अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’ को घोषणा

प्रदिप कार्की, काठमाडौँ २०७५ साउन ३१ गते १५:५० मा प्रकाशित

गएको वर्ष प्रदर्शनमा आएको सुपर हिट फिल्म ’शत्रु गते’ टिमले नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’ को घोषणा गरेका छन् । मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको औपचारिक घोषणा राजधानीमा एक कार्यक्रमको बिच गरिएको हो । यसलाई निर्माता केसीकै पुत्र सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड फिल्म रिमेम्बर मि र माई लभमा सह(निर्देशकको रूपमा काम गरिसकेका छन् । उनले, टिमकै अघिल्लो फिल्म ’शत्रु गते’ मा पनि सहायक निर्देशकको रूपमा काम गरेका थिए ।

यसमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुसाल , राजाराम पौडेल , शिशिर बाङ्ग्देल लगायतका कलाकारहरूको अभिनय रहनेछ । मङ्सिर पहिलो साताबाट फिल्मको छायाङ्कन सुरु हुँदैछ । वर्ष २०७६ को वैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने सङ्घर्षको कथा बोल्ने घोषणा समारोहमा जनाइयो । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् ।

स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बास्कोटाको सङ्गीत रहने फिल्मका गीत हरिवंश आफैँले लेखेका छन् । फिल्ममा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रूपमा देख्न सकिनेछ । विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरूको पनि फिल्ममा अभिनय रहने बताइएको छ । मित्र डी गुरुङको सम्पादन रहने फिल्मलाई दीर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनिया र सुमित मैनाली निर्मातामा रहेका छन् ।

मदन कृष्ण श्रेष्ठ ( फिल्ममा हामीले आम मानिसकै कथा पेस गर्दछौ । यसमा पनि केही भिन्न भूमिकामा मलाइ दर्शकले देख्न पाउनु हुनेछ । फिल्मलाई सरल बनाउन टिम प्रयासरत छौ । हाम्रो टिमले दर्शकलाई राम्रो फिल्म दिने कोसिस गर्नेछौ ।

हरिवंश आचार्य ( पछिल्लो फिल्म ’शत्रु गते’ मार्फत कमगरेपछि हामी फेरी नयाँ फिल्मको तयारीमा जुटेका छौ । फिल्मको क्याप्टेन यस पटक सुदन छन् । उनलाई किरणकै छोरा भएको भन्दा पनि प्रतिभा भएको कारणले क्याप्टेनशिप दिएका हौ । उनले शत्रु गतेमा पनि सहायक निर्देशकको रूपमा काम गरेका थिए भने हलिउड फिल्ममा पनि सघाई सकेका छन् । फिल्ममा हामी दाल भात तरकारी खानको लागि सङ्घर्षको कथालाई देखाउने कोसिस गरेदेछौ । फिल्म पूर्णतया मनोरन्जनात्मक हुनेछ । फिल्मलाई हामी नयाँ वर्षको वैशाखमा दर्शक समक्ष ल्याउनेछौ । 

सुदन केसी ( अवसर र चुनौती दुवै हो मेरो लागि दाल भात तरकारी । फिल्ममा यसकै लागि गरिने सङ्घर्ष देखाउनेछौ । यस ब्यानरबाट निर्माण भएका फिल्म सफल मात्र छैनन् , दर्शकको प्रिय पनि छन् । यसैले केही जिम्मेवारी पनि बढेको भान भएको छ । मह सञ्चार साख बढाउने फिल्म बनाउने प्रयास गर्नेछु ।