अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५१ | Colorodo: 13:06

मचपु कथा वाचन शृङ्खलाको सातौँ शृङ्खला सम्पन्न

बिआरटीनेपाल २०८१ वैशाख ७ गते १४:१३ मा प्रकाशित

काठमाडौँ । मचपु कथा वाचन शृङ्खलाको सातौँ शृङ्खला गत चैत ३० गते काठमाडौँको घट्टेकुलोमा सम्पन्न भएको छ । हालसालै दिवङ्गत हुनुभएका वरिष्ठ कथाकार परशु प्रधान प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरेर कार्यक्रम सुरुआत गरियो । दिवङ्गत कथाकारको रूपमा यस पटक रूपनारायण सिंहलाई सम्मान गर्दै उहाँको (लगभग १०० वर्ष अघिको कथा ) इ.सं. १९२७ सालमा प्रकाशित कथा अन्नपूर्णा शीर्षकको कथा संयोजक मन्दिरा मधुश्रीबाट वाचन गरियो ।

२०१० को दशक र २०२० को दशकका कोही पनि कथाकार उपस्थित हुन सक्नुभएन । २०३० को दशकबाट कथाकार योगेन्द्र तिमील्सिनाले “मृत्यु पछिको गन्ध” वाचन गर्नुभएको थियो । २०३३ सालमा मधुपर्कमा प्रकाशित उक्त कथा उहाँको कथा सङ्ग्रह “अनन्त आकाश”मा सङ्ग्रहित छ ।

२०४० को दशकबाट कथाकार मधुबन पौडेलले “नयाँ घर” शीर्षकको कथा वाचन गर्नुभयो । २०४७ को रूपरेखा पत्रिकामा प्रकाशित उक्त कथा उहाँकै २०५० मा प्रकाशित कथा सङ्ग्रह “म र मेरो परिवेशमा” सङ्ग्रहित छ । २०५०को दशकबाट कथाकार बाबा न्यौपानेले दोस्रो प्रहर कथा वाचन गर्नुभयो । उक्त कथा उहाँकै “दोस्रो प्रहर” कथा सङ्ग्रहमा सङ्कलित छ । २०५० कै दशकबाट कथाकार हेमन्ती जोशीले आफ्नो २०६९ मा प्रकाशित सङ्ग्रह “पत्रै पत्र जिन्दगी”बाट “खलासी” शीर्षकको कथा वाचन गर्नुभयो । २०६० को दशकबाट कथाकार गीता रेग्मीले “परिचय” कथा सङ्ग्रहबाट “परिचय” शीर्षकको कथा वाचन गर्नुभयो ।

२०७० को दशकबाट कथाकार सरिता अर्यालले आफ्नो “खुसीको फट्को कथा सङ्ग्रहबाट “खुसीको फट्को” शीर्षकको कथा वाचन गर्नुभयो । २०७० कै दशकको “रहस्य” शीर्षकको अर्को कथा कथाकार याम बास्तोलाले वाचन गर्नुभयो । उक्त कथा २०७८ को अनलाइनमा प्रकाशित भएको थियो ।

कार्यक्रमको अन्तमा कथाकार पुष्कर लोहनी र चन्द्र प्रसाद भट्टराईले कथा वाचन कार्यक्रमको औचित्य र उद्देश्यमा आफ्नो सारगर्भित मन्तव्य दिनुभयो । साहित्यकार शरद प्रधानले रुपनरायण सिंहको कथाकारिताको बारेमा बताउनुभयो । उहाँले रूपनारायण सिंहको कथा नासो भन्दा ९ वर्ष अगाडि १९२७, १ मार्चमा (१९८३ बि.सं) देहरादुनबाट प्रकाशित हुने गोरखा संसारमा नै प्रकाशित भैसकेको थियो । कार्यक्रममा गीता निरौला भण्डारी, दीपक लोहनी, हरिस कल्पित, भोजराज रेग्मी मुखाले, बालचन्द्र मिश्र, शरण प्रधान, ममता मृदुल, रिता गौतम असल श्रोताको रूपमा हुनुहुथ्यो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू