अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 10:46

साहित्यकार डा. उपाध्यायको उपन्यास अतिरिक्त र एल्बम प्रणय सार्वजनिक

प्रदिप कार्की, काठमाडौँ २०७५ असार ८ गते १०:५४ मा प्रकाशित

साहित्यकार डाक्टर डिआर उपाध्यायको उपन्यास अतिरिक्त र एल्बम प्रणय सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सूचना तथा सञ्चारमन्त्रिको प्रमुख्य आतिथ्यतामा दुई कृति सार्वजनिक भएका छन् । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वरिष्ठ गायक प्रेमध्वज प्रधान , प्राध्यापक दीपक जंगम , गीतकार दिनेश अधिकारी , सङ्गीतकार बुलु मुकारुङ , कानुनविद् तथा गीतकार डाक्टर भीमार्जुन आचार्य , सांसदहरू रामेश्वर राय यादव , सरिता गिरि , इन्दु शर्मा लगायतको उपस्थिति रहेको थियो । साथै डिआरका गुरु चण्डी काफ्लेले संयुक्त रूपमा एल्बम बिमोचन गरेका थिए । पानसमा दीप प्रज्वलन गर्दै सुरु गरिएको कार्यक्रममा एल्बमका एकल सङ्गीतकार सागर अधिकारी ’शरद’को पनि उपस्थिति रहेको थिए । एल्बममा ६ गीत संग्रहित छन् , जसमा स्वयम् सङ्गीतकार सागरसँगै सत्यराज आचार्य , स्वरूपराज आचार्य , प्रमोद खरेल , राम चन्द्र काफ्ले , मेलिना राई , मिलन अमात्य , सुरेश लामाको स्वर रहेको छ ।

एल्बममा कसले भन्छ, तिमि बिना, आऊ नआउ, आफ्नै छायाले, हाम्रो मधुर मिलन र चौबन्दी चोली लगायतका गीत संग्रहित छन् । डिआरले अतिरिक्त उपन्यास अगाडी नै अपवित्र छाया, विटुली, भाग्यचक्र, स्वार्थी, त्यागी र बज्रघातलाई प्रकाशित गरिसकेका छन् । राजधानीमा आयोजित कार्यक्रमलाई सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेका थिए, जहाँ एल्बममा समावेश गीतको भिडियो समेत देखाइएको थियो । एल्बममा समावेश पहिलो नम्बरको गीत कसले भन्छको भिडियो तयार गरिएको छ जसलाई प्रशन्न पौडेलले निर्देशन गरेका छन् भने यसमा स्वयम् गीतकार डिआर देखिएका छन् । उनलाई अनु शाहले मोडलिङमा साथ दिएकी छिन । गीतलाई बिदुर पाण्डेले खिचेका हुन् भने यसलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

डिआर उपाध्याय: लेखनमा अगाडी बढ्ने प्रयास हो मेरो । सानै देखिको रहरलाई अगाडी बढाउँदै आफूलाई यसमा योग्य बनाउँदै अगाडी लग्दै छु । यसमा मैले सबै किसिमका गीतलाई समेट्ने प्रयास गरेको छु । मेरो शब्दले सबै किसिमका भावनालाई समेट्छ भन्नेमा विश्वस्त छु । पुस्तक लेखन त अगाडी पनि थियो तर गीत लेखन भने पहिलो हो । यसका लागि मलाइ गुरु चण्डीले सुझाउनु भएको छ । साथै पुस्तक अतिरिक्त पनि बजारमा ल्याएको छु, अघिल्ला झैँ यसले माया पाउँछ भन्नेमा विश्वत छु ।

गोकुल बास्कोटा, संचारमन्त्री: उहाँको गीत सुने । सबै किसिमका भाव समेटिएका छन्, पुस्तक भने पढ्न पाएको छु । मैले श्रोताको रूपमा सुन्दा गीत राम्रो छ, सङ्गीतको हिसाबले यहाँ अग्रज हुनुहुन्छ उहाहरुको सुझाव हुन्छ डिआरजीलाइ । जसरी उहाँले लेखनलाई अगाडी बढाई रहनु भएको छ , यसको निरन्तरताको कामना गर्दछु । मलाइ सङ्गीतका अग्रज व्यक्तित्वहरू अगाडी यसरी सङ्गीतकै विषयमा बोल्न निम्त्याउनु भयो, केही असहज पनि लागि रहेको छ भने धन्यवाद पनि दिन चाहन्छु ।

प्रेमध्वज प्रधान, गायक: रचित भाव र त्यसको सङ्गीत संयोजन र त्यसमा भरिएका स्वरमा मिठास छन् । डिआरजीको लेखन यात्राको निरन्तरताको कामना गर्दछु र यो निरन्तर हुनु पनि पर्छ । किनकि पछिल्लो समय गीतसंगीतमा आउनेको कमी छैन, तर यसलाई निरन्तरता दिनेको कमी छ । डिआरजीले प्रतिभावान गायकलाई आफ्नो रचनाको लागि रोज्नु भएको छ, गीत राम्रो छन् ।