अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 13:00

वरिष्ठ साहित्यकार परशु प्रधानको योगदानको चर्चा

बिआरटीनेपाल २०८० चैत १७ गते ७:२३ मा प्रकाशित

नेपाली भाषासाहित्य र राष्ट्रसेवामा वरिष्ठ साहित्यकार परशु प्रधानको योगदान अतुलनीय रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । विराट साहित्य संगमको संयोजनमा शनिबार डेढ दर्जनभन्दा बढी संघसंस्थाले संयुक्त रूपमा विराटनगरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरूले परशु प्रधानको जति नै चर्चा गरे पनि कमी हुने बताएका हुन् ।

कार्यक्रममा अग्रज साहित्यकार एवं पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले परशु प्रधानले नेपाली भाषासाहित्यमा अतुलनीय योगदान पुर्‍याएको चर्चा गनुृभयो । प्रधानले साहित्यका माध्यमबाट शासकको चरित्र, सुशासन, समाज सुधार र लैंगिक समानतालगायत विषय फरक ढंगबाट प्रस्तुत गरेको उहाँले उल्लेख गर्नुभयो । प्रधानले वाणी प्रकाशन स्थापना गरेर विराटनगरलाई साहित्यिक केन्द्र बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।

नागरिक समाजका अगुवा दिनेश श्रेष्ठले एकतन्त्रीय पञ्चायत शासनकालमा पनि प्रधानले आफ्ना लेखनमार्फत पञ्चायत शासनमा हुने भ्रष्टाचार, नेता र कर्मचारीका प्रवृत्तिलगायत विषयलाई सशक्त रूपमा उठाउनु सामान्य कार्य नभएको टिप्पणी गर्नुभयो । साहित्यकार देवी पन्थीले प्रधानले वाणी प्रकाशन स्थापना गरेर धेरैलाई साहित्यकार बनाएको स्मरण गर्नुभयो । आफूलाई राष्ट्रियस्तरमै साहित्यकारका रूपमा स्थापित गराउन प्रधानको योगदान महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले वरिष्ठ साहित्यकार प्रधानलाई आफूले ‘गडफादर’का रूपमा लिने गरेको बताउनुभयो । उहाँले आफ्नो साहित्यिक र व्यक्तिगत जीवनमा प्रधानले कहिल्यै तिर्न नसक्ने गुन लगाएको स्मरण गर्नुभयो । सो अवसरमा प्राध्यापक कविराज न्यौपाने, उपभोक्तावादी नेता कृष्णप्रसाद भण्डारी मार्सेली, अग्रज साहित्यकार मधु पोखरेल, रामबाबु दाहाल, समाजसेवी बाबुराम न्यौपानेलगायत व्यक्तिले परशु प्रधान कुशल साहित्यकार, सम्पादक, संगठक भएको बताउनुभयो । उनीहरूले प्रधानका साहित्यिक, प्रशासनिक, पारिवारिक, सामाजिकलगायत फरक–फरक व्यक्तित्वका विषयमा चर्चा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू