलाई अगाडी बढाएता पनि केही प्राविधिक कारणले गर्दा फिल्मले रिलिज डेटलाई अगाडी सारेको छ । केही समय अगाडी मात्र ’हुकुम’ बोलको गीत सार्वजनिक गरेको निर्माण टिमले रिलिज डेट केही दिनमा घोषणा गर्ने बताएको थियो । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली र विनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । अभिमन्यु निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्युकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

सुव्रत आचार्य: फिल्म ’सुश्री सम्पत्ति’ मेरो निर्देशनमा तयार भएको दोस्रो फिल्म हो । डेब्यु फिल्म ’अधकट्टी’ बाट मैले सिकेको अनुभवलाई पनि यसमा प्रयोग गरेको छु । फिल्म बन्न सबैको मेहनत उत्तिकै हुन्छ , यसैले गर्दा पनि एउटा फिल्मको सफलतासँग धेरै जोडिएका हुन्छन् । हामीले भाद्र २२ लाई वितरकहरूसँग कै सल्लाह अनुसार नै रिलिज मिति तय गरेका थियौ । तर केही प्राविधिक काम पनि पुरा नभएको र वितरकसँगकै आपसी छलफलका कारण हामीले नयाँ रिलिज डेट मङ्सिर २८ लाई तय गरेका छौ । हामीले यो समयमा फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम राम्रोसँग सकाउँछौ भने पब्लिसिटीमा पनि राम्रोसँग ध्यान दिन पाउँछौ । यही कारणले गर्दा हामीले ’सुश्री सम्पत्ति’ को रिलिज डेट मङ्सिर २८ लाई तय गरेका हौ ।